ब्युटिसियन सुष्माको प्रसव पीडा र खुसी : बाबुले मेरो एक तुर्को दूधसमेत पिउन पाएन, तेल लगाइदिन्छन् भनेर माइत पनि गइनँ

ब्युटिसियन सुष्माको प्रसव पीडा र खुसी : बाबुले मेरो एक तुर्को दूधसमेत पिउन पाएन, तेल लगाइदिन्छन् भनेर माइत पनि गइनँ

१६ वर्षदेखि सफल सौन्दर्य व्यवसायमा छिन् सुष्मा महरा। नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंकी सचिव समेत रहेकी उनी महिला उद्यमी/व्यवसायी सम्बन्धी सम्पूर्ण संघसंस्था सँग उनी जोडिएकी छन्।

संघसंस्थामा जोडिँदा आफ्नो कुराहरूको प्रभाव झन् बढी हुने उनको मान्यता छ। कुनै समय घरमा उनलाई ‘ब्युटिसियन’ भनेर चिनिएको रुचाउँदैन थिए। तर, अहिले त्यस्तो छैन। ‘ब्युटिसियन’ भनेर चिनिएकोमा सबै जना गर्व गर्छन्।

त्यसकारण पनि सुष्मा आफ्नो कामप्रति झन् सकारात्मक भएकी छन्। उनले प्रत्यक्ष रूपमा एक सय जनाभन्दा बढी मानिसलाई प्रत्यक्ष रोजगारी दिएकी छन्। स्कुलतिर पनि यसबारे पढाउन थालिएकोमा उनी दङ्ग परेकी छन्।

घरको पाँचौं छोरीको रूपमा जन्मिएकी उनी छोराको चाहना गर्दागर्दै जन्मिएकी सन्तान हुन्। त्यै भएर उनलाई छोरा जस्तै गरेर हुर्काइयो। घरेलु काममाभन्दा बाहिरको काममा बढी जोड दिइयो। उनलाई थाहा भएसम्म उनले कहिले पनि कपाल लामो थिएन।

पछि बीचमा उनी आफैँले इच्छा गरेर बनाइए पनि फेरि छोटो कपालमै उनी आकर्षित भइन्। त्यसपछि भने छोटो कपालनै उनको पहिचानसमेत बन्यो। पढ्दा पढ्दै उनले अन्तरजातीय विवाह गरिन्। ​​​​​​

आफूभन्दा दश वर्ष बढी उमेरको श्रीमान् भए पनि मज्जाले योजना बनाएर सन्तान जन्माइन् उनले। लामो समयपछि सन्तान जन्माउनुको खुसीसँगै उनले छोरा दुई वर्षको हुँदा श्रीमान् गुमाइन्।

त्यसपछि भने उनलाई पुन: अगाडि बढ्न धेरै गाह्रो भयो। अनि घरकै सुझावमा अर्को विवाह पनि गरिन्। उनै सुष्माले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा सन्तान पाउनुको खुसीसँगै अर्को बाबासँग घुलमिल गराउन परेको संघर्ष यसरी सुनाइन्।

०००

पढ्दा पढ्दै अचम्मसँग विवाह भयो मेराे। बिहेको कुरा त भइरहेकै थियो। मेरो श्रीमानले चैँ मलाई अगाडिदेखि नै मन पराउनुभएको रहेछ। अनि कुरा गर्ने भनेर भेट्दा उहाँले मलाई भगाउनुभयो। भागेको केहि दिनसम्म घरमा केहि भनेनौँ। पछि उहाँले धेरै गाली पनि खानुभयो। उहाँ मभन्दा धेरै परिपक्व हुनुहुन्थ्यो। उहाँको सरकारी जागिर पनि थियो।

म भर्खर १७ वर्षकी थिएँ। उहाँको ड्याडीले नाबालिग ल्यायो भनेर कराउनुभएको थियो। मलाई पनि कति वर्ष भयौ? भनेर सोध्नुभयो। अहिले त सानो छु। त्यो बेला झन् फुच्ची थिएँ। अरुले थाहा भयो भने जागिर जालासमेत भन्नुभयो। घरकै ट्र्याक र चप्पल लगाएर गएको थिएँ म त। अन्तर्जातीय विवाह भएर मलाई त्यस्तो गाह्रो त भएन। मेरो बाबा हुनुहुन्नथ्यो। बाबा हुनुभएको भए चैँ पक्कै चित्त दुखाउनुहुन्थ्यो होला।

पछि पनि घरमा रितिरिवाज अनुसारले विवाह चैँ गरेनौँ। कानुनी रूपमा चैँ सबै गर्यौं। अगाडि नै भागेको भएर होला बिहे गरौँ जस्तो पनि लागेन। केही वर्षअघि आफ्नै अफिसको क्यालेन्डरको दुलही बनेर फोटो खिचाएर दुलही बन्ने इच्छा पूरा गरेँ। तर, अहिले पनि हरेक दुलहीलाई सिंगार गर्दा आफैँ दुलही भएको अनुभूति हुन्छ।

