ब्याच नम्बर ६९ : प्रधानमन्त्री पत्नीले ‘गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि!’ भन्दै थर्काएपछि...

ब्याच नम्बर ६९ : प्रधानमन्त्री पत्नीले ‘गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि!’ भन्दै थर्काएपछि...

एक दिन मर्निङवाक गर्दैगर्दा एक प्रहरी महानिरीक्षकज्यूले फोन गरेर भेट्ने इच्छा व्यक्त गर्नुभयो। मैले अवकाश पाइसकेको थिएँ त्यो बेला। महानिरीक्षकको नामचाहिँ उल्लेख नगरौँ। किनकि मेरो यो अनुभव व्यक्तिकेन्द्रित हैन, प्रवृत्तिकेन्द्रित गर्न मन लाग्यो।

विहानको हिँडाइ सकिएपछि सीधा घर आएँ अनि स्कुटर निकालेर प्रहरी महानिरीक्षकको निवासतिर लागेँ। नक्सालको प्रहरी प्रधान कार्यालयसँगै छ आईजीपी निवास। मेरो बसाइ पनि नजिकै नै भएकाले त्यहाँ पुग्न त्यति समय लागेन।

विहानको चियासँगै गफगाफ सुरु भयो। प्रहरीका नयाँ गतिविधिसँगै कुरैकुरामा राजनीतिक गफ हुने नै भए। किनकि प्रहरीको कामको विवेचना गर्दा राजनीतिक गफ नगरी पूरै हुँदैन।

सत्तामा रहेका अनि नरहेकाहरूले कस्तो व्यवहार गर्छन्, कस्तो आग्रह अनि दबाब दिन्छन् भन्नेमा प्रहरीको गतिविधि धेरै निर्भर रहन्छ। यो सत्य हो। प्रहरी संगठन प्रमुखले मात्र चाहेर केही हुन्न। कहिलेकाहीँ परिवारको सदस्यको व्यवहारले पनि त्यसमा फरक पार्छ नै।

अगाडि ‘जय नेपाल’ हाने पनि पछाडि धारे हात लगाउने पक्का। त्यसले माथिल्लो दर्जामा पुग्नु अनि दर्जा जे भए पनि सम्मान कमाउनु फरक विषय हुन् भन्ने बेलैमा अनुभव भयो।

गफैगफमा झट्ट ढोकामा उभिइरहेका एक प्रहरीतिर मेरो नजर गयो। अनि कुनै समय त्यहाँ उभिएका एक प्रहरीले आईजीपीको निवासतिर फर्किएर धारे हात लगाएको दृश्य फिल्मी रिलझैँ सरर मस्तिष्कमा घुम्यो। त्यो दृश्यताकाका तत्कालीन प्रहरी महानिरीक्षकको श्रीमतीको व्यवहार सम्झिएँ।

मैले धेरै प्रहरी महानिरीक्षकहरूको संगत गरेँ, संगठनमा हुँदा पनि अनि अवकाशपछि पनि। सबैका परिवारका सदस्य त्यस्तै हुन्छन् भन्ने हैन। तर, कुनै-कुनैको व्यवहार अहिले सम्झँदा पनि दिङदिङ नै लाग्छ।

त्यस्तै एक जना आईजीपीको श्रीमतीको प्रसंग। उहाँलाई श्रीमानको शक्ति, प्रहरीभित्रको हिसाब किताबमा निकै चासो हुने। श्रीमान् हैन कि आफैँ आईजीपी भएको भ्रम धेरै। व्यवहार उस्तै।

प्रहरी महानिरीक्षकज्यूलाई निवासमा आफ्ना गुनासा सुनाउन, चाकडी गर्न भेट्न जानेहरू हुन्छन् नै। कोहीकोही कुनै समस्याबारे छलफल गर्न पनि पुग्छन्। प्राय यस्तो समय बिहानीपख हुन्छ। निश्चित समय नै तोकिएको हुन्छ भेटको।

संगठनका सदस्यहरूको पिरमर्का वा भेटघाटका लागि एक कोठामा आईजी बस्नुहुन्थ्यो। त्यही कोठाको नजिकै अर्को कोठामा उहाँको श्रीमती गजधम्म भएर बस्ने। को-को भेट्न आयो सबै विवरण लिएरै बस्ने।

अब त्यसमा सरकारमा सहभागिता नै नभएको प्रधानमन्त्री पत्नीको के भूमिका! ल भूमिका नै भए पनि आईजीपीलाई किन भनिरहनुपर्यो!

