डा. अर्जुनको अनुभव : ‘हामी भन्दा सिपालु भएर आयो’ भन्दै शिक्षण अस्पतालका केही चिकित्सक सशङ्कित भएपछि...

डा. अर्जुनको अनुभव : ‘हामी भन्दा सिपालु भएर आयो’ भन्दै शिक्षण अस्पतालका केही चिकित्सक सशङ्कित भएपछि...

चार दशकभन्दा लामो समय चिकित्सकीय अनुभव बटुलेका डा. अर्जुन कार्कीको नाम स्वास्थ्य क्षेत्रमा अपरिचित छैन। फोक्शोरोग तथा आईसीयू विशेषज्ञ उनले चिकित्सकीय पेशाको सिलसिलामा धेरै सुःख-दुख देखे भोगेका छन्। चिकित्सकीय पेशामा देखे भोगेका केही अनुभव डा. अर्जुनले उकेरासँग साटेका छन्।

काठमाडौंमा जन्म, डाक्टरी सपना
अर्जुन २०१२ मा काठमाडौंको टेबहालमा जन्मिएका हुन्। उनले दश कक्षासम्म विद्यालयहरू परिवर्तन गर्दै पढे। ललितपुरको पाटनस्थित त्रिपद्म विद्याश्रमबाट २०२८ मा एसएलसी गरे। एसएलसीपछि पाटन क्याम्पसबाट आइए पढेका उनलाई त्यसपछि भने चिकित्सा विज्ञान पढ्ने मन भयो।

त्यसैले अर्जुनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा प्रमाणपत्र तहको चिकित्सा विज्ञान विषय अध्ययन गर्न थाले। त्यो विषयलाई चिकित्सा शास्त्र बिषारत/सामान्य चिकित्सा भनिन्थ्यो। जुन विषय अध्ययन गरेका विद्यार्थीलाई सामान्य रूपमा हेल्थ असिस्टेण्ट (एचए)का रूपमा बुझिन्छ।

एचए अध्ययन गरिसकेपछि अर्जुनले स्वास्थ्य मन्त्रालयको अस्थायी नियुक्ति लिएर दोलखाको बोचस्थित स्वास्थ्य चौकीमा गएर एचएको रूपमा एक वर्ष काम गरे।

दोलखाबाट फर्किएर अर्जुन सन् १९७९ एमबीबीएस अध्ययनका लागि महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै भर्ना भए। त्यो बेला आन्दोलनको समय भएकाले अध्ययन केही लम्बियो। सन् १९८५ मा उनको एमबीबीएस पूरा भयो अनि उनी डा. अर्जुन भए। 

स्वीडेन र अमेरिकामा अध्ययन
एमबीबीएस अध्ययनपछि डा. अर्जुन त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा काम गर्न थाले। उनी त्यहाँ स्थायी जागिरे भए। शिक्षण अस्पतालमा उनले करिब पाँच वर्ष काम गरे।

त्यसपछि डा. अर्जुन थप अध्ययनका लागि स्वीडेन पुगे। स्वीडेनको एक विश्वविद्यालयमा उनले अनुसन्धान सम्बन्धी विषय अध्ययन गरे र चिकित्सा विज्ञानको अनुसन्धानकर्ता कै रूपमा त्यहाँ अध्ययन गर्दै एक वर्ष काम गरे।

एक वर्ष स्वीडेनमा अनुसन्धान सम्बन्धी ज्ञान लिएर सन् १९९१ मा नेपाल उनी फर्किए। स्वीडेनबाट फर्किएपछि त्रिवि शिक्षण अस्पतालमा नै करिब एक वर्ष उनले काम गरे। त्यसपछि उनी शिक्षण अस्पतालबाट (अध्ययन) विदा लिएर सन् १९९३ मा अमेरिकामा पुगे।

त्यहाँ उनले स्टेट युनिभर्सिटी अफ न्युयोर्कमा स्नातकोत्तर तहको चिकित्सा शास्त्रको इन्टरनल मेडिसिन विषयमा एमडी अध्ययन थाले। यो चिकित्सा शास्त्रको विशेषज्ञ तहको अध्ययन हो।