मभन्दा १० वर्ष ठूलो भएर पनि होला, उहाँ एकदम बुझ्ने हुनुहुन्थ्यो। मेरो त स्वभाव चन्चले नै थियो। दुलही हुन मन लाग्ने, छिट्टै बच्चा पाएर सँगै खेल्न मन लाग्ने हुन्थ्यो। तर, श्रीमानले सन्तानको कर गर्नु भएन। मलाई नै पहिला पूरै समय दिनुभयो। त्यै भएर एकदम समय दिएर, पूरै योजना बनाएर अब चैँ हामी तयार छौँ भन्ने भएपछि मात्र जन्माएको। बाबु भर्खर १३ वर्षको भयो।

बाबु पाउँदा हामी एकल परिवारमा थियौँ। त्यो बेला मैले संयुक्त परिवारको महत्व थाहा पाएँ। घरमा ससुरालाई नातिको एकदम शौख थियो। त्यै भएर छिटो पाउ पनि भन्नुभएको थियो। तर, जब बाबु पेटमा आयो तब ससुरा बित्नुभयो। अहिले पनि उहाँलाई एकदम सम्झन्छु। मेरो श्रीमान पनि कान्छो छोरा हो। कान्छा छोरा भए पनि पारिवारिक कारणले उहाँ नै किरियामा बस्नुभएको थियो। किरियाको नौ दिनमा उहाँले ससुरालाई सपनामा देख्नुभएछ।

सपनामा ‘म मरेको छैन। तेरो छोराको रूपमा जन्म लिँदै छु’ भन्नुभएको भन्दै मलाई भन्नुभयो। त्यहि भएर उहाँले जन्मभन्दा अगाडि नै बच्चाको लिङ्ग हेर्न खोज्नुभयो। मलाई झन् डर लाग्यो। छोरी भयो भने के गर्ने भन्ने पनि भयो। त्यो कुरा त्यत्तिकै सेलायो।

ठ्याक्कै नौ महिनामा मलाई बाबु पेटमा चलेको महसुस नै भएन। दुई दिनसम्म केहि हलचल नभए पछि मैले श्रीमानलाई भनेँ। अस्पताल गएर जाँच गराउँदा बच्चा घोप्टेर सुतेको रहेछ। केहि भएको छैन भन्नुभयो। त्यै बेलामा लिङ्ग पनि हेर्यौं। छोरा नै रहेछ। त्यो बेलामा त हामी दङ्ग परेका थियौँ। उहाँ त धेरै नै खुसी हुनुभएको थियो।

गर्भवती समयमा मलाई असाध्यै जेरी खान मन लाग्थ्यो। उहाँले नक्साल मन्दिर अगाडि लगेर खुवाउनुहुन्थ्यो।

गर्भवती हुँदा मैले बिजनेस सुरू गरिसकेको थिएँ। आठौँ महिनासम्म ठिम-ठिम परेर हिँड्थे। मलाई त त्यस्तो अवस्थामा पनि काम गर्यो भनेर श्रीमानले गाली गर्नुहुन्थ्यो।

अत्तिनै भएपछि नवौं महिनामा चैँ आराम गरेँ मैले। खुट्टा अलि सुन्निने भएको थियो। तौल बढेर धेरै गाह्रो भएको थियो। ४५ केजीको मान्छे म गर्भवतीको नवौं महिना चलिरहँदा ७६ केजीको भएको थिएँ।

मलाई आइतरबारको डेट दिइसकेको थियो। आठ/दश दिनअघि जचाउन जाँदा ‘एक्स रे गर्नु। यसको रिपोर्ट लिन आउँदा सायद भर्ना पनि गर्नुपर्छ होला’ भन्नुभएको थियो डाक्टरले।

त्यहि दिन मलाई दुखाइ सुरू भइसकेको थियो। त्यसपछि यतै केहि भयो भने झन् श्रीमानलाई गाह्रो होला भन्ने सोचेँ। अनि आइतबार पर्खेनौँ। शुक्रबार नै हामी गयौँ र भर्ना भएँ। शनिबार त मैले बाबुलाई जन्म नै दिएँ।

प्रसव पीडा मैले पूरा अनुभव गरेँ। एकदम नमीठो अनुभव भयो। मैले बच्चा नर्मल जन्माउन सक्दिनँ भनेर हस्पिटलमा अप्रेसनको लागि डिपोजिट राख्न लगाइयो। मैले क्याबिन लिएको भए पनि प्रसुति कक्ष लगियो।

