चिनियाँ अपराधीले कसरी बनाए वंशजको नेपाली नागरिकता र राहदानी !
काठमाडौं : ब्रेकशुको आवरणमा सुन तस्करी भएको समूह पहिल्याउने क्रममा पक्राउ परेका बेल्जियम पासपोर्ट धारी दावा छिरिङले काभ्रे जिल्लाबाट नेपाली नागरिकता अनि राहदानी बनाएको सार्वजनिक भएको बैशाखमै हो। तर, गृह प्रशासनले वास्ता गरेन।
दावाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ ठेगाना राखेर पेमा तामाङको छोरोको रूपमा नेपाली नागरिकता अनि राहदानी बनाएको प्रमाणै सार्वजनिक भएको थियो।
जब उनै दावा ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परे, तब मात्र गृह प्रशासन तात्यो। दावाबारे छानविन गर्न गृह मन्त्रालयले साउन २२ गते नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्यो, त्यो पनि गुपचुप। समितिले दावाले काभ्रेबाट नागरिकता लिएको पुष्टि गर्यो।
दावा मात्रै हैन सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका अनि फरार रहेका धेरै चिनियाँ नागरिकले नेपाली नागरिक बनेर नागरिकता अनि पासपोर्ट बनाएका छन्। त्यसका प्रमाणहरूसमेत सार्वजनिक भएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेकामध्ये चिनियाँ नागरिक ली वेन्त सोङ छिरिङ लामा बनेर बसेका छन् नेपालमा। उनले काठमाडौं महानगरपालिका-६ को नागरिक बन्दै नेपाली नागरिकता लिएका छन्।
नेपाली नागरिकतामा उनको बाबुको नाम टाण्डुप लामा छ भने जन्ममिति २०४२ साल पुस १२ उल्लेख छ। उनको नेपाली नागरिकता नम्बर हो २७३२०६४४९२१। उनको नागरिकताको किसिम वंशज हो। उनले त्यही नागरिकताको आधारमा राहदानी विभागबाट १२६२३०४५ नम्बरको नेपाली राहदानी समेत बनाएका छन्। दुवै प्रमाण ब्यूरोसँग छ।
डिंग सेग फा नेपालमा राम लामा बनेर बसेका छन्। उनको नाममा काभ्रेबाटै नेपाली नागरिकता जारी भएको छ। ब्यूरो स्रोतकाअनुसार उनीसँग ७२९५३७९ नम्बरको चिनियाँ पासपोर्टसमेत छ।
काभ्रेबाट उनै डिंगले राम लामा बनेर ३०३०४१-२२५४ नम्बरको नागरिकता अनि १२५८९४५७ नम्बरको पासपोर्ट निकाले। पासपोर्टको मिति अनुसार उनी २०२१ डिसेम्बर २३ मा नेपाली पासपोर्ट बाहक भएका हुन्।
अर्का चिनियाँ हुन् ली नेङ्काई। उनीसँग रहेको चीनको राहदानी नम्बर ७२९५२२२ हो। उनी पनि नेपाली नागरिक सोनाम लामा भएर काभ्रेबाट ३०३०४२-२२५४ नम्बरको नागरिकता अनि १२५८९४५६ नम्बरको राहदानी लिइसकेका छन्।
हिरासतमा रहेका मात्रै हैन हिरासत बाहिर रहेका चिनियासँग पनि नेपाली नागरिकता र पासपोर्ट रहेको खुलेको छ। उकेराले दावाकै पार्टनर बेनचिङ देङको नेपाली पासपोर्ट र चिनियाँ पासपोर्ट सार्वजनिक गरेको थियो।
उनले नेपाली नाम तेन्जिङ गुरूङ राखेका छन्। राहदानीमा उनको नेपाली नागरिकताको नम्बर ११००४२५ देखिन्छ। उनको नाममा नेपाली राहदानी २०२० फेब्रुअरी २४ मा बनेको देखिन्छ, जसको म्याद २०३० सम्म छ।
उनको चिनियाँ राहदानी २०१० मा जारी भएको देखिन्छ। नेपालमा उनी तेन्जिङ गुरूङ हुन्। काभ्रेबाट जारी नागरिकताको नम्बर ११००४२५ हो। २०२० फेब्रुअरी २४ मा नेपाली पासपोर्ट समेत बनाएका छन् उनले। नेपाली राहदानीमा ठेगाना काभ्रे राखिएको छ भने चिनियाँ राहदानीमा ठेगाना फुजियान राखिएको छ।
भारतमा कडाइ भएपछि नेपाल सरे चिनियाँ
६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकहरू भारतमा भएका सुन तस्करीमा समेत संलग्न रहेको खुलिसकेको छ।
तस्करीको शैली एकै देखिएपछि ब्यूरोले भारतमा ठूलो परिणाममा भएका सुन तस्करीबारे चासो राखेको थियो। खोजीको क्रममा नेपालमा सुन तस्करीको आरोपमा पक्राउ परेका चिनियाँ पहिला भारतमा पनि पक्राउ परेको खुल्यो।
ब्यूरोको हिरासतमा रहेकामध्ये ली वेन, याओ पुसिङ र जेक्विङ ली
भारतमा हवाई मार्ग हुँदै सुन तस्करी बढेपछि भन्सार र सुरक्षा निकायले विशेष अप्रेशन नै चलाएका थिए।
