फेसन डिजाइनर सिरोसाको प्रसव पीडा र खुसी : पहिलो सन्तान जन्मिएको १३ महिनामै गर्भ बस्यो, उमेर अन्तर नहुँदा तनावले गर्भपतनसम्म सोचियो

फेसन डिजाइनर सिरोसाको प्रसव पीडा र खुसी : पहिलो सन्तान जन्मिएको १३ महिनामै गर्भ बस्यो, उमेर अन्तर नहुँदा तनावले गर्भपतनसम्म सोचियो

मिसेस् नोबेल नेपाल-२०२४ विजेता सिरोसा सापकोटा पेसाले फेसन डिजाइनर हुन्। काठमाडौँको चाबहिलमा उनले दश वर्षदेखि आफ्नै बुटिक सञ्चालन गरिरहेकी छिन्। फेसनप्रति ग्राहकको आकर्षण बढिरहेको बेला मन्दी लाग्दा भने उनी चिन्तित छिन्। प्राय नियमित ग्राहक भएकाले उनको बुटिकमा आठ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन्। काभ्रेमा जन्मिएकी उनी एसएलसी सक्केपछि उच्च शिक्षाको लागि काठमाडौँ आइन्। अनि यतै पढ्दापढ्दै मागी विवाह भयो। बिहे लगत्तै पहिलो सन्तानको रूपमा छोरा भयो। अनि त्यसको अर्को १३ महिनामै फेरी छोरी पनि भयो।

आफूलाई व्यावसायिक रूपमा अगाडि बढाएकी उनले सन्तानमा उमेर अन्तर नराखेकोमा भने अलि नमीठो लागेको रहेछ उनलाई। परिवारकै सदस्यबाट सन्तानबीच उमेर अन्तर नराखेको भन्ने सुनेपछि दोस्रो बच्चा त्याग्ने कि ! भन्ने सम्म सोचेकी रहिछन्। तर, आमाको मन मानेन। जे  त होला होला भनेर अघि बढिन्। अहिले दुवै सन्तान सँगसँगै हुर्किँदै छन्। उनले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो प्रसव अनुभव यसरी साटिन् :

000

सानैदेखि म एकदम पारिवारिक स्वभावको छु। त्यही भएर २४ वर्षमा मेरो मागी विवाह भयो। आमाबाबुले हेरिदिनु भएको केटासँग विवाह गर्न नाइँ भनिन। अहिले पनि आफ्नो निर्णयमा खुसी छु।

म त्यसबेला स्नातक पढ्दै थिएँ। बिहे भएपछि बच्चाको एक किसिमको रहर भनौँ या दबाब हुने नै रहेछ। विवाह भएको अर्को वर्ष नै पहिलो सन्तानको रूपमा बाबु भयो। बाबु भएपछि पढाई ब्रेक भयो।

म गर्भवती भएको खबर पाएपछि सबैजना खुसी हुनुभयो। मैले त्यसबेला शारीरिक संरचनाहरूमा व्यापक परिवर्तन पाएँ। मुड पनि एकदम बदलिरहन्थ्यो मेरो त! स-सानो कुरामा पनि चित्त दुख्थ्यो। सुरुको तीन महिना एकदम गाह्रो भयो। बान्ता हुने, खानाहरू खान मन नलाग्ने। एकदम गन्हाउने। कमजोर अनुभव भयो।

सात-आठ महिना हुँदा हात गोडा सुन्निन थाल्यो। गर्भवती भए पनि काममा आफूलाई सक्रिय नै राखेँ। बिहे लगत्तै बुटिक पनि खोलेको कारण पढाइमा ब्रेक लाग्यो। काममा भने ब्रेक लागेन।

घरमा धेरै बसिन म। भोलिपल्ट हस्पिटलमा भर्ना हुन पर्ने, अघिल्लो दिनसम्म म काममै थिएँ। एक त वातावरण पनि त्यस्तै भयो होला। यसमा श्रीमानले पनि एकदम सपोर्ट गर्नुभयो। त्यै भएर त्यसबेला पनि मज्जाले सक्रिय हुन सकेँ।

गर्भवती समयमा मलाई कहिले खान नपाएको जस्तो महसुस हुन्थ्यो। काम गर्दै गरेको भएर के खाने, के नखाने भन्ने नभए पनि जे पनि खाऊँ-खाऊँ लाग्थ्यो।

