'ग्राउण्ड ह्याण्डलिङ शुल्क उठाउने नेपाल एयरलाइन्सको एकाधिकार तोडिन्छ, अब हामी प्रतिस्पर्धामा जान्छौँ'

'ग्राउण्ड ह्याण्डलिङ शुल्क उठाउने नेपाल एयरलाइन्सको एकाधिकार तोडिन्छ, अब हामी प्रतिस्पर्धामा जान्छौँ'

काठमाडौँः नागरिक उडडयन प्राधिकरणको पटक पटकको निर्देशनछि नेपाल एअरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ शुल्क घटायो। 

२०७९ असारदेखि कात्तिक १५ देखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य एअरलाइन्ससँग लिइँदै आएको शुल्क प्राधिकरणले नेपाल एअरलाइन्सका लागि नियमावलीलाई आधार मान्दै २०७२ सालमा तोकिदिएभन्दा कम बनाइदिएको थियो। 

तर शुल्क घटाउने नियम नेपाल एअरलाइन्सले अस्वीकार गरेपछि अध्यक्ष नवराज अधिकारीलाई अकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भनी वैशाख २० गते प्राधिकरणले पत्र काटेको थियो। 

त्यसपछि हतार हतार नेपाल एअरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ शुल्क घटाएको थियो। यस विषयमा उकेराले ‘प्राधिकरणका महानिर्देशक प्रदीपले धम्क्याएर ग्राउन्ड ह्यान्डलिङ शुल्क घटाए, नेपाल एअरलाइन्सलाई वार्षिक ९० करोड घाटा’ शीर्षकमा समाचार छापेको थियो। 

यसै विषयमा केन्द्रित रहेर प्राधिकरणका प्रवक्ता एवं उपमहानिर्देशक जगन्नाथ निरौलासँग प्रजु पन्तले गरेको कुराकानीः 

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एअरलाइन्सबीच पछिल्लो समय विवाद परेको देखियो। दुवै सरकारी निकाय हो समन्वय हुनुपर्ने हैन ?

यहाँ दर्ता भएको कुनै पनि वायुसेवा निगमलाई प्राधिकरणले फरक दृष्टिले हेर्दैन। हामी समान व्यवहार गर्छौँ। काखापाखा भन्ने नै हुँदैन। नेपाल एअरलाइन्स र हामी दुवै सरकारी र एकै मन्त्रालयअन्तर्गत हौँ। एकले अर्कालाई थिचोमिचो गर्ने भन्ने नै हुँदैन। हाम्रो दायित्व नियमन गर्ने र निर्देशन गर्ने हो, हाम्रो दायित्व पूरा गरिरहेका छौँ। 

नेपाल एअरलाइन्सले अन्तर्राष्ट्रिय विमानस्थलबाट उठाउँदै आएको ग्राउण्ड ह्याण्डलिङ शुल्कको विवाद के हो ? 

हाम्रो तर्फबाट विवाद नै छैन। विमानस्थल सेवा शुल्कसम्बन्धी ऐन २०७८ अनुसार शुल्क प्राधिकरणले तोक्ने हो। यो ऐन बनेपछि हामीले शुल्क तोकेर कार्तिक १५ देखि लागू गर्न एअरलाइन्सलाई निर्देशन गरेका हौँ। उहाँहरूले अटेर गर्नुभएको थियो। यसबीच थुप्रै वार्ताहरू भए। पत्र काटियो अहिले उहाँहरूले प्राधिकरणले तोकेबमोजिम शुल्क लिन थाल्नुभएको छ।

अर्का कुरा, ऐनअनुसार शुल्क नेपाल एअरलाइन्सको मात्रै एकाधिकार होइन। अहिले जसले उठाएको छ, त्यसले उठाउन पनि सक्छ। तर प्राधिकरणले खुला प्रतिस्पर्धा गरेर एअरलाइन्स छान्ने हो। अहिले तत्काललाई नेपाल एअरलाइन्सले उठाइरहोस् भनेर छोडेका हौँ। ऐन लागू भएपछि हामीले शुल्क तोकिदिएका हौँ। उहाँहरूले कति शुल्क लिनुहुन्छ भन्ने हामीलाई थाहा थिएन। 

प्राधिकरणले नेपाल एअरलाइन्समार्फत ग्राउण्ड ह्याण्डलिङ शुल्क उठाएबापत १५ प्रतिशत रोयल्टी लिन्छ भन्ने छ। कति दर थियो थाहा भएन भन्नुभयो कसरी कुरा मिल्यो ? त्यसमाथि प्राधिकरण नियामक निकाय पनि हो। दर पेश गर्न भन्नुभएको भए भइहाल्थ्यो नि हैन ?