सन् २०२१ को नोभेम्बरमा चलाएको अप्रेशनमा हङकङ हुँदै नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा आएको विभिन्न मेसिनहरूमा ८५ किलो सुन फेला परेको थियो। ती सबै सुन मेसिनका औजारमा लेप बनाएर लगाइएको थियो।
सन् २०२२ मेमा कार्गोबाट आएको धाराको सामानमा भारतीय सुरक्षा अधिकारीले साढे ६१ किलो सुन बरामद गरेका थिए।
लागुऔषध तस्करीमा भारतमा सुरक्षा प्रबधन्धमा कडाई भएपछि तस्करहरू नेपाली हवाई रूटको प्रयोग गर्ने गरेको धेरै घटनाले खुलाएका छन्। विशेष गरेर कोकिन तस्करीको अनुसन्धानमा यही देखिएको थियो।
सुन तस्करीमा संलग्न चिनियाँ गिरोहहरूले पनि यही शैली अपनाएको देखियो। भारतमा सुन तस्करीमा कडाइ भएपछि उनीहरू नेपाल सल्किए र उही शैलीमा नेपालमा सुन तस्करी गर्न थाले।
गैर नेपालीलाई नेपाली नागरिकता र राहदानी फेला परे पनि संगठित रूपमा गैर नेपालीलाई वंशजको नागरिकता र त्यसैको आधारमा राहदानी दिने सरकारी कर्मचारी भने कमै कारबाहीमा पर्ने गरेका छन्।
गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेकाहरूलाई नेपाली कानूनी पहिचान दिने सरकारी कर्मचारीमाथि थप गम्भीर कारबाही हुनुपर्ने हो। तर, सधैँ उन्मुक्ति पाउने गरेका छन्।
छानविन समिति बने पनि त्यो गृहकै बन्छ। अनि गृहका अधिकारीहरूले आफू मातहतको कार्यालयका कर्मचारीलाई दोषी नदेखाइ, जसले लिएको हो उसलाई मात्र दोष दिन्छन्।
दावाको साथमा रहेको नेपाली नागरिकता र राहदानीको अनुसन्धानको निचोड पनि त्यस्तै देखिन्छ। समितिले दावाको साथमा नेपाली नागरिकता रहेको पुष्टि गरिसक्यो। तर, कर्मचारीसँगको मिलेमतोमा निकालेको नभई किर्ते गरेर झुक्याएको दाबी गर्दै नागरिकताको प्रक्रिया शुरू गर्नेदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई जोगाउने प्रयास गरेको छ।
पक्राउ परेका चिनियाँसँग भारतीय कार्ड
नेपाली मात्रै हैन पक्राउ परेका चिनियाँ नागरिकले भारतीय नागरिकले पाउने कानूनी हक अनुसारका सरकारी कार्डहरू बनाएको समेत खुलेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको याओ पोचेङसँग भारतीय आधार कार्ड फेला पारेको छ।
उनीसँग इबी ०५६३०२२ नम्बरको चिनियाँ पासपोर्ट पनि छ अनि भारतीय आधार कार्ड पनि। उनको भारतीय नाम हो एलेक्स न्युमई एच।
थुप्तेन छिरिङसँग पनि भारतीय आधारकार्ड फेला परेको छ। उनी तिब्बती मूलका चिनियाँ नागरिक हुन्। उनको भारतीय ठेगाना थुप्टिङ यान्टिङ हाउस नम्बर-१५८ ब्लक नम्बर- ७ मञ्जुका टिल्ला, सिभिललाइन्स, उत्तर दिल्ली लेखिएको छ।
अनुसन्धानमा हङकङ र भारतसँग सहकार्य
सुन तस्करीमा संलग्न रहेको आरोपमा नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरूले हङकङबाट नेपाल अनि भारतमा सुन तस्करी गर्ने गरेको खुलेपछि ब्यूरोले यी दुवै देशसँग अनुसन्धानमा सहकार्य गरिरहेको छ।
सुन तस्करीमा संलग्न समूह, तस्करीको सुन आउने केन्द्र र शैली एकै देखिएपछि इन्टरपोलसँगको सहकार्यमा ब्यूरोले नेपालमा रहेको इन्टरपोल नेशनल कोअर्डिनेशन ब्यूरोको सहयोगमा भारत र हङकङका सुरक्षा अधिकारीहरूसँग अनुसन्धानमा प्राप्त सूचनाका आधारमा अनुसन्धानमा सहकार्य गरेको हो।
अन्तरदेशीय अपराध नियन्त्रणमा इन्टरपोलका सदस्य राष्ट्रबीच सहकार्य हुँदै आएको छ। भारत र हङकङमा पनि इन्टरपोलको शाखा छ।
इन्टरपोलका सदस्य राष्ट्रहरूबीच कुनै अपराध सम्बन्धी सूचना आदानप्रदान गर्नुपर्ने अवस्थामा इन्टरपोलबाट पर्पल नोटिस जारी हुने गर्छ। सुन तस्करीबारे अनुसन्धानका लागि इन्टरपोलले पर्पल नोटिस जारी गरिसकेको छ।
पर्पल नोटिस जारी भएको आपराधिक घटनाबारे सदस्य राष्ट्रबीच अपराध कार्यशैली, अपराध गर्दा प्रयोग गरेका उपकण, विधि लगायतका सूचनाहरू वैध रूपमा आदानप्रदान गर्न सक्छन्।
सम्बन्धित समाचार
भदौ १४, २०८० बिहीबार १६:४१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।