पालिकाभित्रका सबै विद्यालय बन्द गराएर डेंगु नियन्त्रण गर्दै धरान उपमहानगर
![पालिकाभित्रका सबै विद्यालय बन्द गराएर डेंगु नियन्त्रण गर्दै धरान उपमहानगर](https://ukeraa.prixacdn.net/media/albums/lamkhutte_3YmGYiweiO.jpg )
धरान : सुनसरीको धरान उपमहानगरपालिकाले डेंगु भाइरस नियन्त्रण गर्न पालिकाभित्रका सबै शैक्षिक संस्था बन्द गराएको छ।
मंगलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो।
विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जानकारी बताए।
उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ। बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक संघसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ-आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ।
डेंगु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए।
वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेंगु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान-१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए।
धरानमा डेंगुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ। निजी क्लिनिक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत डेंगुका बिरामीले शय्या पाउन मुश्किल भएको छ।
यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।
साउन १७, २०८० बुधबार ०८:२५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।