पद्मकन्या माविको प्रअ रिताको प्रसव पीडा र खुसी : प्रसवको असह्य पीडा खेपिसकेपछि छोरी मान्छेलाई अरू पीडा खासै ठूलो नलाग्ने रैछ
पद्मकन्या विद्याश्रम माविको इतिहास नेपालको शिक्षा क्षेत्रमै गजबको देखिन्छ। विशेषगरी 'महिला शिक्षा'को लागि सरकारबाटै निर्मित भएको विद्यालयको इतिहास जति लामो छ, यसले उति नै उतारचढाव पनि देखेको छ। यहाँ सम्म आइपुग्दा पद्मकन्याले १२ जना प्रधानाध्यापक पाइसक्यो।
त्यसैमध्ये पछिल्लो दस वर्ष देखि यसको नेतृत्व गरेर बसिरहेकी छिन्, रीता तिवारी। आफ्नो बीस वर्षको शिक्षण पेसामा छिट्टै उनी यहाँको प्रअ बन्न पुगिन्। त्यसले गर्दा सुरुवाती दिनहरूमा उनलाई निकै अप्ठ्यारो पनि भयो। प्रशासनको अनुभव नभएको र आफू भन्दा धेरै सिनियरहरू बीच काम गर्नु पर्दा उनले धेरै चुनौतीको सामना गर्न पर्यो।
सहकर्मीहरूको विश्वास जित्न नै उनलाई निकै समय लाग्यो।
अहिले भने उनले एउटा लय समाती सकिन्। विभिन्न फोरम तथा संघसंस्थामा पनि उनको राम्रो सहभागिता छ। विज्ञान विषयको विद्यार्थी रहेकी उनी इन्जिनियर बन्न चाहन्थिन्। तर, विभिन्न कारणवश शिक्षण पेसामा होमिन पर्यो। पद्मकन्यामा शिक्षकको रुपमा आएको दस वर्ष नपुग्दै उनी प्रअ पनि भइन्।
उनी रीता दुई सन्तानकी आमा पनि हुन्। उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा उनले आफ्ना अनुभव यसरी सुनाइन् :
000
म काठमाडौँकै बासिन्दा हुँ। त्यसैले पढाइमा कहिल्यै पनि सकस भएन। मेरो पुरै बाल्यकाल नै पढ्दा पढ्दै बित्यो भन्दा पनि फरक नपर्ला। एसएलसीमा राम्रो नम्बर ल्याएर पास भए पछि आईएस्सी गरेर इन्जिनियरिङमा जाने सोच थियो। इन्जिनियरिङको लागि छात्रवृत्तिमा नाम ननिस्के पछि यता पढाइलाई नै निरन्तरता दिएँ।
केमेस्ट्री पनि मेरो विषय भएको हुनाले फार्मेसी सम्बन्धी काम गर्दै थिएँ। पढाइ सकेर पनि काम गर्न थाल्दा त्यो बेलामा समाजमा एक हिसाबले मेरो बिहे गर्ने उमेर जाँदै छ भन्ने भयो। अनि २७ वर्षको उमेरमा मेरो मागी विवाह भयो।
म अलि लजालु स्वभावकी थिएँ। पढाइ बाहेक अरूमा ध्यान नै गएन। त्यही भएर आमाबुबाले भन्ने बित्तिकै विवाहको लागि मानेँ।
त्यो बेलामा नै मेरो श्रीमान गोरखापत्रमा काम गर्नु हुन्थ्यो। राम्रो, सक्षम केटो, परिवारले हेर्नु भएको भने पछि मैले नाइँ पनि भनिँन।
बिहे भएको दुई वर्ष पछि हाम्रो पहिलो सन्तान जन्मियो। सुरुमा मेरो महिनावारी १५ दिन ढिला भएको थियो। त्यसबेला गर्भवती भएको भनेर सबै जना धेरै खुसी हुनुहुन्थ्यो। यतिसम्म कि, घरमा सबैले दिनका दिन जुस नै खुवाउन पो थाल्नुभयो।
तर, होइन रहेछ।
अलि पछि चाहिँ गर्भवती भएँ। नानी जन्मिई। अनि त्यसको चार वर्ष पछि फेरि हाम्रो दोस्रो सन्तान भयो। यसपटक बाबु जन्मियो। दुवैलाई हामीले योजना बनाएर नै जन्माएका हौँ।
घरमा सासु हुनुहुन्छ। उहाँले चैं पहिलो सन्तान छोरा नै होस् भन्ने चाहनु भएको थियो। दोस्रो पटक चाहिँ लगभग सबैले छोरा नै हुन्छ भनेर सोचेका थिए। तर, पनि हामीले लिङ्ग परीक्षण चैं गरेनौँ।