नानी र बाबुमा जम्मा १३ महिनाको मात्र उमेर अन्तर छ। त्यो बेला मिस्टेक्ली भयो जस्तो लाग्थ्यो। तर, अहिले ठिक भएछ जस्तो लाग्छ। एकै पटक दुवै हुर्किए। अनि बिस्तारै आफू पनि फ्री भएको महसुस भयो।

म पहिला देखिनै एकदम पातलो थिएँ। त्यै भएर मलाई अलि मोटो मान्छे मन पर्ने। जति गर्दा पनि मोटाएको थिइन। गर्भवतीको बेलामा दस किलो मोटाउँदा त एकदम खुसी भएँ। डेलिभरीको टाइम भइसक्दा पनि मलाई व्यथा लागेकै थिएन। अनि हामी हस्पिटल गयौँ। बच्चा पनि उल्टो रहेछ। ठुलो पनि रहेछ। त्यै भएर तत्काल अप्रेशन गर्नुपर्यो।

नानी पाउँदा पनि मलाई त्यस्तै भयो। व्यथा नै लागेन। अनि पहिलो अप्रेशन गरेर पाएपछि अर्को पनि अप्रेशन नै हुने रहेछ।

हस्पिटलमा आमाजू हुनुभएको कारण मलाई सहज पनि भयो। एनेस्थेसियाको सुइँ लगाइसकेपछि पनि मैले पेट काटेको, सिलाएको, बच्चा रोएको सबै थाहा पाइरहेको थिएँ। त्यो अर्कै खालको अनुभूति हो। बाबु भएर बसेको कारण उसलाई तीन दिनसम्म अलग्गै राखियो। तीन दिनसम्म बच्चालाई काखमा लिन नपाउँदा अर्कै खालको छटपटी भएको थियो।

उसलाई बाहिरबाटै हेर्नपर्थ्यो। सिसाभित्र तारैतारको बिचमा उसलाई राखिएको थियो। तीन दिनको छटपटीपछि उसलाई समाउन पाउँदा ओहो, आमाको ममता भनेको यस्तो हुने रहेछ भन्ने लाग्यो। त्यै बेला स्तनपान पनि गराएँ। त्यसबेला त बाबुले एकदम भोको बच्चाले बल्ल खान पाएको जस्तै गरेर दूध खाएको थियो। अहिले सम्झिँदा पनि म त्यो अनुभूति गर्न सक्छु। तीन दिनपछि समाउन पाएर होला, त्यो आत्मीयता नै नर्मल थिएन। त्यो बेला मलाई के भएको थियो भनेर भन्न म सँग शब्दै छैन। 

बाबुलाई पहिलो पटक देख्दा त अनुहार ठ्याक्कै उसको बाबाको जस्तै लाग्यो। चार केजीको भएर होला उ त ठुलो बच्चा जस्तो लग्यो। मज्जाले समात्न मिल्ने ठुलो ज्यान थियो। अनुहार उसको बाबाको जस्तै थियो। रङ्ग चैँ मेरो जस्तै थियो। अप्रेसन गरेको भएर पाँच दिनसम्म हस्पिटल बस्यौँ। एनेस्थेसियाको असर कम हुँदै गए पछि त घाउ बेस्कन दुख्न थाल्थ्यो।

मैले फेरी त्यति धेरै आराम पनि गरिन। दुई महिनापछि काममा लागिहालेँ। घरमा आराम गर भन्नुहुन्थ्यो। तर, त्यो बेलामा सकिहाल्छ नि भन्ने लाग्ने रहेछ। दुखाइ कम भएपछि त केही भएको छैन भन्ने पो लाग्ने रहेछ। 

सुत्केरी स्याहार राम्रो भयो। एक महिना घर बसेँ, एक वर्ष माइतीमा आमासँग बसेँ। मसला, घिउ मज्जाले खाएँ। घिउ त मलाई असाध्यै मन पर्ने। अहिले पनि रेगुलर जस्तो खान्छु।

आमासँग बसेर खान पाउँदा त झन् अलग्गै खालको स्याहार भयो। आमाले पनि झन् धेरै खाइदिए हुन्थ्यो, मोटाइदिए हुन्थ्यो भन्ने जस्तो गरेर खुवाउनु हुन्थ्यो। तर १३ महिनामा फेरी हुने बच्चा हुने थाहा पाउँदा खुसी भन्दा दुखी धेरै थिएँ। व्यवसाय गरिरहेको मान्छे, लाज पनि भयो। परिवार योजना नै छैन भन्छन्, होला भन्ने लाग्यो। म १३ महिनामै दोस्रो पटक गर्भवती भएको परिवार बाहेक कसैलाई पनि थाहा हुन दिएनौ।

