सियारीको पोखरीले मलेसियाको पाउरोटी उद्योग भुलेका राधेश्याम

सियारीको पोखरीले मलेसियाको पाउरोटी उद्योग भुलेका राधेश्याम

बुटवल : धान लहरिएको खेत मास्दा रूपन्देहीको मायादेवी गाउँपालिका-७ का राधेश्याम यादवलाई छिमेकीले गाली नगरेका हैनन्।

छिमेकीले ‘हुँदा खाँदाको खेत मासेर किन पोखरी खन्नुपर्यो। खेतमा धान फलेको छ र खाएका छौ। यो पोखरी खनेर उँभो लाइँन्न’ भने।

तर, पनि राधेश्याम केही गरौँ भन्ने सोचमा थिए। धानबाट हुने आम्दानीको विकल्प उनले माछामा देखे अनि पोखरी खने।

‘धानबाट हुने आम्दानी भन्दा माछाबाट हुने आम्दानी राम्रो लाग्यो। छपियाका केही गाउँमा गएर यसबारे बुझेँ। छिमेकीले यसबाट माथि उठ्न सकिँदैन भन्दा पनि मैले अटेर गरेर माछा पालन सुरू गरेको हुँ’, राधेश्यामले भने।

माछा पोखरी खन्दै गर्दा राधेश्यामले विदेश जाने सपना त्यहिँ पुरिदिए। विदेशी भूमिको श्रम, श्रमको मूल्य अनि परिवारबाट टाढिनुको पीडा उनले महसुस गरिसकेका थिए।

‘पहिलो पटक तीन वर्ष र दोस्रो पटक दुई वर्ष गरी पाँच वर्ष मलेसियाको पाउरोटी उद्योगमा श्रमिकको रूपमा काम गरेपछि नेपालमै केही गर्छु भन्ने लागेर नेपाल फर्केको हुँ’, उनले थपे।

राधेश्याम विदेशमा पुगेपछि छोराछोरीको शिक्षा दिक्षामा ध्यान दिन थाले। पहिले उनको घर मायादेवी गाउँपालिका बेथरीमा थियो। तर भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि उनको घर पनि सर्यो।

उक्त जग्गाको मुआब्जा बापत आएको रकमले उनले सियारी गाउँपालिका-२ मा जग्गा किने। विदेशबाट फर्केपछि अब विदेश नजाने सोच बनाएका यादवले खेतमा पोखरी बनाएर व्यावसायिक माछापालन सुरूवात गरेका छन्।

गाउँमै परिवारसँगै रहेर कृषि कर्ममा मिहिनेत गरिरहेका छन्। माछापालन व्यवसायले यादवको दैनिकी फेरिदिएको छ।

यादवले ३५ कठ्ठा ८ धुर जग्गामा नयाँ माछा पोखरी निर्माण गरेका हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा उनले ३ वटा पोखरी निर्माण गरेका छन्। जसमा १२ सय विभिन्न जातका माछा पालेका छन्।

सियारी गाउँपालिका-२ मा रहेको आर.आर मत्स्य तथा कृषि फार्ममा अहिले उनले २ जनालाई रोजगारी समेत दिएका छन् । यो फर्मलाई विस्तार गर्दै लैजाने उनको योजना छ।

अहिले माछासहित बाख्रा, भैँसी समेत पालेका उनले एक सय वटा बाख्रा पाल्ने योजना बनाएका छन्।

‘यसलाई विस्तार गरेर एकीकृत पशु तथा मत्स्य फार्मको रूपमा विकास गर्ने योजना बनाएको छु,’ उनले भने, ‘रकमको जोहो हुनासाथ यो काम पहिलो प्राथमिकतामा राखेर गर्छु।’

कृषि सम्बन्धी कुनै पनि कर्जा नलिएको बताउने उनी सरकारले दिएमा सहुलियत कर्जामा व्यवसाय विस्तार गर्ने तयारीमा छन्।

२२ कात्तिक, २०८०, ०९:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।