त्यो बेलामा मेरो काम स्वयम्भूमा थियो। हरेक दिन श्रीमानले ल्याउने, पुर्याउने गर्नु हुन्थ्यो। खानामा विशेष ध्यान राख्नु भयो। पहिलो सन्तान जन्मिने बेला हामी निकै उत्साहित थियौँ। के होला, कसो होला भन्ने डर लागिरह्यो।
त्यो बेलामा मेरो मेरो निकै तौल बढ्यो। खुट्टाहरू सुन्निए। वान्ता धेरै भएन। त्यही भएर कमजोरी महसुस चैं भएन। तर, फेरि रक्तचाप पनि बढ्यो। त्यस पछि त पुरै बेड रेस्ट गर्नु भन्ने डाक्टरको सल्लाह थियो।
यता, काममा चाहिँ गइराखेकै थिएँ। अन्तिम महिना त निकै गाह्रो भयो। बच्चाको तौल पनि धेरै भएको कारण त्यस्तो भएको हुन सक्ने रहेछ। भात गन्हाउने भएर फलफूल खूब खाएँ। त्यति नै बेला मेरो सुगरको मात्रा पनि बढ्यो। नौ महिना भए पछि पानी बग्न थाल्यो। त्यति बेला म घरमै थिएँ। अनि त हामी हस्पिटल गइहाल्यौँ।
मेरो दिदी टिचिङ हस्पिटलमा काम गर्नुहुन्छ। उहाँले त्यसबेला धेरै सहयोग गर्नु भयो। बच्चा पनि ठूलो भएकाले व्यथा लाग्दा धेरै नै गाह्रो भएको थियो, जुन म शब्दमा बयान गर्न पनि सक्दिन। सायद, त्यो प्रसवको पीडा सहेर पनि होला, छोरी मान्छेहरूलाई अरू कुनै पीडाहरू त्यति ठूलो पनि नलाग्ने रहेछ।
हस्पिटलको माहोल फेरि अलग्गै थियो। त्यो बेला सम्म त्यहाँ आएकाहरू सबैको बच्चा भइरहेको थियो। मेरो त औषधि दिँदा पनि भइरहेको थिएन। लगभग २४ घण्टा व्यथा लाग्दा पनि नर्मल नहुने भए पछि अप्रेशन लागि तयारी सुरू भयो।
त्यो व्यथा खप्न गाह्रो भएर अप्रेशन गर्ने भनेको सुन्दा पनि मलाई आनन्द लाग्यो।
श्रीमान लगायत परिवारका अन्य सदस्यहरू चाहिँ डराइरहनु भएको थियो। अप्रेशन थालिए पछि मेरो आधा शरीर लठ्ठियो तर, पनि म होसमै थिएँ। बच्चा निकालेको, रोएको सबै थाहा पाएँ। त्यस बेला त एकदम गह्रौं भारी बिसाएको महसुस भएको थियो।
नानी जन्मिई। उसको तौल कम भएको कारण उसलाई अलग्गै राखियो। अनि मलाई अलग्गै। मैले २४ घण्टा पछि मात्र नानी हातमा पाएँ। त्यो एकदम नयाँ अनुभव थियो। नानीको त कपाल पनि कालो र बाक्लो थियो। ठूलो र मोटो शरीर भएकाले समात्दा पनि अप्ठ्यारो लागेन।
त्यस बेला नै उसलाई स्तनपान गराएँ। सुरुमा त उसले चुस्नै मानिँन। हस्पिटलमा पनि सिकाउने रहेछन्। अप्रेशन गरेको भएर पाँच दिन हस्पिटल नै बस्नुपर्यो। चिल्लो खान भएन। तेल लगाउन भएन। एकदम सादा खाना खाएँ। त्यो बेला घाउले पनि गाह्रो बनायो। आज भोलि त धागो गलेर जाने भएछ। त्यो बेला चैं टाँका निकाल्न फेरि जान पर्थ्यो।
सुत्केरी स्याहार एक महिना घर, एक महिना माइत गरेर बित्यो। तेल लगाउने, टन्न खाने, आराम गर्ने। यही मेरो दैनिकी बन्यो। बच्चाको लागि भनेर ज्वाँनोको झोल बेस्सरी खाएँ। दूध आउँछ भनेर मिस्रीको झोल र चाकु पनि खूब खाएँ। झोल पदार्थ त खाएको खायै गरेँ।
छोरा भनेर बसेको छोरी हुँदा सुरुमा अलि अर्कै पारिवारिक माहोल त भयो नै। पछि चैं पहिलो सन्तान छोरी भएर राम्रै भयो भन्नेमा पुग्यौँ। अनि सबै जना झन् रमाउनु भयो।
