कैलाश मानसरोवर यात्रा- १० : अद्भुत दैविक दृश्य देख्दा भ्रम हो जस्तो लाग्यो, तर फोटोमै देखियो
लखर लखर बामे सर्दै बल्ल बल्ल देरापुक पुगियो। ज्यान हल्लिन पनि मानिरहेको थिएन। तै पनि ध्यान भने कहाँबाट कैलाश कस्तो देखिन्छ भन्नेमै थियो।
अहो….। देरापुक भनेको त कैलाशको आँगनै पो रहेछ। टाढाबाट देखिइरहेको कैलाश आँखैमा ठोक्कियो। ट्वाक्कै अगाडि।
गेस्ट हाउस नजिकै सानो थुम्को रहेछ त्यस्तै २ सय मिटर अग्लो। त्यहाँबाट कैलाश झन् नजिक हुने नै भयो। चुचुरोलाई बादलले घुम्टो हालिराखेकै थियो। तर जति भाग खुलेको थियो त्यो नै अद्भुत र दैविक। मनै सिरिङ भयो दृश्य देखेर। शरीरका रौँ नै टाठो हुने भन्छन् नि, हो त्यस्तै।
मनले त ‘ब्याग फालेर अहिले नै थुम्को उक्लिहाल’ नभनेको हैन। तर ज्यानले ‘पख पख हतार नगर,ढल्छस्, आराम गर’ भनिरहेको थियो। तर झ्याप्पै अँध्यारो होला भन्ने चिन्ता पनि थियो।
सरासर गेस्ट हाउसभित्र गएँ। भुईतला पुरै खाली रहेछ हलजस्तै। त्यही केही टेन्टहरू टाँगिएको थियो। एकातिर बस्न सोफाहरू राखिएको थियो। टुसुक्क त्यही सोफामा बसेँ।
गाइडहरूले पहिला नै कसका लागि कुन कोठा भनेर तय गरिसकेका रहेछन्। यहाँ चैँ एउटा कोठामा चार र छ वटा बेड रहेछ। हामी चार जना थियौँ। कोठाको चाबी आइपुग्यो।
पहिलो तलामा थियो कोठा। सरासर कोठामा गएर ब्याग थन्काएँ अनि क्यामरा बोकेर तल ओर्लिहालेँ। आत्रेय भाइ अनि श्रीमतीसँगै लागियो थुम्कोतिर।
उचाइ चार हजार नौ सय मिटर। कैलाश पर्वतको आँगनमा चिसो त हुने नै भयो। हावा चैँ अचाक्ली चल्ने रहेछ। ओठ जोगाउन मुख छोप्यो सास फेर्नै गाह्रो,खुल्ला छाड्यो सुक्खा भएर हैरान।
नाकले चैँ तलैबाट दुख दिन थालिसकेको थियो। पुरै सुक्खा, रगतै आउने। चिसो ठाउँमा ओठ फुट्नु सामान्य भइहाल्यो।
आधा घण्टाको हिँडाइपछि टुप्पामा पुगियो। ठ्याक्कै अगाडि होला कैलाश पर्वत भनेको बिचमा केही समथर भाग पनि रहेछ। उता पट्टी भने कलकल खोला बगिरहेको। सिधै कैलाश पर्वतको हिउँ पग्लिएर बगेको सानो खोला। धार्मिककोणबाट शुद्ध जल।
कैलाश पर्वत पुरै नखुले पनि दृश्य मनमोहक। विपरिततिर तल आकर्षक गुम्बा निकै सुन्दर देखिइरहेको थियो।
बिहान सूर्योदयको समयमा घामका किरण कैलाश पर्वतमा पर्दा यहीँ हो गोल्डेन कलर देखिने। हामी पुग्ने बेलामा सूर्य अस्ताउने तर्खरमा थिए। गोल्डेन कैलाश दर्शन गर्न भोली बिहान मात्र सम्भव थियो। तर पर्वत परिक्रमाको समय तालिका घाम उदाउनु अगाडि नै गेस्ट हाउसबाट हिँड्नुपर्ने थियो। देरापुकबाट परिक्रमाका लागि हिँडेपछि कैलाश पर्वत देखिन दार्चेनै पुग्नुपर्ने।
कैलाश पर्वतको परिक्रमा मानसरोवरबाटै सुरु हुने मान्यता रहेछ। देरापुकसम्म पुग्दा तीन चौथाइ भागको परिक्रमा हुने रहेछ। धार्मिक मान्यता अनुसार शिवको पुरै परिक्रमा गर्न हुन्न भन्ने पनि रहेछ। त्यसैले धार्मिक आस्थाको आधारमा देरापुकबाट दार्चेन फर्किए पनि तीर्थ पूर्ण भएकै मानिने।
देरापुकबाट डोल्माला पिक(५ हजार ६ सय ३० मिटर) पार गरेपछि आउने गौरीकुण्डहुँदै मानसरोवर आइपुगेपछि परिक्रमा पूर्ण हुने मान्यता पनि छ।
यसका लागि ठ्याक्कै दुई दिन हिँड्ने कार्य तालिका थियो।
अब कैलाश पर्वतको आँगनमा आइपुगेर तस्बिर नखिच्ने भन्ने हुन्छ र! फोटो सेसन सुरु भयो।
हामी यता फोटो खिच्नतिर लागिरहेकै थियौँ। तलबाट वैकुण्ठ दाइ अर्की तीर्थयात्रीसँगै उकालो लाग्नुभयो। सँगै केही विदेशीहरू पनि थुम्कोमा देखिए। अलि पर टेन्टहरू राखिएको थियो। गोठालोहरू बस्ने ठाउँ रहेछ क्यार भनेको त्यही विदेशी यात्रुका लागि पो टेन्ट बनाएका रहेछन्। उनीहरू दार्चेनमा भेट भएको जर्मन टोली नै थियो।
बिस्तारै अँध्यारो बढ्दै गयो। कैलाश पर्वतले पनि आफ्नो रूप बदल्दै गयो। पर्वतमा विभिन्न आकृतिहरू देखिन थाल्यो। साँच्चै देखिएको हो या भ्रम हो भन्दै भिज्योल खिचेको हो रैछ।
अद्भुत दृश्य। पत्याउने कि नपत्याउने!
