चार दिनपछि उठ्यो भावनाको शव, सन्तानको संरक्षणका लागि सात लाख दिने सहमति

चार दिनपछि उठ्यो भावनाको शव, सन्तानको संरक्षणका लागि सात लाख दिने सहमति

बुटवल : बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठूलोलुम्पेकी भावना राजकोटीको शव चार दिनपछि उठेको छ।

चिकित्सक, मृतकका आफन्त, स्थानीय तहका पदाधिकारीसहित बसेको बैठकपछि सहमतिपछि भावनाको शव उठेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

अस्पताल व्यवस्थापनको स्थानीय समितिका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा बसेको बैठकले मृतकका दुई सन्तानको संरक्षणका लागि बुटवल उपमहानगरले पाँच लाख र गुल्मीको सत्यवती गाउँपालिकाले दुई लाख रुपैयाँ दिने सहमति भएको हाे।

यस्तै चिकित्सकमाथि आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी माग्ने सहमतिसमेत सर्वपक्षीय छलफलमा भएको पाण्डेयले बताए।

३२ वर्षीया भावनाको मंसिर १२ गते शल्यक्रियामार्फत बच्चा जन्माएपछि मृत्यु भएको थियो।

त्यसपछि आक्रोशित आफन्तले भावनाको मृत्यु चिकित्सकको लापरबाहीबाट भएको भन्दै चिकित्सकलाई कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गरेका थिए।

विवाद बढ्दै जाँदा मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिटसमेत गरेका थिए। त्यसपछि भावनाको शव उठ्न सकेको थिएन।

सुत्केरी ब्यथा लागेपछि मंसिर ११ गते बिहान साढे आठ बजेतिर अस्पताल लगिएकी भावनाकाे बिहान ११ः०७ बजे शल्यक्रिया मार्फत ५ किलोग्रामको छोरा जन्माएकी थिइन्।

१६ मंसिर, २०८०, ०८:५४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।