पहिलो पटक गर्भवती हुँदा एकदम नौलो अनुभूति रह्यो। के होला, कस्तो होला भन्ने भयो। दोस्रोमा त अनुभव पनि भयो। म आफैँ पनि चेकअपको लागि जान थालेँ। यस्तो भयो भने यस्तो हुन्छ भन्ने भइसकेको थियो।
तर, फेरि छोरी होला कि भन्ने डर पनि थियो। त्यो बेलामा पनि समाजको प्रभाव परिनैहाल्यो। परिवारमा छोरा चाहिन्छ भन्ने मानसिकता थियो।
पहिलो अप्रेशन भए पछि दोस्रोमा पनि अप्रेशन नै गर्नुपर्ने रहेछ। तौल त दोस्रो पटक पनि बढ्यो। तर, बाबु त सानो जन्मियो। जन्मिएपछि पनि उ बिरामी भइराख्यो। उसलाई हुर्काउन पनि गाह्रो भयो। दूध चुसाउन पनि गाह्रो। बाबु साढे दुई किलोको मात्र थियो। एकदम सानो, समात्न पनि मलाई अप्ठ्यारो भयो।
नानीले चार वर्ष सम्म दूध खाई। बाबुले त दुई वर्ष मात्र खायो। बाबु जन्मिई सकेपछि पनि नानीको भने माया लागिरह्यो। भर्खर जन्मेको भन्दा लामो समय देखि साथमा भएको सँग बढी आत्मीयता हुने रहेछ भन्ने लाग्छ। बाबु भए पछि नानीलाई छुट्टै सुताउनु पर्यो। त्यो बेला गाह्रो भएको थियो मलाई। पछि बिस्तारै उसले पनि त्यसैमा बानी गर्न थाल्यो। हुन त हाम्रो संयुक्त परिवार भएको कारण धेरै गाह्रो लागेन।
दुवैलाई विद्यालय पनि छिट्टै भर्ना गरिदियौँ। नानी पहिला देखि नै एकदम ज्ञानी। स्कुल जानलाई कहिले पनि नाइँ नभन्ने। उ त धेरै रोएको पनि थाहा छैन। तर, बाबुलाई अलि गाह्रो भयो। रुने, कराउने, स्वभावको थियो।
बाबु मात्र हुँदा मैले पद्मकन्यामा पढाउन थालिसकेकी थिएँ। तर, पछि थाहा पाएँ- दुई जना हुँदा हुर्काउन झनै गाह्रो हुने रहेछ। तथापि मेरो दुई जना सासु आमा भएकाले उहाँहरूले गर्दा मलाई सजिलो नै भयो।
नानी बाबुबाट एकछिन मात्र टाढा हुँदा के गरिरहेको छ होला भन्ने लागिरहने रहेछ। आमा भने पछि सधैंको लागि आमा हुने रहेछ। चाहे त्यो बच्चा सानो होस् या ठूलो भएको होस्। अहिले पनि त्यस्तै छ। उनीहरू ठूलो भइसके तर, सानै लाग्छ।
उनीहरूले परिवारको अन्य सदस्यसँग पनि राम्रो सम्बन्ध बनाएका छन्। सबैसँग उत्ति नै आत्मीयता बनाएका छन्।
नानी पनि विज्ञानकै विद्यार्थी हो। उसले आईटीमा चाख देखाइरहेकी छे। आफै एकदम बुझ्ने भइसकी। मैले उसलाई हेरिराख्नै पर्दैन। बाबुलाई अलि बढी ध्यान दिनु पर्ने छ।
छोरी किशोरावस्थामा छ। तर, धेरै परिपक्व छ। शिक्षा दीक्षामा केही कमी हुन दिएका छैनौँ। सकेसम्म असल चरित्रको होस् भन्ने नै हाम्रो प्राथमिकता हो। अहिले सन्तानसँग साथी जस्तो माहोल भएको छ। यो माहोल बनाइराख्न श्रीमानले पनि ठूलो भूमिका निभाउनु भएको छ।
अहिले त दुवै सन्तान हुर्किसके। यसो सोच्दा आफू पनि पहिलाको जस्तै लाग्छ। समय कति छिटो बित्ने रहेछ जस्तो क्या! अब नानी बाबु सँगै पद्मकन्या पनि झनै राम्रो भएको हेर्न मन छ। पद्मकन्यालाई अब्बल बनाउने नै मेरो आगामी प्रयास हुने छ।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
पुष २९, २०८० आइतबार १९:३८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।