कसै-कसैले मात्र त्यस्तो दृश्य देख्न पाउँछन् भन्ने धार्मिक विश्वास धेरै सुनियो। तर थुम्कोमा पुगेका सबैले ती दृश्य देख्न सके। तस्बिरमा पनि देखियो। अनि भिज्योलमा त झन् प्रस्ट। बैकुण्ठदाई हात जोडेर शिवस्त्रोत पाठ गर्न थाल्नुभयो।
‘जाऊँ जल लिन’
वैकुण्ठ दाइँसँगै आउनुभएको तीर्थयात्रीले बोतल पनि बोकेर आउनुभएको रहेछ। पानी बगेको आवाज त सुनिइरहेको थियो तर कतातिर हो ठ्याउन गाह्रै थियो।
दुबैजना जल लिन उकालो लागेपछि हामी भने ओरालो लाग्यौँ। सय मिटर जतिको दुरीमा खोला भए पनि जाने हिम्मत आएन। स्वास्थ्य गडबड भयो भने त परिक्रमा गर्न सकिन्न भन्ने पनि थियो मनमा।
देरापुक जान दार्चेनबाट हिँड्दा नै हल्का टाउको दुखेको थियो। सायद चिसोले होला भन्ने भयो। बिच बाटोमा प्यारासिटामोल खाएको थिए। तर मन्द दुखाई कायमै थियो। गेस्ट हाउस आइपुगेपछि भने दुखाइको रफ्तार बढिरहेको थियो।
गेस्टहाउस भित्र तातै थियो। चिसोले त हैन भन्ने भइहाल्यो। कतै अक्सिजन नपुगेर पो हो कि!
टोलीमा रहेका स्वास्थ्यकर्मीलाई समस्या भने। उनले अक्सिमिटर ल्याएर हेरे। ८२ देखियो। ठिकै छ त! किन यसरी दुखेको त!
खाना खाइयो दबाएर। जतिमाथि गयो त्यति खाना रुच्दैन भनिरहेका थिए। मलाई भने खाना र निन्द्रामा त्यस्तो प्रभाव परेको थिएन। केही गफगाफतिर लागेका थिए। अधिकांश भने कोठामा पुगिसकेका थिए। प्यारासिटामोलको अर्को ट्याब्लेट निलेर हाम्रो टोली कोठातिर लाग्यो।
कोठामा गनगन गर्ने मुडमा कोही पनि थिएन। तातो बनाउन मिल्ने इलेक्ट्रिक ब्ल्याङकेट थियो गेस्ट हाउसमा।
सुत्ने तर्खर गर्दागर्दै कटक्क पेट पो काट्यो। पहिला नै मानसरोवर अनि देरापुकमा शौचालय गतिलो छैन भनिसकेका थिए।
अब यस्तोमा खुल्ला शौच!
केही समय त सहेरै बसेँ। तर पेट घोच्नेक्रम बढेकाले बाहिर ननिस्की सुखै पाइएन।
कोठाबाट बाहिर निस्कँदा एक जनाले ठुलो ड्रम बोकेर गएको देखेँ। के रहेछ भन्ने जिज्ञासा लागेर यसो हेरेको केटा र केटीको साइन पो देखियो।
शौचालय रहेछ कि क्या हो भनेर अलि भित्र छिरेको त हो रैछ। रैछ त शौचालय, किन छैन भनेका होलान्?
कतै गेस्ट हाउसमा बस्नेले प्रयोग गर्न नपाउने पो हो कि भनेर केही समय उभिएरै बसेँ। अन्य तीर्थयात्रीहरू आउने-जाने गरिरहेपछि जे त पर्ला भनेर भित्र छिरेँ।
OOO
देरापुकसम्म हाम्रो समूहका ४७ जना पुगे पनि सबै जना कैलाश परिक्रमामा जाँदैनन् भन्ने पक्का थियो। आधा परिक्रमामा गए भाग्य!
