एनएमसी सहकारीको बदमासी : ग्राहकलाई जानकारी नै नदिई रकम काट्यो

एनएमसी सहकारीको बदमासी : ग्राहकलाई जानकारी नै नदिई रकम काट्यो

मेचीनगर : झापाको मेचीनगर नगरपालिकास्थित वडा नम्बर-६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले पूर्वसूचना नै नदिई ग्राहकको खाताबाट धमाधम पैसा काटेको छ।

हरेक सदस्यको खाताबाट ७ सय रुपैयाँका दरले रकम कटौती गरेको खुलेको हो।

यसअघि आफ्ना ग्राहकको खाताबाट रकम घटबढ हुँदा ग्राहकको मोबाइलमा म्यासेज पठाउने गरेको उक्त सहकारीले यसपटक भने आफ्ना ग्राहकलाई समेत जानकारी नै दिएन।

संस्थाका सदस्यहरूले सामाजिक सञ्जालमार्फत बिनाजानकारी रकम काटेको भन्दै गुनासो गरेपछि रकम कटौती गरेको विषय खुल्न आएको हो। 

आफ्नो खातामा रहेको रकम चेक गर्ने क्रममा खाताबाट रकम काटिएको थाहा पाएसँगै मेचीनगर-१४ का डिल्लीराम उप्रेतीले आश्चर्य मान्दै संस्थाको चारआलीस्थित उक्त सहकारीको शाखामा बुझ्दा त्यहाँका कर्मचारीसमेत थाहा नभएको भन्दै माथिबाटै यस्तो निर्णय भएको हुन सक्ने जवाफ दिएका थिए।

खाताबाट रकम किन र के प्रयोजनका लागि काटियो भन्ने आफूलाई थाहा नै नभएको उक्त शाखाका कर्मचारीले प्रतिक्रिया दिए।

‘सिस्टमअनुसार माथिबाटै काटिएको हो, विस्तृत हामीलाई पनि जानकारी नभएको र हामीले पनि एकैचोटि रकम काटेको मात्रै थाहा पाएका हौँ,’ भन्दै सम्बन्धित शाखाले यस्तो जवाफ फर्काएपछि उप्रेती निराश बने। अहिले पनि उनी कुन प्रयोजनका लागि रकम काटियो भनेर अन्योलमा छन्। 

मेचीनगर १४ का उप्रेती मात्रै नभएर रकम काटिएको बारे अधिकांश सदस्यलाई जानकारी नै छैन। सामाजिक सञ्जालमा संस्थाका सदस्यहरूले स्टाटस लेख्न र आलोचना गर्न थालेपछि सहकारीले अहिले भने सदस्य कल्याणकारी कोषका लागि रकम कट्टा गरिएको पुनः म्यासेज गरी जानकारी गराएको छ। 

हालै मात्र संस्थाका अध्यक्ष परिवर्तन भएर बसेको कार्यसमितिको बैठकले गुपचुप निर्णय गरेको र जसका कारण ग्राहकहरू मात्रै नभएर संस्थाका कर्मचारीलाई समेत यस विषयमा जानकारी नभएको पाइएको छ।

सदस्यहरूले सामाजिक सञ्जालमार्फत आलोचना गर्न र जवाफ माग्न थालेपछि मात्र उक्त संस्थाले यसबारे जानकारी दिएको थियो। 

मेचीनगर ६ कै एकजना युवाले समेत आफूलाई थाहा नै नदिई रकम काटेको र के प्रयोजनका लागि रकम काटियो भनेर कलेक्सनमा आउने कलेक्टरलाई सोध्दा उनले ‘मलाई नै थाहा छैन’ भन्ने जवाफ दिएको बताए।  

‘कलेक्टरलाई सोधेको थिएँ, उनले त मलाई नै थाहा छैन मेरै खाताबाट काटिएको छ भन्ने जवाफ पो दिइन्,’ उनले भने। प्रत्येक ग्राहकबाट यसरी रकम काट्दा ९-१० करोड रकम संस्थालाई प्राप्त हुने भएकाले उक्त रकम के मा खर्च हुन्छ ? कुन प्रयोजनका लागि प्रयोग गरिन्छ ? यसबारे सबैलाई जानकारी हुनुपर्ने उनले बताए। 

संस्थाका सदस्य प्रेम चाम्लिङ राईले उक्त सहकारीले ५००० बराबरको सेयर नकाटे खाता बन्द गरिदिने धम्की दिएर जबर्जस्ती काट्न लगाएको आरोप लगाएका छन्।

संस्थाले साधारणसभासमेत आफ्नो मान्छे मात्रै बोलाएर गर्ने गरेको आरोप पनि लाग्दै आएको छ। अहिले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै आम सदस्यसँग प्रत्यक्ष जोडिएको विषयमा संस्थाले चाँडै जवाफ दिनुपर्ने सदस्यहरूको माग छ।

यता यस विषयमा बुझ्दा संस्थाका कर्पोरेट प्रशासन विभाग, प्रमुख चेतन शर्मा पौडेलले सदस्य भलाइ कोषका लागि रकम काटिएको बताए।

गत वर्षसम्म सदस्यको सेयर बोनसबाट काटिने गरेको बताउँदै यसपालि भने नीति परिमार्जन गरेर ग्राहकको खाताबाट काटिन थालेको उनले जानकारी दिए। 

रकम काटिने कुरा सदस्यलाई जानकारी नै नभएको सम्बन्धमा भने उनले संस्थाको बचाउ गर्दै मोबाइल नेटवर्कमा समस्या भएर संस्थाले पठाएको एसएमएस सदस्यसम्म नपुगेको बताएका छन्।

‘हामीले सबैलाई एसएमएस गरेर जानकारी दिएका हौँ, नेटवर्कका कारण सदस्यसम्म पुगिसकेको छैन। एसएमएस जाने क्रम चलिरहेको छ,’ उनले भने। 

सदस्यहरूबाट काटिएको उक्त रकम सदस्यहरूलाई नै विपद् पर्दा खर्च गरिने उनले जानकारी दिए।

‘मृत्युलगायत अन्य विपदहरू पर्दा सदस्यहरूकै लागि यस रकम खर्च हुन्छ, यदि कोही सदस्य यस कोषमा बस्न इच्छुक हुनुहुन्न भने एउटा निवेदन लेखेर दिनुपर्छ हामी रकम फिर्ता गरिदिन्छौँ,’ उनले भने। 

एनएमसीको पछिल्लो अद्यावधिक विवरणअनुसार संस्थामा एक लाख ५२ हजार सदस्य छन्। ८० हजार सदस्यको खाताबाट यस कोषका लागि ७ सयका दरले रकम काटिएको उनले जानकारी दिए। अन्य खातामा भने रकम नभएर नकाटिएको उनको भनाइ छ।

साउन २, २०८० मंगलबार १४:०१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।