कुन एअरलाइन्सलाई कति उठाउँथ्यो भन्नेचाहिँ थाहा थिएन भनेको हो। सोलोडोलो आउँथ्यो रोयल्टी। भन्न खोजेको तपाईंहरूले समाचारमा लेख्नु भएजस्तो शुल्क घटाइएको होइन। पहिलोपटक तोक्दा कसरी घटाएको हुन्छ र ! 

सन् २०१५ मा नेपाल एअरलाइन्सले तोकेभन्दा १० प्रतिशत कम पहिलो पटक घटाउन भनी निर्देशन गर्नुभयो। दोस्रोपटक फेरि घटेको शुल्कको पनि १५ प्रतिशत कम लिन निर्देशन दिनुभयो। किन यस्तो मोलमलाई गरेको प्राधिकरणले ? 

मोलमोलाई गरेकै होइन र हामी कसैको प्रभावमा परेको पनि होइन। बाहिरको हल्ला नसुन्नुस्। नेपाल एअरलाइन्सले सेवा नदिएको शीर्षकमा समेत शुल्क उठाएको थियो, त्यही भएर प्रतिशत घट्न गएको हो। 

कुन कुन सेवा दिएको थिएन त ? 

त्यो हामी तपाईंलाई केही दिनमा उपलब्ध गराउँछौँ। 

सामान्यतया जति पछि भयो उति सेवा शुल्क बढ्छ, किनभने श्रामिकको ज्याला र इन्धनको मूल्य बढेको छ। त्यसमाथि नेपाल एअरलाइन्सले पनि पटक पटक शुल्क नघटाउन अनुरोध गरेको रहेछ। नियामक निकाय भन्दैमा एअरलाइन्सको जायज कुरा पनि नटेर्ने भन्ने हुन्छ र ? 

मैल अघि भनेँ। कुन कुन सेवा नदिएको शुल्क उठाएको छ भन्ने लिस्ट तपाईंलाई दिन्छौँ। हामीले यसै त घटाएका हैनौँ। 

तपाईंले बढी शुल्क लिएका रहेछन् भन्नुभयो। त्यसो भए एअरलाइन्सहरूले बढी लिएको शुल्क फिर्ता लेऊ भन्यो भने के हुन्छ ? 

यतिञ्जेल उहाँहरूले आफ्नो कार्यविधिअनुसार सेवा शुल्क उठाउनु भएको थियो। अब ऐन बनेपछि  हामीले गरेका हौँ। उहाँहरूको मनोमानी अन्त्य गरेका हौँ। र एअरलाइन्सहरूले सेवा नलिएको शुल्क फिर्ता लेऊ भन्छन् भन्ने हामीले सोचिसकेका छैनौँ। 

नेपाल एअरलाइन्सका अध्यक्षलाई घटेको शुल्क लागू नगरे कारवाही गर्छौँ  भनी धम्की नै दिनुभएको रहेछ है ? 

हामीले ऐनमा टेकेका हौँ नि। ऐनअनुसार त मान्नुपर्यो नि नि उहाँहरूले।

तपाईंको कुरा सुन्दा त नेपाल एअरलाइन्सलाई अब ग्राउण्ड ह्याण्डलिङ शुल्क उठाउन दिनुहुन्न किजस्तो लाग्यो हो ?

भिन्न एअरलाइन्सबीच ऐनअनुसार हामी हामी ग्राउण्ड ह्याण्डलिङ शुल्कको प्रतिस्पर्धा गराउँछौँ। शुल्क उठाउने नेपाल एअरलाइन्सको एकाधिकार रहँदैन अब। र, एउटा कुरा नेपाल एअरलाइन्सलाई कमजोर बनाउन चाहेका होइनौँ। अन्तर्राष्ट्रिय तहमा नै नेपालको शुल्क ग्राउण्ड ह्याण्डलिङ शुल्क महँगो भन्ने थियो, सोही अनुसार घटाएका हौँ। 

३ असार, २०८०, २१:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।