त्यसको सङ्केत बेलुकै आइसकेको थियो। बिहान पाँच बजे परिक्रमा गर्न तल हलमा जम्माहुँदा त्यस्तै देखियो। ४७ जना आएकोमा परिक्रमामा जान उठ्नेमा जम्मा २४ जना मात्र।
ब्याग आफैँले बोके पनि भयो। बोक्न नसक्नेहरूका लागि ब्याग बोकिदिनेहरू पनि थिए। शुल्क प्रतिब्याग २ सय युआन।
ब्याग चैँ दिऊँ कि क्या हो भन्ने नलागेको पनि हैन। तर ब्यागसँगै क्यामरा पनि दिनुपर्यो। हिँड्दा क्यामरा हातमा बोक्ने वा घाँटीमा झुन्ड्याउन त सम्भव थिएन। सकिएला अब त भनेर दिइन ब्याग।
घोडाको सुविधा पनि थियो। पहिला नै गाइडहरूले ब्रिफिङमा घोडा चढ्दा धेरै दुर्घटना भएर यात्रीहरू घाइते भएको सुनाउँदै सके हिँड्ने, नसके बरु फर्कन सुझाव दिएका थिए। बाटो चिप्लो अनि अप्ठ्यारो। ठाडो उकालो भएकाले घोडा चढ्ने तीर्थयात्रीहरू लड्ने रहेछन्।
हल्का राराको सम्झना मिसाए है।
रारा जाँदा घोडा चढ्न चेतिसकेको थिएँ। ‘चढ्न नजानेको व्यक्ति म माथि चढ्न आँट्यो है भन्ने थाहा पाइहाल्दो रहेछ घोडाले।
राराको यात्रामा समूह छाडेर आफ्नै तालमा हिँड्दा हराएको थिएँ। यता गए पनि गेस्ट हाउस भेटिन्न, उता गए पनि भेटिन्न। मोबाइल पनि घरी लाग्ने, घरी नलाग्ने। हिँड्दाहिँड्दै बस्ती आइपुगेपछि त्यतै बास बस्ने सुर कसेको थिए मोबाइलमा टावर देखायो।
फोन गरेर लोकेसन दिएपछि केही समयमै घोडा आइपुग्यो। चट्ट मिलाएर घोडा चढ्छु भनेर खुट्टा अड्काउने अङ्कुसेमा खुट्टा के राखेको थिए घोडा त बुरुक्क उफ्रिएर घुमेको घुम्यै। मेरो खुट्टा अङ्कुसेमा अड्किहाल्यो। धन्न घोडा आँगनमा घुमिरहेको थियो। फनफनी चार फन्काजति आँगन घुमाएपछि बल्ल अड्किएको खुट्टा निस्कियो। ओरालोतिर घोडा दौडिएको भए त टाउको के बाँकी रहन्थ्यो र! आँगनमा घिसारिँदै फन्को मार्दा त हातभरि दर्फराएको थियो। अब त्यहाँ घोडा चढ्ने हिम्मत कहाँबाट आउनु।
मैले मात्र हैन हाम्रो समूहको कसैले पनि घोडा चढेन। नआँट्ने वा शरिररले साथ नदिएकाहरू गेस्ट हाउसमै बसे। शरीरले साथ दिएर आँट्नेहरू पैदलै जान कक्सिए।
सुप लगायतका हल्का खाजाको व्यवस्था रहेछ बिहानका लागि। अनि बाटोमा खान उही दार्चेनबाट आउँदाको शैलीमा प्याकेट। प्याकेटमा केक, जुस, स्याउ लगायत खिच्रिङ-मिच्रिङ।
खाजा खाएपछि परिक्रमामा जानेहरू बिस्तारै गेस्टहाउसबाट बाहिर निस्किए। बाहिर त अँध्यारै रहेछ।
टाउको अनि हातमा रहेका टर्चलाइटहरु पल्याकपुलुक बल्न थाले।
मानसरोवर-कैलाश लैजाने समूह निकै अनुभवी थिए। उनीहरू छरिएर बसे हाम्रो समूहमा। सबैभन्दा अगाडि एक जना। पाँच-छ जनाको बिचमा अर्को गाइड। अनि अन्त्यमा अर्को।
छिटो हिँड्ने,मध्यम हिँड्ने अनि ढिला हिँड्ने तीनै तहका पैदल यात्रीका लागि व्यवस्था गरेका थिए। ‘जति ढिला हिँडे पनि गाइडसँगै हुन्छ। नआत्तिनु हैँ’ भनेर पहिल्यै भनिसकेका थिए।
सबै तयारी अवस्थामा।
गेस्ट हाउसबाट निस्कँदा पनि यसो मुन्टो बटारेर एकलट कैलाश पर्वततिर नजर भने लगाइहाले।
कैलाश मस्त निन्द्रामै रहेछन्। देखिएन।
कैलाश-मानसरोवर यात्रा
असोज ३०, २०८० मंगलबार २१:२८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।