ब्याच नम्बर ६९ : न्यायाधीश मार्ने पेस्तोल ललितपुर प्रहरीमा थन्किएर बस्या रैछ, सीआईबी प्रमाण खोज्याखोज्यै

ब्याच नम्बर ६९ : न्यायाधीश मार्ने पेस्तोल ललितपुर प्रहरीमा थन्किएर बस्या रैछ, सीआईबी प्रमाण खोज्याखोज्यै

सर्वोच्च अदालत न्यायाधीश रणबहादुर बमको हत्या हुँदा उपेन्द्रकान्त अर्याल केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख थिए। हाइ प्रोफाइल व्यक्तिको हत्या भएपछि उनी शंखमुलको घटनास्थलमै पुगे। पत्रकारहरूले घेर्ने भइहाले। ‘हत्यामा संलग्न कहिले पक्राउ पर्छन्’ भनेर सोध्ने भइहाले। अर्यालले ‘छिट्टै’ भन्ने उत्तर दिए।

अपराध अनुसन्धानबारे भविष्यवाणी गर्न सकिन्न। कुनै अनुसन्धान एकै दिनमा नि सकिन्छ, कुनै वर्षौं लाग्छ। तर ‘छिट्टै’ भन्ने उत्तर प्रहरीको थेगो नै हो। मैले पनि भन्ने ‘अनुसन्धान भइरहेको छ। हामी छिट्टै अपराधीसम्म पुग्छौँ’ भन्ने नै हो।

अनुसन्धान जटिल छ। हामी प्रयास गर्छौँ। यति नै समय लाग्छ भन्न सकिन्न जस्ता शब्द प्रयोग हुन्न। किनकि जो फरार अपराधी हुन्छन् उनीहरूले कहीँ न कहीँबाट प्रहरीले के गरिरहेको छ भनेर निगरानी गरिरहेको हुन्छ। त्यसैले प्रहरीले कन्फिडेन्स देखाउनैपर्छ। त्यसैले जस्तो जटिल अपराध भए पनि अनुसन्धान छिट्टै सकिन्छ भन्ने हो।

अनुसन्धान गर्न दुई वर्ष सात महिना लाग्यो। यसबीचमा अर्याल डीआईजीबाट एआईजीहुँदै आईजीपी भइसकेका थिए। आईजीपी भएपछि पनि बम हत्या अनुसन्धानमा उनको विशेष चासो थियो।  जब बाबु थापासहित बम हत्यामा संलग्न चार जना पक्राउ परे, अर्याल निकै खुसी थिए।

उनले ‘घाँटीको काँडा निस्किए जस्तै आनन्द भयो’ भने।

बाबु थापा पक्राउ परेको समाचार त बाहिरिइसकेको थियो। तर, पक्राउका आधारमा अनि प्रहरीले सङ्कलन गरेको प्रमाणबारे सञ्चारकर्मीहरू जानकार थिएनन्। उनीहरूबाट तारन्तार फोन आउनु सामान्य नै हो। रणबहादुर बमको हत्यादेखि नै विशेष चासो थियो यो घटनामा। अब घटनामा संलग्नहरू नै पक्राउ परेपछि थप चासो बढ्ने नै भयो।

यस्तो घटनाको तथ्य जति चाँडो औपचारिक माध्यमबाट सार्वजनिक भयो त्यति राम्रो। समय लम्बियो भने अनुमानहरू बढ्न थाल्छन्। सत्य एकातिर अनि सन्देश अर्को जान सक्छ।

प्रहरी महानिरीक्षक अर्यालसँगको सल्लाहमा पत्रकार सम्मेलनको तयारी गर्यौँ। पत्रकार सम्मेलनमा जति सक्दो धेरै तथ्यहरू सार्वजनिक गर्ने हाम्रो तयारी थियो।

अपराध अनुसन्धानको पक्राउको चरण भनेको प्रारम्भिक चरणै हो। तर, यसमा टन्न अनुसन्धान भइसकेकाले प्रारम्भिक चरण भन्न अलि मिल्दैन। पहिला पक्राउ अनि अनुसन्धान नभएर यसमा अनुसन्धान अनि पक्राउको प्रक्रिया अपनाइएको थियो। पक्राउ परेकाहरू नै रणबहादुर बम हत्यामा संलग्नहरू हुन् भन्नेमा कुनै शङ्का थिएन।

पत्रकार सम्मेलन सीआईबीको महाराजगन्जको कार्यालयमा हैन, प्रहरी प्रधान कार्यालयमा हुने भयो। त्यो पनि प्रहरी महानिरीक्षकसहितको उपस्थितिमा। कार्यालय प्रमुखको रूपमा यो भन्दा अर्को खुसी के हुन्छ र!