आईजीपी मात्र भेटेर जो बाहिरियो त्यसको दुःखको दिन सुरु भयो। आईजीपी निवासमा जानेहरूले उनलाई पनि अनिवार्य भेट्नैपर्थ्यो। त्योचाहिँ पूरै चाकडीका लागि। दर्शनभेट गरेर मात्र नहुने खुसी नै पार्नुपर्ने। जसले खुसी पार्न सकेन त्यो कि लखेटिने पक्का कि उसको करिअरै धरापमा पर्ने।

उहाँ कोसेलीको खुबै आश गर्ने। राम्रो कोसेली पाइएन भने श्रीमानलाई नै थर्काउने। कसले कति कमायो अनि कसले के किन्यो भन्नेमा पनि निकै चासो। अब उठतीपुठ्ती नहुने त कुरै भएन। क्वाटर होस् या जिल्ला भ्रमण, उद्देश्य त्यो पनि उत्तिकै।

जिल्लामा गएको बेला जिल्ला, थाना, अञ्चल, प्रदेश प्रमुखको कोठा निरीक्षण गर्ने र सोफा, खाट अनि गद्दासमेत मागेर लगेकोसम्म सुनेको थिएँ मैले। प्रहरी कर्मचारीहरूबाट सुनेका विवरणहरू कति त लेख्न पनि लाजै लाग्छ।

त्यस्तो व्यवहार गर्नेलाई प्रहरी कर्मचारीले सम्मान गर्दैनन्। तर अब श्रीमान् प्रहरी प्रमुख भएकाले अगाडि चाकडी त बजाउनैपर्यो। नत्र आफ्नो करिअरकै बाजा बज्छ। अगाडि ‘जय नेपाल’ हाने पनि पछाडि धारे हात लगाउने पक्का। त्यसले माथिल्लो दर्जामा पुग्नु अनि दर्जा जे भए पनि सम्मान कमाउनु फरक विषय हुन् भन्ने बेलैमा अनुभव भयो।

तर यो प्रवृत्ति प्रहरी संगठनमा मात्रै हैन। अन्त पनि छन्। ए श्रीमतीलाई पो दोष दिएको नभन्नुहोला। सबै उस्तै हुन्नन् थाहा छ। तर केही त त्यस्तै छन् पनि।

म पुन: प्रहरी महानिरीक्षकज्युसँगको भेटतिर फर्किए।

कुरैकुरामा उहाँले प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीसँग भएको भेटको प्रसंग सुनाउनुभयो। प्रधानमन्त्रीसँग कुरा गर्दा प्रधानमन्त्री पत्नी पनि सँगै हुनुहुँदो रहेछ। प्रहरी संगठनको अवस्था र अन्य सांगठनिक र प्रशासनिक विषयबारे आईजीपीको ब्रिफिङ सकियो।

कुरैकुरामा प्रधानमन्त्री पत्नीले एक्कासि ‘आईजीसाप, अहिलेका गृहमन्त्री अनि गृहसचिव त मैले बनाएको हो नि!’ भन्नुभएछ।

गृहमन्त्री सरकारमा रहेको दलमध्येबाट कुनै बन्छन् अनि गृहसचिव प्रशासनिक प्रक्रियाबाट प्रधानमन्त्री या गृहमन्त्रीले चाहे अनुसार बन्छन्।

यदि शासन सत्तामा रहेकाहरूले हस्तक्षेप नगर्ने हो भने अनुसन्धान, प्रमाण संकलन अनि प्राप्त प्रमाणको आधारमा जुनसुकै ओहदामा रहेका व्यक्तिहरूलाई पनि पक्राउ गर्न प्रहरीले हात कमाउँदैन।

‘अब त्यसमा सरकारमा सहभागिता नै नभएको प्रधानमन्त्री पत्नीको के भूमिका! ल भूमिका नै भए पनि आईजीपीलाई किन भनिरहनुपर्यो!’, उहाँले भन्नुभयो।

अब प्रधानमन्त्रीको सरकारी निवासमा एक सुरक्षा संगठनको प्रमुखको हैसियतमा भेट्न गएका पदाधिकारीलाई ती त मेरा मान्छे हुन् नि भनेर भन्नुको अर्थ प्रधानमन्त्रीको मान्छे हैनन्, मेरा हुन्। प्रधानमन्त्रीले भनेको मात्रै हैन, मैले भनेको पनि मान्नु है भन्न खोजेको हैन र!

