धम्कीपूर्ण विज्ञप्ति निकालेर पत्रकारलाई रोक लगाएको सप्तरी प्रशासन गल्यो

धम्कीपूर्ण विज्ञप्ति निकालेर पत्रकारलाई रोक लगाएको सप्तरी प्रशासन गल्यो

पत्रकार तथा सञ्चारमाध्यमलाई विनाअनुमति कार्यालय परिसरको फोटो खिच्न र समाचार संकलन गर्न रोक लगाएको सप्तरी जिल्ला प्रशासन कार्यालयले पत्रकारहरूलाई छलफल तथा संवादका लागि बोलाएको छ।  

हिजो सप्तरी जिल्ला प्रशासन कार्यालयले विनाअनुमति कार्यालय परिसरभित्रको फोटो, भिडियो खिचेर सामाजिक सञ्जाल, अनलाइन पत्रपत्रिकामा राखे कानुनबमोजिम कारबाही गर्ने धम्कीपूर्ण एक विज्ञप्ति जारी गरेको थियो। 

कार्यालयका कर्मचारीको गोपनियताको हक र कार्यालयको सुरक्षा संवेदनशीलताका कारण उक्त विज्ञप्ति जारी गरिएको सप्तरी प्रशासनले जनाएको थियो। 

तर पत्रकार महासंघ जिल्ला शाखा सप्तरीले समाचार संकलन गर्न लगाइएको रोकप्रति आपत्ति जनाएपछि सप्तरी जिल्ला प्रशासनले सचारकर्मीहरूबीच बुझाई फरक हुन गएकाले छलफलका लागि बोलाएको अर्को सूचना निकालेर जनाएको छ।

कार्यालयले साउन २५ गते साढे ११ बजे जिल्ला प्रशासन कार्यालयमा छलफल र संवादका लागि बोलाएको हो। पछिल्लो पटक निकालिएको सूचनामा सप्तरी प्रशासनले भनेको छ - जिल्ला प्रशासन कार्यालय सप्तरी सदैव पूर्ण प्रेस स्वतन्त्रता  सम्मान गर्दै आइरहेको व्यहोरा सम्पूर्ण जिल्लाबासीहरूमा अवगत गराउन चाहन्छौँ।'

२५ साउन, २०८०, ०७:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।