स्वास्थ्यमन्त्री बस्नेतका सल्लाहकार खड्काको पहुँचमा नर्सिङ अधिकृतलाई विदेश भ्रमणको सुविधा

स्वास्थ्यमन्त्री बस्नेतका सल्लाहकार खड्काको पहुँचमा नर्सिङ अधिकृतलाई विदेश भ्रमणको सुविधा

काठमाडौँ : स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकमा कार्यरत जनस्वास्थ्य नर्सिङ अधिकृत (पब्लिक हेल्थ नर्स अफिसर) पार्वती बिस्टले पहुँचका आधारमा दुई वटा देशका कार्यक्रममा गएको खुलेको छ। दुवै कार्यक्रममा शक्तिको प्रयोग गरेर उनी गएकी हुन्। विदेश भ्रमणमा जान उनलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतका सल्लाहकार विश्वरूप खड्काले सहयोग गरेको देखिन्छ।

छैटौँ तहकी विष्ट र खड्काबिच निकट सम्बन्ध देखिएको छ। उनी कार्यरत संस्थामा उनले मन्त्री बस्नेत र खड्काको नाम लिएर सिनियर अधिकृतहरूलाई समेत धम्क्याउने गरेको खुल्यो।

उकेरालाई प्राप्त तथ्य अनुसार स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले गत साउन २४ (९ अगस्ट, २०२३) मा भारतको लखनउस्थित स्वास्थ्य कार्यक्रममा जान उनलाई अनुमति (ट्राभल अर्डर) दिएको देखिन्छ।

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा औलो, कालाजार र लिम्फ्याटिक फाइलेरियासिस उन्मूलनका लागि सीमापार सहकार्य सम्बन्धी बैठकमा सहभागी हुन बिस्टलाई सिन्धुपाल्चोकका तत्कालीन स्वास्थ्य कार्यालय प्रमुख अनुप अधिकारीले अनुमति दिएका थिए।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले कार्यक्रममा जान विष्टलाई भदौ २४ गते देखि ३० गते (१० सेप्टेम्बर देखि १६ सेप्टेम्बर) सम्मलाई भ्रमण अनुमतिका लागि पत्र दिएको थियो। सो कार्यक्रम भदौ २६ देखि २८ (१२ सेप्टेम्बरदेखि १४ सेप्टेम्बर) सम्म तीन दिन भएको थियो।

सिन्धुपाल्चोकले उनलाई भारतमा हुने सो कार्यक्रममा जान अनुमति दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भदौ १ (१८ अगस्ट) मा विश्व स्वास्थ्य सङ्गठनको भारतको नयाँदिल्लिस्थित क्षेत्रीय कार्यालय दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पोनम क्षेत्रपाल सिंहलाई पत्र लेख्दै भारतमा हुने कार्यक्रममा सहभागी हुनेहरूको नाम पठाएको थियो।

कार्यक्रममा जान मन्त्रालयले बिस्टको नाम  नवौँ नम्बरमा राखेको थियो।

त्यसपछि उनी श्रीलङ्काको कोलम्बामा भएको अर्को कार्यक्रमका लागि समेत सिफारिसमा परिन् र गइन् पनि। श्रीलङ्काको कोलम्बोमा मंसिर ६ देखि ८ (२२ नोभेम्बरदेखि २४ नोभेम्बर २०२३) सम्म तीन दिन भएको ‘डिएचआइएस-२ एसिया प्यासिफिक कन्फ्रेन्स’ भएको थियो।

त्यो ‘डिजिटल हेल्थ इन्फरमेसन सिष्टम’ सम्बन्धी सम्मेलन थियो। सम्मेलनमा भाग लिन स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम) का तथ्याङ्क अधिकृत दीपक दाहाल र उनै स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी जनस्वास्थ्य नर्सिङ अधिकृत पार्वती बिस्टलाई पठाएको थियो।

सो कार्यक्रममा तथ्याङ्क अधिकृत पठाउनु स्वाभाविकै हो। तर, नर्स बिस्टलाई पठाउनुको कारण खुल्दैन।

स्वास्थ्य मन्त्रालयले कात्तिक २० (६ नोभेम्बर, २०२३) मा नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्भाजिराओ पाण्डभलाई पत्र लेख्दै यी दुई कर्मचारीलाई सो कार्यक्रममा जानका लागि नाम सिफारिस गरेको थियो।

जानकारस्रोतका अनुसार सल्लाहकार खड्काकै विशेष पहलमा बिस्ट पटक-पटक विदेश भ्रमणमा परेकी हुन्।  