तीन वर्षे एमडी अध्ययन गरिसकेपछि उनले अमेरिकाकै ब्राउन युनिभर्सिटीमा फोक्सो तथा आईसीयू सम्बन्धी तीन वर्षे फेलोसिप गरे। जुन विशिष्टिकृत अध्ययन हो। यस्तो विशिष्टिकृत अध्ययनलाई डिएमसरह मानिन्छ।

अध्ययन सकेपछि उनलाई नेपालमै बसेर आफूले सिकेको ज्ञान तथा सीप अनुसारको सेवा गर्नुपर्छ भन्ने लाग्यो अनि स्वदेश फर्किए।

सिपालु भएर आयो भन्दै केही चिकित्सक सशङ्कित भएपछि...
इन्टरनल मेडिसिन विषयमा एमडी र फोक्सो तथा आाईसीयू सम्बन्धी विषयमा डिएम गरेर डा. अर्जुन सन् १९९९ मा नेपाल फर्किए। 

देशप्रेम अनि साथीभाइको आग्रह तथा नेपाली जीवनशैलीमै रमाउन चाहेकाले आफू अमेरिकामा अध्ययन गरेपनि नेपाल फर्किएको उनले सुनाए।

विदेशमा पलायन हुनुहुँदैन, नेपालमा नै काम गर्नुपर्छ भन्ने भावनाकै कारण अमेरिकाबाट फर्किएको र त्यो भावनाबाट अहिलेसम्म नबहकिएको उनले बताए।

नेपाल फर्किएपछि डा. अर्जुनलाई त्रिवि शिक्षण अस्पतालमा नै काम गर्ने इच्छा थियो। त्यहाँ उनको जागिर कायमै पनि थियो। त्यसैले नेपाल फर्किएर शिक्षण अस्पतालमा नै काम गर्नका लागि उनी गए।

त्यो बेलासम्म फोक्सो तथा आाईसीयू सम्बन्धी विषयमा डिएम अध्ययन गरेका चिकित्सक नेपालमा नभएको उनले सुनाए। त्यसपछि उनले शिक्षण अस्पतालमा आफ्नो अध्ययनको योग्यता सुहाउँदो पद दिन आग्रह गरे।

तर, डा. अर्जुनलाई अध्ययनको योग्यता सुहाउँदो पद दिने त कुरै छाडौं, केही चिकित्सकले अस्पतालबाटै निकाल्न प्रपन्च रचेछन्।

‘कतिपय चिकित्सकले त ‘यो (डा. अर्जुन) हामी भन्दा सिपालु भएर आयो, अब हामी छायाँमा पर्छौँ’ भन्ने तरिकाले कुरा गरेर अस्पतालमै नबसोस् भन्नेसम्मको प्रपन्च रचे’, डा. अर्जुनले उकेरासँग सुनाए।

उनलाई शिक्षण अस्पतालमा काम गर्न सहज वातावरण नै बनेन। नेपालमा नै काम गर्छु भनेर फर्किएका डा. अर्जुनलाई त्यहाँका केही चिकित्सकको व्यवहार देख्दा दिक्क लाग्यो। उनलाई आफ्नो स्वाभिमान गुमाउनु छँदै थिएन।

‘लत्रक्क परेर गएको भए हुन्थ्यो होला, म पनि त्यहाँ (अमेरिका)बाट स्वाभिमानयुक्त मान्छेको रूपमा फर्केको थिएँ’, उनले कुराकानीको क्रममा हाँस्दै भने।

सहज रूपमा काम गर्ने वातावरण नै नभएपछि सन् १९९९ कै अन्त्यतिर डा. अर्जुनले महाराजगञ्ज चिकित्सा क्याम्पस (शिक्षण अस्पताल)को जागिरबाट राजीनामा दिए।

