जिल्लाको आदेशमा बलात्कार मुद्दामा धरौटीमा छुटेका मार्सलले गरे आत्मसमर्पण

जिल्लाको आदेशमा बलात्कार मुद्दामा धरौटीमा छुटेका मार्सलले गरे आत्मसमर्पण

दाङ :  जिल्ला अदालतबाट धरौटीमा छुटेका बलात्कार मुद्दाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकाले आत्मसमर्पण गरेका छन्। जिल्लाको आदेश उल्टाउँदै उनलाई पुर्पक्षका लागि थुनेमै राख्न कारबाही गर्न उच्च अदालतको आदेशपछि उनले अदालतसामु आत्मसमर्पण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार मार्सलले अदालतमा सिधै आत्मसमर्पण गरेका थिए। उच्च अदालतले मार्सललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरीले धरौटीमा छुटेका उनलाई खोजी गरिरहेको थियो।

प्रहरीले खोजी गरीरहेकैबेला उनले अदालतमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। बलात्कार मुद्दामा पीडित महिलाले जिल्लाको आदेशमा चित्त नबुझेपछि उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएकी थिइन्।

जिल्ला अदालत घोराहीले मार्सल विरुद्धको बलात्कार मुद्दामा दाङ जिल्ला अदालतमा जाहेरी दर्तापछि थुनछेक आदेश गर्नेक्रममा धरौटीमा छोड्न आदेश गरेको थियो।

जिल्ला अदालतको आदेश उल्टयाउदै उच्च अदालत तुलसीपुरले थुनेर कारबाही गर्न आदेश गरेको थियो। उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन्द र न्यायाधीश अच्युतम कुमार आचार्यको इजलासले जिल्लाको आदेश उल्टाएका हुन्।

१० पुस, २०८०, १८:५५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।