आजदेखि घरदैलो अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी

आजदेखि घरदैलो अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ।

निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको पार्टी प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्नेछ।

‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरु गरेको हो। अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन गर्ने प्रवक्ता ढकालको भनाइ छ।

‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ’, उनले भने।

यही मङ्सिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत अभियानमा सहभागी हुनेछन्।

२ मंसिर, २०८०, ११:४१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।