काठमाडौं विश्वविद्यालयमा चार वर्ष काम
महाराजगञ्ज चिकित्सा क्याम्पसबाट राजिनामा दिएपछि डा. अर्जुन काठमाडौं विश्वविद्यालयमा गएर काम गर्न थाले। काठमाडौं विश्विद्यालयको विशेषगरी आंगिक क्याम्पस स्थापनाका लागि उनले सह-प्राध्यापक भएर कार्यक्रम निर्देशकको रूपमा चार वर्ष काम गरे।

पाटनमा संस्थापक उपकुलपति
काठमाडौं विश्वविद्यालयपछि डा. अर्जुन ललितपुरको पाटन अस्पतालमा कन्सल्टेण्ट चिकित्सकका रूपमा काम गर्न पुगे। उनी पुग्दा पाटन अस्पताल मात्रै थियो। पाटनमा पुगेपपछि उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने विषयमा सक्रिय भूमिका खेले।

डा. अर्जुनले प्रतिष्ठानको संस्थापक उपकुलपतिको रूपमा समेत सन् २००८ देखि सन् २०१२ सम्म चार वर्ष काम गरे। ६० वर्षीय अनिवार्य अवकाश उमेर हदका कारण उने सन् २०१५ मा पटनबाट अवकाश पाए।

पाटनबाट अवकाश पाएपछि डा. अर्जुनले ग्राण्डी अस्पतालमा करिब पाँच वर्ष काम गरे। ग्राण्डीपछि उनी विगत पाँच वर्ष यता ह्याम्स अस्पतालमा कार्यरत छन्। आईसीयूमा बिरामीको उपचार व्यवस्थापन गर्नु डा. अर्जुनको दैनिकी हो।

विभिन्न कारणले व्यक्तिको शरीरका अंगले काम गर्न नसकेर जीवन प्रक्रिया नै जोखिममा पुग्ने स्थितिमा आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ।

त्यसैगरी खोकी लाग्ने, स्वाँस्वाँ हुने, श्वासप्रश्वासमा असहजता हुने जस्ता दम खोकी, निमोनिया, टीबी, फोक्सोको क्यान्सरलगायत समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नु उनको पेशागत दैनिकी हो।

दिनमा सात जनामात्रै बिरामी जाँच
हरेक बिरामीलाई प्रशस्त समय दिएर बिरामीको कुरा सुन्छन् डा. अर्जुन। समय दिएर बिरामीको सुन्ने सुनेपछि आवश्यक परामर्श दिने, बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्छन् उनी। प्रत्येक बिरामीलाई आधा घण्टा समय दिने गरेको डा. अर्जुनले सुनाए।

एक दिनमा ५/७ जना भन्दा बढी बिरामी ओपिडीमा नजाँच्ने गरेको डा. अर्जुनले सुनाए। ह्याम्सबाहेक अन्त्र चिकित्सकीय काम नगर्ने गरेको उनले सुनाए।

डा. अर्जुन बिरामीको सबै कुरा मजाले सुनेपछि मात्र उपचारको प्रक्रिया सुरू गर्छन्। बिरामीलाई समय दिएर सबै समस्या सुनेपछि उपचार प्रक्रिया सहज हुने र मन पनि आनन्द हुने उनको अनुभव छ।

एकैदिन धेरै बिरामी हेर्दा बिरामीलाई पर्याप्त समय दिन नसकिने, अनि पर्याप्त समय दिन नसक्दा रोगको पहिचान गर्न कठिन हुने डा. अर्जुन बताउँछन्।

सामान्य भाषाको प्रयोग
चिकित्सकले बिरामीको स्वास्थ्य अवस्था तथा स्थितिका बारेमा बिरामी तथा बिरामी पक्षसँग राम्रोसँग कुराकानी गर्नुपर्ने डा. अर्जुनको सुझाव छ। तर, उपचार गरेका शतप्रतिशत बिरामीलाई बचाउन सम्भव नहुने उनी बताउँछन्।

