ललिता निवास प्रकरणमा मलाई जोडे, त म आत्तिएको छैनः माधव नेपाल

ललिता निवास प्रकरणमा मलाई जोडे, त म आत्तिएको छैनः माधव नेपाल
फाइल तस्वीर

पाल्पाः नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूलाई जोडे पनि नआत्तिएको बताएका छन्।  

नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री हुँदैमा सबै विषयको दोषी नहुने बताए। 

‘यो प्रकरणको उचित छानबिन हुनुपर्छ, मेरो पनि नाम जोडिएको छ। मसहित धेरै पूर्वप्रधानमन्त्रीको नाम जोडिएको छ। अनावश्यक विवादमा तान्ने प्रयास भएको छ। म छानबिनको विरोधी होइन, तर गलत प्रचार गर्न त भएन नि। उचित छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ। यसलाई छिटो टुंगो लगाउनुपर्दछ।’ 

उनले भने, ‘न्यायसंगत छानबिन हुन्छ भन्ने विश्वास छ, यसमा त म मात्रै होइन पूर्व प्रधानमन्त्रीहरू धेरैको नाम जोडिएको छ, त्यस कारणले पनि यस्ता विषयले समाजमा नकारात्मक भावना फैलाउँछन् छिटो निकास निकाल्नुपर्छ।’

यस प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका उनले यो मात्र नभई नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन हुनुपर्ने माग राखे। 

उनले भने, ‘यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने बल्ल मान्छे डराउने अवस्था आउनेछ। होइन भने अवस्था अझ बिग्रिँदै जान्छ। राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी छ।’

नेपालले प्रधानमन्त्री प्रचण्डलाई सीमा नाघेर नबोल्न पनि सुझाए। भने, ‘हाड नभएको जिब्रोले झुक्क्याउँछ। बोल्दा ख्याल गर्नुपर्छ, जिब्रो फ्याट्ट बोल्छ र हाडभित्र लुक्न गइहाल्छ। अनि हाडले घेरिएको कपाल दुख्न थाल्छ। स्पष्टीकरण र जवाफ दिँदा दिँदै झन् कपाल दुख्छ। जिब्रो आनन्दले बसेको हुन्छ। अनावश्यक टाउको दुखाउने गरी अभिव्यक्ति दिने कुरामा सचेत हुनुपर्दछ।’

२६ असार, २०८०, १३:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।