कर्णालीमा पहिलोपटक वितरण गरियो ‘फोर्टिफाइड’ चामल

कर्णालीमा पहिलोपटक वितरण गरियो ‘फोर्टिफाइड’ चामल

 

सुर्खेत : कर्णाली प्रदेशमा पहिलो पटक सुपथ मूल्यमा स्तरोन्नतिपछिको (फोर्टिफाइड) चामल बिक्री वितरण गरिएको छ।

आजबाट मुगुको खत्याड गाउँपालिका–११ रातापानीबाट फोर्टिफाइड चामल बिक्री सुरू गरिएको हो।

स्तरोन्नति गरिएको उक्त चामल आम सर्वसाधारणको पहुँचमा पुग्ने गरि बिक्री वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए।

उनका अनुसार वडा नम्बर ११ को रातापानी स्थित महिला उत्थान तथा कृषि सहकारी संस्थानबाट सुपथ मूल्यमा फोर्टिफाइड चामल बिक्री वितरण गरिनेछ।

आज मात्रै दुइ सय क्विन्टल चामल बिक्री भएको कम्पनीले जनाएको छ। ‘फोर्टिफाइड चामल पोषणयुक्त मानिन्छ। अहिले मगुबाट कर्णालीमै पहिलोपल्ट यो चामल वितरण सुरू गरेका हौँ’, प्रमुख मिश्रले भने, ‘आगामी वर्षमा कर्णालीको मुगु, कालिकोट, जुम्ला, हुम्ला र डोल्पामा ७४ हजार क्विन्टल बिक्री गर्ने योजना छ। यसका लागि प्रादेशिक कार्यालय र जिल्ला शाखा कार्यालयका डिपोहरूले समन्वय गर्नेछन्।’

प्रमुख मिश्रले स्तरोन्नति गरिएको चामलको महत्व र यसको उपयोगिताको विषयमा जानकारी दिँदै सदुपयोगको लागि स्थानीय जनप्रतिनिधि र उपभोक्तालाई ध्यान दिन अनुरोध गरेका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सन् २०१९ मा स्तरोन्नति गरिएको चामललाई वितरणमा ल्याउने सम्झौता भएको थियो। सोही सम्झौता अनुरूप वितरण सुरू गरिएको विश्व खाद्य कार्यक्रमका कार्यक्रम सहायक रञ्जन कपालीले बताए।

‘तराई क्षेत्रका किसानसँग अरूवा मोटा र अरूवा मकवानपुरे धान सरकारको न्यूनतम समर्थनमा खरिद गरेर बर्दियाको राजापुर स्थित खाद्य तथा व्यापार संस्थाको मिलबाट फोर्टिफाइड गरी नागरिकलाई बिक्री वितरण गरिएको छ’, कपालीले भने, ‘फोर्टिफाइड चामलमा भिटामिन र मिनिरल थपिन्छ। सरकारले तोकेअनुसार प्रतिकिलो ५७ रूपैयाँका दरले बिक्री गरिएको छ।’

नागरिकको स्वास्थ्य सुधारका लागि सुपथ मूल्यमा फोर्टिफाइड चामल बिक्री वितरण गरिएको उनको भनाई छ।

१३ पुस, २०८०, १७:२०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।