लुम्बिनीमा भारतीय र नेपालीकै भर, २०१९ को तुलनामा घटे ९७ हजार पासपोर्टधारी पर्यटक

लुम्बिनीमा भारतीय र नेपालीकै भर, २०१९ को तुलनामा घटे ९७ हजार पासपोर्टधारी पर्यटक

बुटवल : कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कँदै गएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोनाको प्रभाव सन् २०२२ सम्म देखियो। त्यसपछि भने क्रमशः लुम्बिनीमा पर्यटकको संख्या बढिरहेको छ।

सन् २०२३ मा देश र विदेशका गरी करिब १० लाख बढी पर्यटक लुम्बिनी आएका छन्। लुम्बिनी विकास कोषका अनुसार ३ लाख ४२ हजार ७२० विदेशी र ६ लाख ५६ हजार २१८ गरी नेपाली गरी ९ लाख ९८ हजार ९३८ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

सन् २०२२ मा भने ९ लाख ३ हजार ८८३ जनाले लुम्बिनीको भ्रमण गरेका थिए। यसरी हेर्दा सन् २०२२ को तुलनामा ९ दशमलव ५ प्रतिशत बढीले सन् २०२३ मा लुम्बिनीको भ्रमण गरेका छन्।

लुम्बिनीमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतबाट २ लाख ६६ हजार ५१० जनाले सन् २०२३ मा लुम्बिनीको भ्रमण गरेका छन्। त्यसैगरी तेस्रो मुलकका ७६ हजार २१० पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्।

लुम्बिनी आउने भारतबाहेक तेस्रो मुलुकका नागरिकमध्ये श्रीलंकाका सबैभन्दा बढी १६ हजार १७२ जना छन्। त्यसपछि थाइल्याण्डका १५ हजार ७२१ जना छन्। छिमेकी मुलुक चीनबाट ६ हजार ११३ जनाले लुम्बिनी भ्रमण गरेका छन्।

सन् २०१९ मा १ लाख ७४ हजार १५ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए। यो संख्या सन् २०२३ मा आएका तेस्रो मुलुकका पर्यटकभन्दा ९७ हजार ८ सय ५ ले कम हो। त्यसपछि भने कोरोना र लकडाउनले सबै क्षेत्र प्रभावित बन्यो।

लुम्बिनीमा पनि सन् २०२१ मा जम्मा १ हजार १९७ जना पासपोर्टधारी तेस्रो मुलुकका विदेशी पर्यटक आएका थिए। सन् २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनीमा भ्रमणमा आएका थिए।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले लुम्बिनीमा पर्यटकको आगमनमा वृद्धि भइरहेको बताए। उनका अनुसार आन्तरिक र बाह्य पर्यटकको संख्या बढिरहेकाले अब फेरि पर्यटकीय क्षेत्र पूरानै अवस्थामा चलायमान हुनसक्ने देखिएको छ।

‘लुम्बिनीमा पर्यटकको संख्या बढाउन अझै प्रयास गर्न जरुरी छ,’ उनले भने, ‘तेस्रो मुलुकका पर्यटकलाई सन् २०१९ मा जसरी ल्याउनका लागि हामीले अब योजना बनाएर अगाडि बढ्नुपर्छ।’

नारायणगढ-भैरहवा सडकको कहालीलाग्दो अवस्था र भैरहवा विमानस्थलमा विदेशबाट सिधै उडान नहुँदा पनि अपेक्षाकृत रूपमा पर्यटक लुम्बिनी आउन नसकेको बताए।

लुम्बिनीमा बेलायत, ताइवान, सिंगापुर, रसिया, म्यानमार, मलेसिया, जापान, इटली, इन्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या धेरै हुन्छ।

त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोस्टारिका, क्रोएसिया, साइप्रस, इजिप्ट, इस्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस, उरूग्वे, स्विटजरल्यान्ड, स्विडेन, सुडान, स्लोभेनिया लगायत मुलुकका पर्यटकसमेत आउने गर्छन्।

निजी क्षेत्रमा आशा
भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा विदेश उडान नहुँदा उलेख्य पर्यटक नआएको भन्दै निराश बनेको निजी लुम्बिनीमा बढेको पर्यटकको संख्या देखेर केही आशातित बनेको छ।

विमानस्थल लक्षित ठूला होटलहरू संकटमा परिरहेको अवस्थामा लुम्बिनीमा पर्यटकको आगमनले केही आशा गर्ने ठाउँ पलाएको उनीहरूको भनाइ छ।

होटल संघ लुम्बिनीका सल्लाहकार खिम श्रेष्ठले पछिल्लो समय पर्यटकको संख्यामा केही वृद्धि हुँदा निजी क्षेत्र आशावादी बनेको बताए।

उनले अब सरकारले कुटनितीक पहल गरेर विदेशी मुलुकका प्रभावशाली व्यक्तिको भ्रमण गराएमा अझ लुम्बिनीमा पर्यटकको संख्यामा वृृद्धि हुने बताए।

‘प्रभावशाली व्यक्तिको भ्रमणपछि लुम्बिनी घुम्नका लागि पूर्ण रूपमा तयार छ भन्ने सन्देश जान्छ। यसले बाह्य पर्यटकलाई लुम्बिनी आउन मद्धत मिल्नेछ’, उनले भने।

साथै उनले अब पर्यटक आवागमनसँगै बसाइ अवधि बढाउन पूर्वाधारको विकास र गुणस्तरीय निर्माणमा पनि ध्यान दिनुपर्ने समेत बताए।

लुम्बिनीमा पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटरेस लगायत विश्वका प्रभावशाली व्यक्तिले भ्रमण गरिसकेका छन्।

लुम्बिनी विकास कोषले भने सन् २०२३ मा लक्ष्यअनुसार पर्यटक लुम्बिनी भित्रिएको जनाएको छ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राई (ढुण्डीराज)ले लुम्बिनी विश्वकै बौद्धमार्गीको आस्थाको धरोहर रहेको भन्दै सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा भएको बताए। २०२४ मा यो संख्या अझ बढ्ने उनको विश्वास छ।

दोस्रो पटक खोलियो दानपेटिका
चालु आर्थिक वर्षमा लुम्बिनीमा दोस्रो पटक दानपेटिका खोलिएको छ। मायादेवी मन्दिरमा राखिएका दानपेटिका बाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ। दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाइएको छ।

यसअघि कात्तिकमा खोलिएको चालु आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको थियो।

५ माघ, २०८०, १४:०७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।