यस्तो व्यवहारको अर्थ अप्रत्यक्ष रूपमा मैले भनेको नमाने ठिक हुन्न है भनेर थर्काएकै हो नि! सरकारमा आफ्नो श्रीमान् भए पनि मेरो पनि हैसियत कम छैन नि भनेर डर देखाएको हो नि!

‘यस अगाडि भेट भएको थिएन’ भनेर सोधे। उहाँले टाउको हल्लाएर पहिलो पटक भेटेको संकेत दिनुभयो। पहिलो भेट भएकाले शक्तिको संकेत मात्र आयो। अब सोअनुसार नभए दोस्रो भेटमा व्यवहार बदलिने त पक्कापक्की भइहाल्यो।

OOO

यो प्रसंग यति नै। अब अहिले चलिरहेको नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै मानव तस्करीमा संलग्न गिरोहको अनुसन्धान अनि अहिलेसम्म देखिएको पाटोबारे पनि केही त लेख्नैपर्यो नि। नत्र त अधुरै होला।

नागरिकतासम्बन्धी जिम्मेवारी बोकेको मन्त्रालय हो गृह। कानून कार्यान्वयन गराउने निकायको हालत कस्तो बनाइसकेछन् यही घटनाले छर्लंग बनायो।

पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, गृहमन्त्रीका छोरा, स्वकीय सचिव। कसैको श्रीमती, कसैको साथी। बाफ रे बाफ लहरो हेरौँ त!

अपराध नियन्त्रण गर्ने जिम्मेवारी बोकेकाहरू नै कुन हदसम्मको गम्भीर अपराधमा संलग्न रहेछन् भन्ने मात्र देखिएन यो त अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बेइज्जत भयो।

हिजो गृहमन्त्री थिए स्यालुट हाने। त्यही व्यक्ति कुनै अपराधमा आरोपी देखिएपछि त्यही स्यालुट हान्ने हातले नाडी समात्दै भ्यानमा हाले।

यसले नेपालको प्रशासन बिगार्नेहरू को-को हुन् अनि जिम्मेवारीमा रहेकाहरूले कतिसम्म नीच काम गरिरहेका छन् भन्ने पुष्टि नै गर्यो। अहिलेसम्म खुलेका विषयले यसको लहरो यतिमै मात्र पुगेको छ भन्ने देखिँदैन। अनुसन्धानमा हस्तक्षेप नहुने हो भने लहरो निकै लामो अनि निकै माथिसम्म पुग्ने देख्छु म।

यो घटनाले प्रहरीको अर्को छवि पनि बाहिर ल्यायो। यदि शासन सत्तामा रहेकाहरूले हस्तक्षेप नगर्ने हो भने अनुसन्धान, प्रमाण संकलन अनि प्राप्त प्रमाणको आधारमा जुनसुकै ओहदामा रहेका व्यक्तिहरूलाई पनि पक्राउ गर्न प्रहरीले हात कमाउँदैन।

दिएको निर्देशन पालना गर्छन्। यो चेन अफ कमाण्डको सुन्दर पक्ष पनि हो। यदि चेन अफ कमाण्ड भत्किएको अवस्था हो भने भर्खर-भर्खर पूर्व भएका गृहमन्त्रीको घरमा पुगेर भ्यानमा हालेर अदालत पुर्याउन कठिनै हुन्थ्यो नि!

तर भएन। हिजो गृहमन्त्री थिए स्यालुट हाने। त्यही व्यक्ति कुनै अपराधमा आरोपी देखिएपछि त्यही स्यालुट हान्ने हातले नाडी समात्दै भ्यानमा हाले।

यो अनुसन्धानले प्रहरीको पनि शाख त बढाउने देख्छु म। तर लहरोको टुप्पोसम्म पुग्न सके संगठनको मात्रै हैन, देशकै साख बढ्ने थियो।

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

वैशाख २७, २०८० बुधबार १८:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।