बिस्ट भन्छिन्,–विश्वरूपले सबैको अगाडी प्रशंसा गर्नुभयो

नर्सिङ अधिकृत विष्टले यी दुई कार्यक्रममा गएको स्विकारिन्। आफूले ‘सर्भिलेन्स अफिसर’को रूपमा समेत काम गरेकाले विदेशका कार्यक्रममा जाने मौका पाएको उनको तर्क छ।

कोरोना भाइरसको समयमा समेत आफूले काठमाडौँमा काम गर्दा राम्रो काम गरेकैले राष्ट्रपतिबाट पदक पाएको भन्दै उनले केही वर्ष अघि चीनमा पनि तालिममा गएको बताइन्।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका सल्लाहकार विश्वरूप खड्कासँग चिनजानका कारण आफूले विदेश भ्रमणमा जाने अवसर नपाएको उनको तर्क छ।

नर्सिङ अधिकृत बिस्टले भनिन्,‘विश्वरूप खड्का सरसँग जुन कुरा गर्नुभयो। त्यो चाहिँ उहाँ (सिन्धुपाल्चोक) आएर, उहाँ आउँदाखेरि हामीले १-२ वटा प्रोग्राम यहाँ सिन्धुपाल्चोकमा गर्दाखेरि उहाँले यस्तो पनि मान्छे हुन्छ, यस्तो मेहनत गरेर खटिएर काम गर्दो रहेछ भनेर उहाँले सबैको अगाडी प्रशंसा गरेर, राम्रो काम देखेर, मलाई सिन्धुपाल्चोकको अरू प्रोग्राममा पनि हेल्प गरिदेऊ भनेर रिक्वेस्ट गर्नु भएको थियो। त्यतिमात्रै हो।’

बिस्टले कार्यालयका सिनियरहरुलाई सल्लाहकार खड्काकै नाम लिएर थर्काउने गरेको, निर्देशन अनुसार काम नगर्ने गरेको कार्यालयस्रोतले उकेरालाई जानकारी दियो।

‘उहाँ (पार्वती) पावर भएको मान्छे भन्छन्, थर्काउनुहुन्छ। काम गर्नुहुन्न। यहाँ गाह्रो छ,’ ती कर्मचारीले भने,‘झगडा गर्नुहुन्छ, सबैसँग उहाँको त्यस्तै छ।’

नर्सिङ अधिकृत बिस्टले भने आफूले कसैलाई नथर्काएको दाबी गरिन्। ‘मेरो कसैलाई थर्काउने हैसियत पनि छैन,’ बिस्टले भनिन्। आफू गत वैशाखदेखि काठमाडौँबाट सिन्धुपाल्चोकमा सरुवा भएर गएको उनले बताइन्।

काम मन्त्रीको सल्लाहकार, पारिश्रमिक बैङ्कबाट!

खड्का सल्लाहकारमा नियुक्त भएदेखि नै विवादमा आइरहेका छन्। उनी स्वास्थ्य सम्बन्धी जानकार हैनन्। उनी नबिल बैंकका कर्मचारी हुन्। सिन्धुपाल्चोककै उनी यस अगाडि मोहन बस्नेत स्वास्थ्य राज्यमन्त्री हुँदा पनि उनको सचिवालयमा काम गरेका थिए।

बस्नेत मन्त्री नियुक्त भएपछि स्वास्थ्य क्षेत्रबारे जानकारी नभएका खड्कालाई उनले सल्लाहकार बनाएका छन्। सल्लाहकार भए पनि उनले मन्त्रालयबाट पारिश्रमिक भने लिन्नन्। बैंकमा उनले बिदा लिएर आएको दाबी गर्दै सल्लाहकार भएबापत कुनै पारिश्रमिक र सुविधा नलिएको दाबी गरे।

खड्काले आफू बैङ्कको जागिरे भएको स्विकार्दै स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनबाट कुनै तलभत्ता नलिएको दाबी गर्दै भने‘(बैङ्कबाट)बिदा लिएर आउन पाइँदैन त! यता (स्वास्थ्य मन्त्रालय)बाट केही खाएको छैन।’ उनले मन्त्रालयबाट गाडी सुविधा लिएको देखियो भने बैंकमा कार्यरत नभए पनि नबिलबाटै पारिश्रमिक लिने गरेको स्रोतले बतायो।

उनले नर्सिङ अधिकृत बिस्टलाई विदेश भ्रमणमा पठाउन आफ्नो कुनै भूमिका नभएको दाबी गर्दै भने ‘त्यस्तो हैन, मेरो पहलमा हैन।'

६ पुस, २०८०, १५:५१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।