रातभर व्यथा लाग्यो। त्यति धेरै गाह्रो हुँदा पनि त्यहाँको कर्मचारीले वास्तै गरेनन्। डाक्टर आएपछि हुन्छ मात्र भनेरै टारे। मलाई ट्वाइलेट आएको जस्तो हुन्थ्यो। ट्वाइलेट जाँदा पुरै रगत बग्दा पनि त्यहाँ कसैले हेरेन।

त्यसपछि त मैले म अर्को हस्पिटल जान्छु मेरो श्रीमानलाई बोलाइदिनु समेत भन्दा मिल्दैन भन्यो। त्यत्तिकै बिहान भयो। बिहान अर्कै कर्मचारीहरू आएपछि बल्ल मलाई जाँच गरियो। अनि आत्तिँदै फेरि अर्को प्रसुति कक्षमा लग्यो। त्यहिबेला मलाई कन्नु त! भन्यो।

दुई चोटी कनेको जस्तो लाग्छ बाबु जन्माई सकेछु। अहिले पनि त्यो हस्पिटलको अवस्था सम्झिँदा डर लाग्छ। ट्वाइलेटमा रगतसँगै मेरो बाबु पनि त खस्न सक्ने रहेछ नि! अहिले पनि सिरिङ्ग हुन्छ।

सबै राम्रोसँग भयो। बाबु हुँदा म होसमै थिएँ। बाबुलाई पुछेको पनि देखे। त्यसबेला तपाईंको छोरा छ कि छोरी छ थाहा छ? भनेर सोध्नुभयो। त्यो बेला बच्चा साट्ने कुरा पनि एकदम सुनिएको थियो। डराएँ पनि। छोरा भएको मलाई थाहा छ भनेँ। त्यो बेला चैँ अगाडि नै बच्चाको लिङ्ग हेरेर राम्रो गरिएछ भन्ने लाग्यो।

कम तौल (दुई केजी) सानो तौलको भएर बाबुलाई ११ दिनसम्म आईसीयूमा राखियो। मलाई चैँ डिस्चार्ज गर्यो। स्तनपान गराउन निकै कसरत गरेँ। दूध आओस् भनेर जे-जे प्रयोग गरिन्छ, सबै गरेँ। तर, दूध आउँदै आएन।

त्यहाँ सबै एकै ठाउँमा भएकाले सुत्केरी भएको अन्य आमाहरूले बच्चाहरूलाई दूध खुवाउने रहेछन्। बाबुले अरू धेरै आमाहरूको दूध खायो। तर, आफ्नै आमाको खान पाएन।

११ दिनसम्म डिस्चार्ज गर्न मानेको थिएन। तिम्रो बच्चा जन्मिँदा रोएको थिएन भन्यो। त्यसमा पनि झगडा गरेँ। मैले बकाइदा रोएको सुनेको थिएँ। अनि ११औं दिनमा डिस्चार्ज गर्ने भनेपछि घरमा सबै तयार गरेर गुरूहरू सिधै बोलाएर न्वारन पनि गरियो।

मैले स्तनपान गराएको भए अगाडि नै राम्रोसँग छुन पाउँथे होला। स्तनपान नभएर मायाले छुनसमेत पाएको थिइँन। त्यो ११ दिन त निन्द्रा पनि लाग्दैनथ्यो। श्रीमान त रुनु पनि भएको थियो।

बाबुलाई डिस्चार्ज नगरुन्जेल म आफैँ फ्रेस भइनँ। घर आएपछि चै बल्ल म सुत्केरी हो है भन्ने भयो। घर गएर पनि स्तनपानको कोशिस गरेको थिएँ। तर, हुँदै भएन। कोही को त्यस्तै हुन्छ रे! खै किन भएन अहिलेसम्म थाहा छैन। त्यसपछि अर्को पाउने पनि सोचेनौँ। एउटैमा चित्त बुझाइयो। 

सुत्केरी स्याहार्ने भनेर म माइती गएर बसिनँ। आफू कामकाजी भएकाले गन्धहरू मन नपर्ने। माइती गए भने तेल लगाइदिन्छन् भनेर पनि नगएको। मलाई र बाबुलाई तेल लगाउने अलग-अलग थिएँ। तेल लगाएपछि मैले पुछिसक्थेँ।

सुत्केरी स्याहार साच्चिकै महिलाको लागि एकदम आवश्यक रहेछ। मैले सुत्केरी भनेर त्यति धेरै पोषिलो खाना पनि खाइनँ। तर, खानपर्ने रहेछ। नर्मल भएर बस्न नहुने रहेछ। अलिकति भए पनि विशेष हुनुपर्ने रहेछ। फिजियो थेरापीहरू गरेपछि मात्र म बल्ल ठिक भएँ।

