जनवरीदेखि केन्या जान विदेशीले भिसा लिनु नपर्ने

जनवरीदेखि केन्या जान विदेशीले भिसा लिनु नपर्ने

काठमाडौं : अफ्रिकी मुलुक केन्याले जनवरीदेखि सबै विदेशी आगन्तुकका निम्ति भिसा आवश्यकता खारेज गर्ने भएको छ।

केन्या जाने विदेशीले सन् २०२४ जनवरीदेखि भिसा लिनु नपर्ने भएको हो।

राष्ट्रपति विलियम रुटोले मंगलबार राजधानी नैरोबीमा आयोजित जम्हुरी दिवस वा स्वतन्त्रता दिवसको उत्सवमा यस्तो घोषणा गरे। रुटोले आउँदो जनवरीदेखि सबै विदेशी नागरिक भिसाबिना नै देशमा प्रवेश गर्ने बताए। यो कदमले पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

केन्याली नेताले भिसामुक्त नीति लागु गर्न सरकारले देशमा आउने सबै यात्रीलाई इलेक्ट्रोनिक प्लेटफर्ममार्फत पहिल्यै पहिचान गर्न डिजिटल प्लेटफर्म अपनाएको बताए।

राष्ट्रपति रुटोले २०२२ सेप्टेम्बरमा सत्ता सम्हालेपछि महाद्वीपको एकीकरण एजेन्डालाई साकार पार्न केन्या भ्रमण गर्ने अफ्रिकीका निम्ति भिसा उन्मूलन गर्न वकालत गर्दै आएका छन्।

२८ मंसिर, २०८०, १२:१५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।