सुन तस्करीमा भन्सारमै संगठित जालो, हुण्डी कारोबारी राजु हिटलिस्टमा

सुन तस्करीमा भन्सारमै संगठित जालो, हुण्डी कारोबारी राजु हिटलिस्टमा

काठमाडौं : धातुको धनत्व अनुसार एक्सरेमा आकार आउँछ। त्यसैको आधारमा हो एक्सरे मेसिनमा राखेर प्याकिङ हेर्दा त्यहाँभित्र कुन धातुको सामान छ भनेर पत्ता लाग्ने।

जानकारका अनुसार सबैभन्दा धेरै घनत्व सुनको हुन्छ। त्यसैले कुनै सामान एक्सरे मेसिनमा राखेर हेर्दा कालो भागको मात्रा जति गाढा हुन्छ, त्यसैको आधारमा सामानको पहिचान हुनसक्छ।

त्यही प्रविधिअनुसार रेडी ट्रेडले ल्याएको स्कुटरको ‘ब्रेक शु’का प्याकिङ बक्साको एक्सरे गर्दा गाढा कालो देखिएपछि एक्सरेमा बसेका एक्सरे अपरेटर कुमार श्रेष्ठले एक कार्टुनमा ‘आर सी’लेखिदिए। यो भनेको रिचेक अर्थात पुन: परीक्षण हो।

भन्सार प्रशासनबारे जानकारस्रोतका अनुसार ‘आर सी’ लेखेर पठाउने भन्दा पनि शंका लागेको सामानबारे तत्काल जाँच हुन्छ। तत्काल जाँचकी आएर सामान खोलेर हेर्नुपर्नेमा ‘आरसी’ लेखिएको बक्सा समेत सहजै पास भयो।

भन्सारबाट सहजै उम्किएको स्कुटरको ‘ब्रेक शु’मा सुन रहेको भन्दै राजश्व अनुसन्धान विभागले सामान बरामद गरेर अनुसन्धान अगाडि बढाएपछि अहिले भन्सारका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परिसकेका छन्।

यही समूहमा छन्, भन्सार एजेन्ट राजेन्द्र राई। उनी सामान ट्याक्सीमा राख्दा-राख्दै पक्राउ परेका थिए। उनी भन्सारको आधिकारिक एजेन्ट हैनन्, बिचौलिया हुन्।

उनी अनुसन्धानको दायरामा आए पनि भन्सारका अन्य अधिकृत जो यसमा संलग्न हुनसक्ने आधारहरू देखिएका छन्, उनीहरू पक्राउ परेका छैनन्। भन्सारले छानविन गर्न आन्तरिक समिति गठन गरेको थियो।

भन्सारमै संगठित जालो
राजश्व अनुसन्धान विभागले अहिले राजश्व छलीमा अनुसन्धान गर्दै १७ जनालाई पक्राउ गरिसकेको छ। सुन ल्याउने मुख्य कारोबारी खोज्ने क्रममा विभाग राकेश अडुकियासम्म पुगेको देखिन्छ। तर, उनी फरार भइसकेका छन्।

जुन प्रकृतिले सुन भित्रिएको छ, त्यसको आधारमा सबैभन्दा ठूलो जालो भन्सारमै देखिन्छ। सामान आयातको प्रक्रियाबारे जानकारस्रोतका अनुसार जुन प्रकृतिको सामान जहाँबाट अनि जुन मूल्यमा आएको छ त्यो पहिलो विन्दुमा शंकामा पर्नुपर्ने हो। तर, परेन। मजाले भन्सारबाट पास भइरह्यो।

पाँच सय डलर भन्दा तलको मूल्यको सामान आयात गर्न ‘एलसी’ अर्थात बैंक ग्यारेन्टी लगायतका प्रक्रियामा जानुपर्दैन। कम्पनीले यही कानूनी सुविधामा खेलेर हङकङ र चीनबाट नेपालमा सामान आयात गर्ने गरेका थिए।

नेपालमा चल्ने अधिकांश स्कुटर भारतमा निर्मित हो। अनि जुन मात्रामा स्कुटरको ‘ब्रेक शु’ हङकङबाट आयात भएको छ त्यो प्रारम्भमै शंकामा पर्नुपर्ने हो।

‘नेपालमा चल्ने अधिकांश स्कुटर भारतमा निर्मित छन्। त्यसका अधिकांश पार्ट्सहरू पनि भारतबाट स्थलमार्गबाटै आउँछन्,’ अटो व्यवसायमा संलग्न एक व्यापारीले भने, ‘हङकङबाट त्यो पनि हवाइमार्गबाट ब्रेक शु आउँदा भन्सारका कर्मचारीहरूले प्रारम्भमै शंका गर्नुपर्नेमा सहजै पास गर्नु भनेको मिलेमतो नभई सम्भावना हुन्न।’

सुन तस्करीमा प्रयोग भएको कम्पनीले चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनी, ताइवानको तालमड कम्पनी र चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीका सामान नेपाल ल्याउने गरेको देखिन्छ। यसका लागि खोलेको रेडी ट्रेड कम्पनी तस्करीको प्रयोजनका लागि खोलेको अहिलेसम्मको अनुसन्धानको तथ्यले देखाएको छ।