तीन महिनापछि कामलाई निरन्तरता दिएँ। स्तनपान नगराए पछि त त्यतिधेरै समय दिन पनि परेन। स्तनपान अर्को ठूलो गाह्रो कुरा हो भन्छन्। त्यै भएर मलाई त्यो अफ्ठ्यारो केही पनि भएन। बाबुलाई कहिले कहिँ काममा लिएर पनि जान्थे। बाबु मसँग भन्दा पनि बाबासँग बढी नजिक थियो। उहाँले त शिशु स्याहार सम्बन्धी किताब नै पढ्नुभएको थियो।

बाबु दुई वर्षको हुँदा मेरो श्रीमान् बित्नुभयो। मेरो छोरा महरा खान्दानको एउटा मात्र छोरा हो। जेठानी दिदी र ठूली सासुले सब हेर्नुभयो। मेरो मानसिक स्वास्थ्यमा पनि आघात पुग्यो। आफ्नो काममा फर्किन मलाई फेरि धेरै गाह्रो भयो।

श्रीमान नभएको भनेर समाजले के भन्ने होला भन्ने डर लागि रहन्थ्यो। त्यै भएर होला काममा मेरो बढी समय पनि बित्न थाल्यो। श्रीमान नभए पनि घरबाट मलाई पूरै समर्थन गर्नुभयो। छोरालाई कुनै पनि कमी महसुस गराउनुभएन।

छोरा छ वर्ष हुँदा मलाई घरमा बिहे गरिदिने कुरा गर्नुभयो। मैले त आमा र बाउ दुवै भएर उसलाई हुर्काउन सक्छु भन्ने थियो। तर, घरमा पहिलेदेखि नै एक्लै त बस्न हुँदैन भन्नुहुन्थ्यो। घरबाटै कर भएपछि मैले दोस्रो श्रीमानलाई भेटेँ।

पहिला नै आफ्नो सबै कुरा सिधा राखेँ। अर्को बच्चा नजन्माउने र छोरालाई हेलाँ गर्न नपाइने शर्तमा राजी भएपछि मैले दोस्रो विवाह गरेँ। उहाँले मेरो निर्णयमा साथ दिनुभयो। अहिलेसम्म पनि उसरी नै साथ दिइरहनुभएको छ।

विधवालाई आक्षेप लगाउने समाजमा मैले देवताजस्तो साथी पाएँ। बाबुलाई बाबाको कमी महसुस हुन दिनुभएको छैन उहाँले। त्यै भएर एकदम खुसी छौँ। बाबु पनि अहिलेको बाबा सँग उत्तिकै घुलमिल हुन्छ।

बाबुको मानसिकतामा यसको नकारात्मक असर पर्ने हो कि भन्ने डर पनि नलागेको हैन तर तीन वटा परिवारको माया पाइरहेको छ। उसले पनि अब त परिवारको बारेमा बुझोस् भन्ने लाग्छ। त्यै भएर कुनै पनि कुरा लुकाएको छैन। अहिले लुकाएर पछि थाहा पायो भने अर्कै वातावरण हुन्छ भनेर अहिले नै बिस्तारै उसलाई सबै कुरा भनिसकेका छौँ।

अहिले बाबु सात कक्षामा पढ्दै छ। १३ वर्षको भयो। निकै परिपक्व भएको जस्तो लाग्छ। मैले त बाबुमा त्यो बच्पना नै देखिनँ। गाडीको एकदमै शौखिन छ। अनि फुटबलमा पनि एकदम चाख देखाउँछ। ऊ अर्कै किसिमको लाग्छ। सानैदेखि उसले आर्मीप्रति रुचि देखाएको छ।

उसको हजुरबुवा पनि आर्मीनै हो। आर्मी बन्ने भए पनि बनोस्। फिल्म पनि त्यस्तै खालको हेर्छ। मलाई पनि आर्मीनै बनोस् भन्ने लाग्छ। तर, अहिलेको समयमा यो बनोस्, त्यो बनोस् भन्नु भन्दा पनि कुलतमा नपरोस् भन्ने लाग्छ।

ऊ छिट्टै ठूलो भएको जस्तो लाग्छ। बच्चालाई जति अरुसँग घुलमिल गरायो त्यति नै सजिलो हुने रहेछ। किशोरावस्थामा भएकाले आफूमा भएको परिवर्तनले पनि केही  नर्भस भएको हो कि जस्तो पनि लाग्छ। त्यै भएर अब चैँ अलि बढी समय दिनपर्छ भन्ने लागेको छ।

अप्रेसन गरेर मलाई बेहोस बनाएर पाएको भए पनि कसरी पाएँ होला भन्ने लाग्थ्यो होला। तर प्रसवको त्यो पीडा मैले पूरै अनुभव गरेकाले मलाई अब पुग्यो। छोरीको इच्छा छ। मिल्यो भने धर्मपुत्री राख्न मन छ।

प्रसव पीडाका यसअघिका सामग्री

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

पुष १५, २०८० आइतबार २०:१४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।