हेडक्वाटरको ठूलो हलमा पत्रकार सम्मेलन आयोजना गरियो। हल पूरै पत्रकारले भरिएको थियो। उनीहरूको नजर जिज्ञासु थियो। मञ्चमा प्रहरी प्रमुख अर्यालसँगै एआईजी सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, देवेन्द्र सुवेदी लगायतका उच्चपदस्थ प्रहरी अधिकृतहरू थिए। पत्रकार सम्मेलनको प्रारम्भ नै आईजीपी अर्यालबाट भयो।

अर्याल आफैँमा अपराध अनुसन्धानबारे जानकार अनि विभिन्न कार्यालयको प्रमुख हुँदा गम्भीर अनुसन्धानको नेतृत्व पनि गरेका प्रहरी अधिकृत। अपराधको प्रकृति र अनुसन्धानको शैली नबुझ्ने कुरै भएन। अर्यालले यो अपराध अनुसन्धानलाई आफ्नो जीवनकालमा भएका अनुसन्धानमा सबैभन्दा धेरै साधन र स्रोत प्रयोग भएको अनुसन्धान भएको बताए।

उनले पत्रकार सम्मेलनमा बाबु थापासहितको समूह पक्राउ पर्दा ‘प्रहरीको  घाँटीको काँडा निस्किए जस्तै भएको’ दोहोर्याए। हुन पनि हाम्रो अवस्था घाँटीमा काँडा अड्किएको व्यक्ति जस्तै भएको थियो। बहालवाला न्यायाधीशको हत्याको घटनाको अनुसन्धान सफल नहुँदा छटपटी हुनु स्वाभाविकै हो।

उनले आफ्ना धारणा राखेपछि अनुसन्धानको निचोड सार्वजनिक गर्ने जिम्मा मलाई दिए। पहिला  त पत्रकार सम्मेलनमा बोल्न डर लाग्थ्यो। तर, अपराध महाशाखा अनि सीआईबीमा बोल्दा-बोल्दा बानी परिसकेको थियो। कुन पत्रकारको गुदी कस्तो छ अनि कस्ता प्रश्न सोध्छन् भन्नेसम्म अनुमान गर्नसक्ने भइसकेको थिएँ।

कसले अनि किन योजना बनाए? को-को संलग्न देखिए अनि पक्राउको आधार के हो भन्ने नै खोज्ने त हो पत्रकार सम्मेलनमा। अनुसन्धानमा देखिएका जुन तथ्यहरू सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुँदैनथ्यो ती सबै सार्वजनिक भयो। हत्याको कारण के हो?

अझै पनि केही पत्रकारमा बाबुले नै हत्या गरेको हो त भन्ने शङ्का देखियो। बाबु पत्रकारहरूका लागि पनि नौला व्यक्ति थिएनन्। नेताका रूपमा उनी समाचारमा आइरहेका व्यक्ति नै हुन्। त्यसमा चुरेभावरका नेता।

अलि-अलि शङ्का हुनु सामान्य नै हो। शङ्का गर्नु पनि पर्छ। पत्रकारको काम प्रहरीले जे भन्यो त्यही मात्र पत्याउने हैन पनि। आफ्नो पक्षबाट पनि सार्वजनिक भएका दाबी, प्रमाण अनि आफ्नो स्रोत भए स्रोत लगाएर प्रहरीको दाबीको पुन: परीक्षण गरेकै राम्रो।

तर, यसमा शङ्का गर्नुपर्ने गहिरो कारण थिएन। किनकि यसपटक प्रहरीले ‘बोलिहाल्छ कि समातेर हेरौँ न!’ भनेर बाबु र उनको समूहका सदस्य समातेको थिएन। प्रमाणसहित समातिएको थियो र बाबुसहितको समूहले नै स्वीकार समेत गरिसकेको थियो। प्रहरीसँग प्रमाण पनि टन्नै थियो। हत्याको कारणको जवाफ पनि थियो।

