दलितसँग प्रेम गरेको थाहा पाएपछि १५ वर्षीया छोरीको हत्या, छुट्टाछुट्टै भेटियो टाउको र शरीर

दलितसँग प्रेम गरेको थाहा पाएपछि १५ वर्षीया छोरीको हत्या, छुट्टाछुट्टै भेटियो टाउको र शरीर

काठमाडौं : दलितसँग प्रेम गरेको थाहा पाएपछि आफ्नै छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

बाराको फेटा गाउँपालिका-१ का हरिन्द्र महतोलाई  प्रहरीले १५ वर्षीया छोरी कोशिला कुमारीको हत्या आरोपमा पक्राउ गरेको हो।

मृतक बालिका स्थानीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै थिइन्। प्रहरीका अनुसार मृतक बालिकाको स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेको कारणले उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले उकेरासँग भने, ‘घटनाको प्रारम्भिक वस्तुस्थिति हेर्दा मृतक बालिका एक युवकसँग प्रेममा रहेको र ती युवक दलित भएको कारण हत्या भएको देखिन्छ।’

मृतक बालिकाले प्रेम गरेका युवा कृष्ण बैठा दलित समुदायको रहेको र उसँग कुनै सम्बन्ध नराख्न परिवारले पटक-पटक कौशिलालाई दबाव दिँदै आएको थियो।

गाउँमा बैठासँगको सम्बन्धको बारेमा हल्ला चलेपछि छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामाघर समेत पठाइएको थियो। तर, छोरीले बैठासँगको सम्बन्धलाई कायम राखेपछि बाध्य भएर हत्या गर्नुपरेको हरिन्द्रले स्वीकारेको प्रवक्ता दधिराम न्यौपानेले बताए।

प्रवक्ता न्यौपानेका अनुसार महतोले दुई सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगी हत्या गरेको र शवलाई खोला किनारमा फालेका स्वीकारेका छन्।

घटना पर्सामा भएकाले प्रारम्भिक अनुसन्धानपछि बारा प्रहरीले थप कारबाहीका लागि पक्राउ परेका महतोलाई पर्सा प्रहरीको जिम्मा लगाएको छ। यता, जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकारीले घटनामा संलग्न दुई जना फरार रहेकाले खोजी भइरहेको बताए।

उनका अनुसार महतोले गत साउन ११ गते मामाघर बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा हत्या गरेर शव फालेका थिए।

शरीर र टाउको छुट्टा-छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव गत साउन १३ गते प्रहरीले फेला पारेको थियो। सोही कार्यमा संलग्न दुई जनालाई प्रहरीले खोजिरहेको बारा प्रहरीले जानकारी दिएको छ।

शवको पहिचान करिब २० दिनअघि मात्रै भएको बारा प्रहरीले जनाएको छ।

साउन १३ मा प्रहरीले शव फेला पारे पनि त्यसको पहिचान भने हुन सकेको थिएन। शवको बारेमा कुनै जानकारी नपाएपछि यो घटनालाई तत्काल थाँती राखिएको थियो।

तर, करिब साढे ५ महिनादेखि कोशिला बेपत्ता रहेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा महतोले छोरीको हत्या गरेको स्वीकारेका थिए।

कोशिलाको शव पहिचान भएपछि हरिन्द्र महतोलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरू गरिएको र विस्तृत जानकारी आउन बाँकी रहेको पर्सा प्रहरीका ती अधिकारीले बताए।

प्रहरीका अनुसार गाउँलेहरूबाट महतोले आफ्नै छोरीलाई बेपत्ता बनाएको जानकारी आएपछि त्यसको अनुसन्धान गर्दा छोरीको हत्यामा बुवाको संलग्नता रहेको खुलेको बताए।

चार महिनादेखि कोशिला बेपत्ता भएकाे खबर पाएपछि गत पुस २० गतेबाट बारा प्रहरीले गाउँ र परिवारका २० जना भन्दा बढीसँग सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा परिवारले नै किशोरीलाई बेपत्ता बनाएको खुलेको थियो।

माघ १०, २०८० बुधबार १४:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।