चर्चा र विवादकाबीच आठ वर्षपछि कलाकारितामै फर्किए धुर्मस-सुन्तली, हिड्न थाले महोत्सव

चर्चा र विवादकाबीच आठ वर्षपछि कलाकारितामै फर्किए धुर्मस-सुन्तली, हिड्न थाले महोत्सव

काठमाडौं : कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आठ वर्षपछि मेला तथा महोत्सवमा फर्किएका छन्।

२०७२ को महाभूकम्पपछि कलाकारिताबाट टाढा रहँदै आएका उनीहरू आठ वर्षपछि पुनः कलाकारितामै फर्किएका हुन्।

कट्टेलले सामाजिक सञ्जालमार्फत आफूहरूले पोखराको १९औं लेखनाथ महोत्सवमा प्रस्तुति दिन लागेका जानकारी गराउँदै पोखरावासीलाई आमन्त्रणसमेत गरेका छन्।

नेपालमा भूकम्प आएको समयमा अमेरिकामा रहेका उनीहरू त्यसपछि नेपाल फर्किएर सामाजिक काममा व्यस्त भएका थिए।

उनीहरूले काभ्रेको पाँचखालमा नमुना बस्ती, सिन्धुपाल्चोकको गिरानचौर एकीकृत नमु्ना बस्ती र महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरेका थिए।

त्यसपछि धुर्मुस सुन्तलीले आफ्नो फाउन्डेसनमार्फत महत्वकांक्षी नमुना नेपाल निर्माणको घोषणा भव्य तरिकाले गरेका थिए। त्यसका लागि पाँच अर्बको बजेट लाग्ने अनुमान गरिएको थियो।

तर, ठूलो बजेट लाग्ने भएपछि त्यो परियोजना त्यत्तिकै होल्ड भयो। त्यसैबी नेपालले क्रिकेटमा पहिलोपटक एकदिवसीय मान्यता पायो। क्रिकेट क्रेजको बेलामा उनले अर्को परियोजना निर्माणको घोषणा गरे, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला।

भरतपुरमा निर्माण थालिएको यो परियोजना रकम अभावमा बीचमै अलपत्र पर्यो। ऋण दिएकाहरूले उनलाई घेर्न आउन थालेपछि काम नै बन्द गर्न थाले। घोषणा गरिएका सहयोग समेत भएनन्।

त्यसपछि उनले उक्त रंगशालामा निर्माणको जिम्मा भरतपुर महानगरपालिकालाई जिम्मा लगाएर त्यहाँबाट पन्छिएको हो। त्यसक्रममा उनी सर्वसाधारणबाट उठाएको रकम अपचलन गरेको भन्दै विवादमा समेत घेरिएका थिए।

यसबीचमा उनले विभिन्न सन्देशमुलक नाटक र सेन्टीभाइरस नामक फिल्म भने बनाएका थिए।

१४ पुस, २०८०, १२:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।