त्यसैले पत्रकारको पूरक प्रश्नहरूको उत्तर दिन र उनीहरूको मनमा रहेको शङ्का हटाउन त्यति धेरै मिहेनत गर्नुपरेन। मिडियाले राम्रै कभर गरे समाचार। प्रहरीले स्याबासी पाउन थाल्यो।

OOO

बाबुसहित चार जना पक्राउ परिसकेपछि दुई काम अझै बाँकी थियो प्रहरीको। एउटा वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सञ्जय इस्माली मगरलाई नेपाल ल्याउनू अनि अनि अर्को चैँ बम हत्यामा प्रयोग भएको हतियार फेला पार्ने।

घटनास्थलमा गोलीको खोकासँगै बमको शरीरमा रहेको बुलेट पनि निकालिएको थियो। खोकाको आधारमा कुन पेस्तोल प्रयोग भएको पत्ता लगाउन सकिन्छ।

प्रहरी हिरासतमा आइसकेका थापासँग प्रहरीको टोलीले बयान लिनेक्रममा हतियारबारे सोध्ने नै भयो। उनले न्यायाधीश बम हत्याको योजना बनेपछि भारतको बेतियाबाट प्रति पेस्तोल १२ हजार भारतीय रूपैयाँमा दुई वटा ‘मेड इन रसिया’, एउटा ‘मेड इन इटाली’ र एउटा ‘मेड इन जर्मन’ लेखिएको पेस्तोल किनेको दाबी गरे।

पहिला घरेलु हतियार हुन्थे। अहिले भारतमा यस्तै अन्य देशको नाम लेखिएका हतियारहरू गैर कानूनी फ्याक्ट्रीमै बन्छन्। नेपालमा फेला परेका ‘मेड इन अमेरिका’ लेखिए पनि ती भारतमा बनेका हतियार हुन्छन्।

उनले ल्याएको हतियारको सङ्ख्या खुलाए तर उनीसँग हतियार फेला परेन। न त पक्राउ परेका अन्य कसैसँग हतियार फेला पर्यो।

पहिलो पटक प्रहरीले शङ्का लागेर उनलाई सोधपुछमा बोलाएको बेलासम्म हतियार उनीसँगै रहेछ। जब प्रहरीले बोलायो अनि डराएर उनले काभ्रेका मिलन लामा र पोखराका रिद्धबहादुर थापालाई हतियार राख्न दिएको भने।

हामीसँग गोलीको खोका र गोली पनि थियो। हतियार फेला परे त्यही प्रयोग भएर न्यायाधीश बमको हत्या भएको हो हैन विधि विज्ञानमा परीक्षण गराएर प्रमाणित गर्न सकिन्थ्यो। ती हतियार फेला पार्ने चुनौती थपियो।

नाम आएपछि अब यी दुवै जनाको खोजी गर्ने जिम्मेवारी थपियो। खोज्दै जाँदा रिद्धबहादुर २०७० असोज १२ देखि कास्कीको प्रहरीले पनि हातहतियार तथा खरखजाना अभियोगमा खोजी गरिरहेका व्यक्ति रहेको खुल्यो।

हेम्जा-६ मा रहेको सुजन रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर २ मा छापा मार्ने क्रममा ‘मेड इन रसिया’ लेखिएको पेस्तोलसहित तीन जना समातिएका रहेछन्। तर, उनी चैँ फरार। पेस्तोल जिल्ला प्रशासन कार्यालयमा राखेको छ भन्ने खुलेपछि झिकायौँ।

अर्को लामा पनि अवैध हतियारमै पक्राउ परेर नक्खु जेलमा रहेछन्। पेस्तोल ललितपुर प्रहरीसँग रहेछ। त्यो पनि मगायौँ।

घटनास्थलमा ७ दशमलव ६५ को खोका फेला परेकाले कुन प्रकारको पेस्तोल प्रयोग भएको थियो भन्ने थाहा भइहाल्यो। यो आकारको गोली त्यति पाइँदैन।  मान्छेको फिङ्गर प्रिन्ट भनेजस्तै हरेक हतियारको फाईरिंङ पिन र ब्यारेकको चिन्ह फरक फरक हुन्छ। गोली प्रहार गर्दा त्यसमा गोलीको बुलेटमा पर्ने धक्काले त्यसमा सङ्केत बन्छ। त्यो हरेक हतियारपिच्छे फरक हुन्छ।

