अपाङ्ग संघमा बदमासी- ८ : खगेन्द्र नवजीवन केन्द्रमा बौद्धिक अपाङ्गता भएकाको 'नरक बास'

काठमाडौँ : नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा भएको बदमासी सार्वजनिक भएसँगै त्यहाँका अपाङ्गता भएकाहरू आन्दोलित छन्। संघको नेतृत्वको एकपछि अर्को बदमासी सार्वजनिक भइरहेको छ। तर सम्बन्धित निकाय निष्क्रिय बस्दा त्यहाँ रहेकाहरूको दैनिकी कठिन बन्दै गएको छ।
अवैध रूपमा रकम असुली, यौन दुर्व्यवहारदेखि लिएर संघ अन्तर्गतका विद्यालय अनि अस्पतालमा भएका बदमासी सार्वजनिक हुँदा पनि न स्थानीय निकायले हस्तक्षेप गर्न सकेको छ न त स्थानीय प्रशासनले नै वास्ता गरेको छ।
त्यसको प्रत्यक्ष प्रभाव 'खगेन्द्र नवजीवन गृह' मा बसिरहेका अपाङ्गता भएकाहरूको दैनिकीमा परेको छ। गृहमा ८४ जना विभिन्न अपाङ्गता भएकाहरू बसोवास गर्छन्। उनीहरूको सहयोगका लागि भनेर जिन्सी अनि नगद आइरहेको छ। तर त्यसको लेखाजोखा कतै छैन। इच्छा अनुसार व्यक्तिहरू आउँछन्, सामान्य सहयोग गर्छन् अनि तस्बिर खिचेर जान्छन्।
'आन्दोलनका कारण त केन्द्र अहिले झन् अस्तव्यस्त भयो,' विद्यार्थी तथा खेलाडी समेत रहेका जेनिशा कडायतले भनिन्।
विद्यार्थी पुष्पराज भट्टका अनुसार चार पटक औषधी खानुपर्ने बिरामीहरूलाई रातीको समय सधैं त्यत्तिकै राखिन्छ। बिरामीलाई कुन खानेकुरा खुवाउने र नखुवाउने भन्ने केही कार्यविधि छैन।
उनी भन्छन्’ हाम्रो हात त चल्छ। आफ्नै कोठाको जगमा चाउचाउ उमालेर पनि खान सक्छौँ। बानी पनि परिसक्यो तर, मानसिक र बौद्धिक दुर्बलता भएकाहरूको बिजोग भएको छ।‘
'क' वर्गका अपाङ्गता भएकाहरू गृहमा ८५ जना छन्। जस मध्ये ८४ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिसमा यहाँ छन्। २०७२/०७३ सालदेखि मन्त्रालयले यहाँ अपाङ्ग पुनर्स्थापित कार्यक्रम अन्तर्गत उनीहरूलाई राखेको हो। यसको लागि मन्त्रालयले वार्षिक एक करोड बजेट उपलब्ध गराउँछ। त्यो रकम केमा खर्च हुन्छ पत्तो छैन।
मानसिक र बौद्धिक दुर्बलता भएकाहरूको झनै बिजोग
गृहको २५ वटा कोठा मध्ये दुई वटा त 'अति गन्हाउने कोठा' भनेरै छुट्याएको छ, जसमा पूर्ण रूपमा मानसिक दुर्बलता भएका ६,७ जना बस्छन्। त्यस बाहेक बाँकी शारीरिक अपाङ्गता भएकाहरू सँगै मिसिएर बस्छन्। गृहमा मानसिक र बौद्धिक दुर्बलता भएका २५ जना व्यक्तिहरू छन्। जसमा अधिकांश महिला छन्।
'महिनावारीमा प्याड लगाइदिनेदेखि दिसा,पिसाब सब हामीले नै स्याहार्नु पर्छ। जति सफा गर्दा पनि कर्मचारी थोरै भएपछि फोहोर त हुने नै भयो,' एक कर्मचारी भन्छिन्, 'उनीहरूलाई नुहाउने, लुगा धोइदिने जे गर्दा पनि राति घर जाँदा त कोठामै फोहोर गर्छन्। रातीका लागि कर्मचारी थपे यस्तो फोहोर हुँदैन थियो।'
उनका अनुसार गृहको लागि २० जना कर्मचारी छन्। त्यसमा दुई जना सुरक्षा गार्ड अनि चार जना मेसमा काम गर्छन्। बाँकीले सबै काम धान्नु पर्छ।
'मानसिक रूपमा अस्वस्थ रहेका एक जनालाई दुई जना मिलेर पनि सम्हाल्न सकिँदैन। हामीलाई नै पिटिरहेका हुन्छन्। अहिले जति फोहोर भएको छ त्यो त अझ कम हो! गर्मीमा झन् बसी नसक्नु हुन्छ,' उनले भनिन्।
मानसिक अपाङ्गता भएकाहरूको लागि भनेर सिसाको जस्तो देखिने सानो टहरा बनाइएको छ। जसमा एक जनालाई त प्राय सलले बाँधेर राखिएको हुन्छ। सबै जना त्यत्तिकै भुईँमा लडेर बसेका हुन्छन्। एक अर्कासँग झगडा गरेर बस्छन्। वरपर झिँगा भन्किएका छन्।
गृहको लागि स्टाफ नर्स र फिजियोथेरापिस्ट राख्न माग भए पनि माग पुरा भएको छैन। केन्द्रकै मातहतमा अस्पताल छ। त्यति व्यवस्था गर्न गाह्रो पनि हैन। तर अध्यक्ष साम्देन लामाले वास्ता गरेको देखिएन।
संघले मानसिक रूपमा अस्वस्थ रहेका तीन जनाको हेरचाह गर्न भनेर उनीहरूको परिवारसँग ५५ लाख असुलेको पुष्टि भइसकेको छ। परिवारका सदस्यको राम्रो हेरचाह हुन्छ भनेर उनीहरूले दिएको पैसा कहाँ छ पत्तो छैन। परिवारका सदस्य नरक समान केन्द्रमा बसिरहेका छन्।
अध्यक्ष लामा भने अपाङ्गता भएका व्यक्तिहरूको अवस्था हेरेर छुट्टा छुट्टै राखिने दाबी गर्छन्। तर उकेराकर्मीले केन्द्रको अवलोकन गर्दा उनको दाबी झुटो भएको देखियो।
संघका आजीवन सदस्य तथा पूर्व विद्यार्थी विदुर थापाका अनुसार यस गृह राइडर चेसार नामक बेलायती नागरिकले सिर्जना गरेका हुन्। यहाँको भवन सबै अति अशक्तता भएका व्यक्तिहरूको लागि उनैले बनाइदिएका हुन्। गृह सम्पूर्ण सञ्चालन उनैले गर्दै आएकोमा उनको मृत्युपछि भने संघले नै सञ्चालन गर्न थालेको हो।
'उनले छोडेर जाने बेलामा ७० लाख रूपैयाँ छोडेर गएका थिए। त्यो पैसा अहिले कतै पनि छैन। हामीले यस बारेमा आन्दोलन गर्न थालेकै वर्ष दिन पुग्न लागिसक्यो,’ उनले भने' न कुनै कारबाही हुन्छ, न कसैले हाम्रो कुरा नै सुन्छन्,' उनले भने।
अपाङ्ग संघमा अपराध श्रृङ्खलाका यसअघिका समाचार:
पुष २९, २०८० आइतबार १५:५८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।