उपचारका सिलसिलामा कतिपय बिरामीको मृत्यु हुन सक्छ। त्यसैले उपचारको क्रममा बिरामीको स्वास्थ्य जोखिम तथा जटिलताका बारेमा पनि चिकित्सकले राम्रोसँग बिरामी पक्षले बुझ्ने भाषामा भनिदिनुपर्नेमा उनी जोड दिन्छन्।

चिकित्सकले प्राविधिक भाषाको प्रयोग कम गरेर बिरामी तथा बिरामीपक्षले बुझ्ने भाषामा बुझाएको खण्डमा उपचारको सिलसिलामा बिरामीमा कुनै स्वास्थ्य जटिलता निम्तिए चिकित्सकको टिमलाई आरोप आउने सम्भावना कम हुने उनको अनुभव छ।

उनको टिमले उपचार गरेकामध्ये पनि कतिपय बिरामीको मृत्यु हुँदा मृतकका आफन्त आवेगमा आएका छन्। त्यसो त उपचारको सिलसिलामा मानवीय त्रुटी पनि हुनसक्छ। तर, कतिपय व्यक्तिले भने अस्पतालमा बिरामीको मृत्युको घटना भएपछि अस्पतालसँग पैसा माग्ने पेशा नै बनाएको देखिएको डा. अर्जुनले सुनाए।

‘त्यस्तो पेशा गर्ने विचौलिया पनि छन्’, उनले भने।

डा. अर्जुन चिकित्सा पेशा धेरै मेहनत गर्नुपर्ने दुःखको पेशा भएको बताउँछन्। संवेदनशील भएर जिम्मेवारीको भावनाले काम गर्नुपर्ने भएकाले व्यक्तिको उपचार मात्रै नभई जनस्वास्थ्यको आयामलाई पनि ख्याल गर्नुपर्ने चुनौतीसमेत चिकित्सकमा रहेको उनको बुझाइ छ।

चिकित्सा पेशा नै बजारमुखी हुँदै गएकाले सेवा भावको विषय कम हुँदै गएको उनलाई अनुभूति हुन्छ।

तर, विश्वका विकसित मुलुकको तुलनामा नेपालको स्वास्थ्य सेवा पछाडि रहेको देखिए पनि नेपालको स्वास्थ्य सेवाको क्षेत्रले उल्लेखनीय प्रगति गरेको उनले सुनाए। नेपालको चिकित्सकीय सेवाको क्षेत्र गर्व गर्न लायक किसिमले नै क्रमिक रूपमा सुधार हुँदै गइरहेको डा. अर्जुनले सुनाए।

दूरदर्शी जनशक्तिमा जोड
त्यसैगरी नेपालको उच्चशिक्षा दिन प्रतिदिन धरासायी बन्दै गएकोप्रति उनी चिन्तित छन्। भौगोलिक रूपमा ठूला दुई मुलुक चीन र भारतबीच रहेको सानो मुलुक नेपालले अझ बढी दूरदर्शी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको धारणा छ।

तर, नेपालका विश्वविद्यालयहरूले त्यस्ता दूरदर्शी जनशक्ति उपत्पादनमा खासै चासो नदिएको उनलाई लाग्छ। दूरदर्शी तथा अब्बल जनशक्ति उत्पादनका लागि आफूहरू सार्वजनिक प्रकृतिको बहुविधागत नेपाल विश्वविद्यालय स्थापनाका लागि लागिपरेका उनले सुनाए।

यो विश्वविद्यालयको विषयमा संसदमा ऐनको विषयमा छलफल भइरहेको छ। ऐन बनेपछि राम्रो विश्वविद्यालयको उत्कृष्ट प्राज्ञिक संस्थाको रूपमा स्थापना र सञ्चालन गर्ने प्रक्रियामा जाने उनले सुनाए।

डा. अर्जुन सरकारले करिब अढाइ वर्षअघि बनाएको नेपाल विश्वविद्यालय विकास समितिको अध्ययक्षको भूमिकाम समेत थिए।

१४ पुस, २०८०, १३:२२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।