पेस्तोलमा गोली राखेर प्रहार गरेपछि खोकामा बन्ने चिन्हको आकारमा घटनास्थलमा प्रहार भएको हतियार हो या हैन भनेर थाहा पाउन गोली चाहियो। त्यो पेस्तोलमा लाग्ने गोली नेपालमा फेला पर्ने सम्भावना थिएन। यो न प्रहरीसँग थियो न सशस्त्र वा सेनासँग। यो भारतमा मात्र पाइन्थ्यो।

भारतबाट केही थान गोली ल्याउन सकिएपछि दुवै पेस्तोलको परीक्षण भयो। कास्कीको पेस्तोल घटनामा प्रयोग भएको देखिएन। ललितपुरको पेस्तोल घटनास्थलमा प्रयोग भएको पुष्टि भयो।

घटना भएको स्थान ललितपुरै थियो। ललितपुरले नै लामालाई पक्राउ गरेको थियो। जसले लामालाई पक्राउ गरेको थियो उसले अलिकति दिमाग लगाएर कतै यो हतियार न्यायाधीश बमको हत्यामा प्रयोग भएको त हैन भन्ने शङ्का मात्र गरेर परीक्षणका लागि पठाएको भए सायद अनुसन्धानका लागि यति लामो समय लाग्दैनथ्यो कि!

करण चौधरीहरू पनि बम हत्यामा संलग्न रहेको शङ्कामा समातिएका हैनन् नि! उनीहरू चोरीको आरोपमा समातिएका थिए। तै पनि त्यहाँका प्रहरीले शङ्का गरेर अन्य अपराधमा पनि संलग्न छन् कि भनेर सामान्य कुराकानी गरे जस्तै गरेर सूचना लिँदा बाबुबारे थप जानकारी खुलेको थियो।

तर, ललितपुरको टोलीले शङ्का गरेनन्। यो व्यक्तिको स्वभाव र अनुसन्धान गर्ने शैलीमा पनि भर पर्छ। यसो हेर्दा सामान्य बानी लागेपछि यो अनुसन्धानको विशेष सीप पनि हो। तर, लामा जुन आरोपमा पक्राउ परेका त्यसैमा केन्द्रित भएर ललितपुरले अनुसन्धान सक्काएका रहेछन्। पेस्तोलबारे विस्तृतमा खोजी नै भएनछ।

हतियारबारे अलि कसेर सोधेको भए बाबुको नाम आउँथ्यो। पेस्तोल परीक्षणबाट घटनामा प्रयोग भएको हतियार भन्ने पुष्टि भइहाल्थ्यो। अनि लामामार्फत नै बाबुसम्म सहजै पुग्न सहज हुन्थ्यो।

अझ करण चौधरीले त मौखिक प्रमाण मात्र दिएका हुन् पहिला। त्यो गलत पनि हुन सक्थ्यो। तर, अनुसन्धानले पछि पुष्टि भयो। अनि बाबुसम्म पुग्न सहज पनि भयो। यता हतियारै प्रमाणित भएपछि अन्य बहाना बनाउने त सम्भावनै थिएन।

अदालतमा मुद्दा पुग्नु अगाडि हतियार फेला पार्नुपर्ने चुनौती थियो। उता ललितपुरमा प्रमाण थन्किएर बसेको रहेछ। यता सीआईबी टोली त्यही प्रमाण खोज्न रन्थनिएको रन्थन्यै।

अनुसन्धानमा समय लामै लागे पनि हत्यामा संलग्न ६ जनाको पहिचान भयो अनि हतियार व्यवस्थापन गर्ने र हतियार पनि फेला पर्यो। प्राविधिक परीक्षणबाट आएको प्रमाण थियो नै।

त्यसमा उनीहरूको बयान लगायतले मुद्दा प्रक्रियाका लागि पर्याप्त प्रमाण फेला परिसकेको थियो। अबको प्रक्रिया भनेको प्रस्तावित राय सुझाव लेखेर जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउने न हो। यी सबै काम सकियो।

अबको चुनौति साउदी अरब पुगेका मगरलाई नेपाल ल्याउनु थियो। जसरी पनि।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

असोज २५, २०८० बिहीबार १४:०३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।