म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन : राष्ट्रपति पाैडेल

म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन : राष्ट्रपति पाैडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने स्पष्ट पारेका छन्।

नेपाल उद्योग परिसंघ काेशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेकाे प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरूकाे भेलालाई सम्बाेधन गर्दै राष्ट्रपति पाैडेलले भने, ‘म तपाईँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिनेछैन।’

आफूलाई संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता गर्दै उनले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

स्वदेशमै, गाउँघरमा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर आज हाम्रा गाउँघर रित्तिँदै छन् भन्दै उनले यो स्थितिलाई रोक्नका लागि हाम्रो कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

‘कुल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरूको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजी क्षेत्रमैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ’, राष्ट्रपति पौडेलले भने।

कोशी प्रदेशको कुरा गर्दा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ देवी, बराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिर लगायतलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिनेमा विश्वास व्यक्त गरे।

७ पुस, २०८०, १६:४०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।