यसमा भन्सारको एक्सरे, सामान जाँचकीसँगै सामानको मूल्य मुल्याङ्कनकर्ताको पनि भूमिका हुन्छ। एक्सरे गर्नेले बक्सामा शंकास्पद सामान छ या छैन हेर्ने, जाँचकीले जाँच्ने अनि मूल्याङ्कनकर्ताले मूल्य सही हो या हैन हेरेर शंका लागे अनुसन्धान गर्ने गर्छन्। तर, यी तीनै चरणमा कसैले पनि शंका गरेको देखिएन एक्सरे गर्नेबाहेक।

सबैभन्दा बढी शंकामा देखिन्छन् मूल्याङ्कनकर्ता। विश्वस्त स्रोतकाअनुसार जुन कम्पनीको नाममा ब्रेक शुको आवरणमा सुन भित्रियो, ती सामानको मूल्याङ्कन गरेका थिए गणेश पौडेलले। उनी र ट्याक्सी चालकसँगै पक्राउ परेका राईबीच घनिष्ठ सङ्गत रहेको भन्सार स्रोतनै दावी गर्छ।

‘यसबीचमा पक्राउ परेका राईको कल डिटेल मात्र हेर्ने हो भने पनि उनीसँग निकट रहेका भन्सारका कर्मचारीहरूबारे महत्वपूर्ण जानकारी खुल्छ,’ ती स्रोतले भने, ‘तर अहिलेसम्मको अनुसन्धानको निचोड हेर्दा कल डिटेल पनि हेरेका छैनन् या अनुसन्धानमा तानिनुपर्नेलाई पनि छुट दिइरहेको देखिन्छ।’

को-को परे पक्राउ ?
एक क्विन्टल बढी सुन तस्करीको आरोपमा अहिलेसम्म विभागले १७ जनालाई पक्राउ गरेको छ।

चालक र राईबाट शुरु भएको पक्राउको क्रम बढ्दै गयो। रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परे।

भन्सार एजेन्ट सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परिसकेका छन्। यसैगरी भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी ढकाल र एक्सरे अपरेटर श्रेष्ठ पनि विभागको हिरासतमा छन्।

विभागले ट्रान्स ग्लोबल सर्भिसका पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठलाई समेत पक्राउ गरिसकेको छ। चिनियाँ नागरिक जेक्युयाङ लीन चीन जान विमानस्थल पुगेको बेलामा पक्राउ परे। प्रहरीले तिब्बती मुलका भारतीय नागरिक थुप्तेन छिरिङलाई समेत पक्राउ गरिसकेको छ।

हालसम्मको अनुसन्धानमा थप ब्रेक शु बरामद गरे पनि त्यसबाट सुन निकालिसकेको देखिन्छ। राजश्व अनुसन्धान विभागले सुन गाल्ने मेसिन समेत बरामद गरिसकेकाले लामो समयदेखि संगठित रूपमै सुन तस्करी गरेर काठमाडौंमै गलाएर तेस्रो देश पुर्याछउने गरेको देखिन्छ।

विभाग प्रहरीसहितको सहयोगमा अनुसन्धानमा छ। उसले अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको दाबी गरेको छ। तर, पहिलो चरणमा पक्राउ परेकाहरूको हैसियत सहयोगी मात्र देखिन्छ।

अनुसन्धानको घेरामा हुण्डी कारोबारी
अनुसन्धानमा संलग्न स्रोतका अनुसार अहिले सामान निर्यातमा विवादित पृष्ठभूमि रहेका र हुण्डीमा संलग्नहरू अनुसन्धानको घेरामा छन्। तर उनीहरूलाई नियन्त्रणमा लिने नै गरी प्रमाण संकलन भइसकेको छैन।

सम्भावित तस्करसम्म पुग्न विभागले अध्यागमन विभागको समेत सहयोग लिएर यसबीचमा हङकङ, चीन लगायतका देशको शंकास्पद भ्रमण गर्नेहरूको ट्राभल हिस्ट्री केलाइरहेको छ। त्यही केलाउने क्रममा राकेश अडुकिया विभागको छानविनको दायरामा आएका हुन्।

छानविनको दायरामा रहेको तर विभागले नियन्त्रणमा नलिएका अर्का व्यापारी हुन्, पवनकुमार सुमानी। उनी लामो समयदेखि सामान निर्यातमा संलग्न छन्। व्यापारिक समूहमा अहिले उनको नाम समेत सम्भावित सुन कारोबारीको रूपमा चर्चामा रहेको देखियो।

अर्का व्यक्ति हुन् राजु मुण्डडा। मुण्डडा नेपालमा कहलिएका हुण्डी कारोबारी हुन्। उनको धन्दाबारे प्रहरी अधिकारीहरू समेत जानकार देखिए। हुण्डीविरुद्ध प्रहरी अप्रेशनमा उनको नाम शिर्ष स्थानमा हुने गरे पनि पक्राउ भने परेका छैनन्।

सम्बन्धित समाचार:

साउन १२, २०८० शुक्रबार १९:१३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।