अलि कति मोटो देखिएको थिए। सबले सुत्केरीले गर्दा पेट देखिएको होला भन्ने लागेछ। सलहरू लगाइरहने।

नानीको पालोमा आफूलाई त्यति धेरै ध्यान पनि दिइन। आफूलाई के भइरहेको छ भन्ने देखाउन पनि लाज लाग्यो। एकदम लापरबाही गरेर जन्माएको जस्तो भयो। माया त छदै छ, तर अरूले के भन्ला भन्नेमा मेरो बढी ध्यान भयो। कसै कसैले त सिधै भन्नु पनि भयो। त्यसबेला मन दुख्यो।

एक पटक त यो बच्चा नराख्ने भन्ने पनि भएको थियो। तर, मनले सक्दैन रहेछ। एउटा बाबुदेखि रहेको, यस्तै अर्को होला भन्ने लाग्यो। बरु जे हुन्छ गर्दै जाऊ भन्ने लाग्यो। अहिले त म एकदम खुसी छु। सायद भगवानले नै त्यही होस् भन्नुभएको होला जस्तो लाग्छ। अहिले उनीहरू सँगै हुर्किएपछि मैले आफ्नो अरू काममा ध्यान दिन पाएँ। त्यो बेला अन्तर राखेको भए अहिले फेरी बच्चा हेरेरै बसिरहेको हुन्थे होला।

नानी पनि साढे तीन किलोको जन्मिई। उ झन् एकदम स्वस्थ जन्मिइन्। सात वर्षसम्म त उसलाई हस्पिटल लान नै परेन। उ बिरामी भएको नै थाहा भएन।

बाबु चैँ धेरै बिरामी भइराख्थ्यो। बाबुलाई म घरमै छोडेर नानी लिएर काममा जान्थे। घरमा पनि आफूले गरेको जस्तो अलि नहुने रहेछ। उहाँहरूले नराम्रो गर्नु भएको भन्न खोजेको होइन, त्यै पनि चित्त दुखाइ हुने रहेछ। अरूले जति गरे पनि अझ यस्तो गरिदिएको भए हुने भन्ने जस्तो लाग्ने रहेछ।

दुवैलाई उत्तिकै समय दिनै गाह्रो भयो। नानी पाएपछि त बाबुलाई समय दिनै सकिन। उ घरमा कति बेला मामु बाबा आइसिन्छ भनेर हामीलाई पर्खिरहेको हुन्थ्यो। स्कुल हाल्ने बेलामा पनि मैले घर नजिकै व्यवसाय गर्न थालेँ।

बच्चा बेलामा बाबु अर्कै स्वभावको भयो। कोहीसँग नबोल्ने, टोलाउने। बच्चा जस्तो चकचक गर्ने खालको नै भएन। त्यसबेला मलाई उ सधैँ यस्तो हुन्छ कि भनेर एकदम डर लाग्थ्यो।

त्यो हाम्रो माया र समय नपाएर रहेछ। पछि डेढ वर्ष मज्जाले समय दिएपछि बाबुको स्वभाव त एकदम बदलियो। खुलेर हाँस्न थाल्यो, बोल्न थाल्यो। अहिले बाबु ५ मा पढ्दै छ। नानी ४ मा पढ्दै छे।

त्यो बेलामा नचाहेको भएर हो कि नानी त अस्वाभाविक प्रतिभाशाली छिन्। पेटमा हुँदा राख्ने कि नराख्ने भन्ने कुरा भयो भने बच्चामा त्यसको असर पर्छ भन्ने सुनेको थिएँ। त्यै भएर हो कि ! उ त म भन्दा पनि परिपक्व छिन्।

मलाई हौसला दिन्छिन्, सपोर्ट दिन्छिन्। यसरी नै उनीहरू हुर्कियो भने त मेरो करियरमा पनि उनीहरूले नै सपोर्ट गर्छन् जस्तो लाग्छ। मैले बोल्न पर्ने उसले बोलिरहेको हुन्छ। नौ वर्षको जस्तै लाग्दैन नानी त।

बाबुको आफ्नै स्वभाव छ। दुवै जना सानै छन्। उनीहरूले यस्तो गरोस्, उस्तो गरोस् भन्दा पनि नराम्रो काममा नलागोस् भन्ने मात्र हो। त्यसभन्दा पर सपोर्ट त हामी गरी नै हाल्छौँ।

प्रसव पीडाका यसअघिका सामग्री
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

माघ ७, २०८० आइतबार १७:५३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।