अनि मेरी आमाले भन्नुपर्ने छैन, ‘मैले त्यसै बाहिर नछाडेको हो र, निर्मला जस्तै होला भनेर हो नि!’

अनि मेरी आमाले भन्नुपर्ने छैन, ‘मैले त्यसै बाहिर नछाडेको हो र, निर्मला जस्तै होला भनेर हो नि!’

आमाले भन्नुभयो, ‘मैले तँलाई त्यसै बाहिर नछोडेको हो र? निर्मला(बलात्कारपछि हत्या गरिएकी किशोरी) जस्तै अवस्था हुन्छ भनेर हो! भाइलाई त म यस्तो गर्दिन नि!’

आमाले थप्नुभयो, ‘नारी भएर यो समाजमा बाँच्न गाह्रो छ।’ 

तर्क त गर्न सक्थेँ। तर म चुपचाप भएँ। आमाको भनाइ विभेद जस्तो देखिए पनि विभेदभन्दा असुरक्षाको त्रास बढी थियो। जुन मेरो जन्मसँगै आएको लिङ्गका कारण निम्तिएको थियो।

म आफैँलाई यो कुराको अनुभव पनि थियो। सार्वजनिक गाडी चढ्दा गन्तव्यभन्दा कसैको दुर्व्यवहारमा परिन्छ कि भन्ने चिन्ता बढी हुन्छ।

कसैले काम दिँदा मेरो शरीर हेर्यो कि क्षमता भन्ने मनमा प्रश्न आउँछ। कपडा लगाउँदा मलाई के मनपर्छ भन्दा पनि के लगाउँदा कसैको गिद्धे नजर पर्दैन भन्नेमा ध्यान जान्छ।

विद्रोह गर्न मन नलाग्ने हैन। तर म यहि समाजको पात्र भएकाले  विद्रोह बिर्सेर सुरक्षाका खातिर पाखण्डको घुम्टो ओढ्न पुग्छु र मौन हुन्छु।

हाम्रो समाजको चेतना हेरौं न! जबरजस्ती करणी जस्तो अमानवीय अपराधको बढ्दो तथ्याङ्कले सबै महिला वर्गको मनमा आतङ्क मच्चाउँछ। अन्य अपराधमा जो संलग्न उसैले दोष पाउँछ। सायद समाजमा जबरजस्ती करणी मात्र यस्तो अपराध हो जसमा पीडकले भन्दा बढी दोष पीडितले पाउँछन्।

पीडकको दूषित मनसायलाई ‘केटा त केटा हो, केटी पो सतर्क हुनुपर्छ’ भनेर नजरअन्दाज गरिन्छ। उल्टै पीडितले नै घटना निम्ताएको वा प्रोत्साहन गरेको आरोप लगाइन्छ। नियतमा शंका गरिन्छ। सामान्य अवस्थामा फर्काउन सहजीकरण हैन, घरबाट बाहिर निस्कनै कठिन बनाइन्छ।

जबरजस्ती करणी गर्न प्रोत्साहन गरेको भन्नेहरूलाई प्रश्न सोध्न मन लाग्छ- एउटा अबोध दुधे बालिकाले के देखाएर करणी गर्न प्रोत्साहन गर्छिन्? एउटा नाबालक जसको शरीरका अंग नै राम्रोसँग विकसित भइसकेको हुन्न उसले आफ्नो शिक्षकलाई के देखाएर करणी गर्न प्रोत्साहन गर्छिन्? 

एउटा पुजारनले पुजारीलाई के देखाएर प्रोत्साहन गर्छिन्? एउटी चाउरी परिसकेकी आमाले के देखाएर करणी गर्न प्रोत्साहन गर्छिन्? एउटा छोरीले आफ्नो बाउलाई के देखाएर करणी गर्न प्रोत्साहन गर्छिन्? 

उत्तर के आउँछ होला? तर्क के होला? उत्तर दिँदा तिनका अनुहारको भाव कस्तो होला? चासो छ मलाई। छक्कै पर्छु म, आफ्नो यौनाङ्ग सम्हाल्न नसक्ने  पुरुषहरूले यो देशको उच्च ओहदा राम्रोसँग सम्हाल्छन् भन्ने विश्वास कसरी गर्नु?

अर्का छन् कानुन बनाउन चुनिएका जनप्रतिनिधि। अरू कुनै अपराध गर्दा परिस्थिति मात्र हेरिने तर जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दा महिलाको उमेर तथा परिस्थिति अनुसार सजाय हुने विधायकी मनसाय के हो भन्नेमै अलमलमा छन् उनीहरू। किन अल्मलिए भनेर बुझ्दा त माननीयज्यूहरू अर्थमै अलमलिएका रहेछन्।

कानुन बनाउन बसेका सांसदहरूले नै जबरजस्ती करणीको अर्थ के हो? प्रेम बलात्कारमा परिणत हुन्छ/हुँदैन भनेर सामाजिक सञ्जालमा लेखेको देखिन्छ। सूचना प्रविधिले जिज्ञासा अनुसारको सामग्रीको खोजी अति सहज बनाए पनि माननीयहरूले प्रश्नको उत्तर भेटेनछन्।

माननीयहरूले नभेटेको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ यतै सम्झाउन मन लाग्यो। त्यो दफामा प्रस्ट लेखेको छ ‘जबरजस्ती करणी गर्न नहुने।’

(१) कसैले जबरजस्ती करणी गर्न हुँदैन।

(२) कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।

यसमा शब्दको अपव्याख्या होला भनेर त्यसको स्पष्टीकरण पनि राखिदिएको छ। जस अनुसार:

(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन,

(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन,

(ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ।

विधायिकाज्यू, वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गर्न पाइँदैन भनेर सोही अपराध संहितामा उल्लेख छ। जब प्रेमको नाममा प्रेमिकाको सहमति नलिई वा करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी करणी गरिए त्यो पनि जबरजस्ती करणीमै पर्छ।

मुलुकी ऐन २०२० हुँदै मुलुकी फौजदारी संहिता २०७४ सम्म थुप्रै परिवर्तन ल्याएसँगै जबरजस्ती करणीको परिभाषा पनि फराकिलो भएको देख्न सकिन्छ।

योनीमा लिङ्गको पूर्ण प्रवेश आवश्यकताको परिभाषा छिचोलेर, आंशिक प्रवेश वा लिङ्गको मलद्वार वा मुखमा प्रवेश, लिङ्ग कुनै पनि हदसम्म, मलद्वार, मुख वा योनीमा प्रवेश, योनीमा लिङ्ग बाहेक अन्य कुनै वस्तु घुसाउनु सम्मलाई जबरजस्ती करणीको परिभाषामा समेटिएको छ। 

अपराधको प्रकृतिको बद्लिँदो धारणासँगै अदालतले जबरजस्ती करणी सम्बन्धित मुद्दाहरूमा फराकिलो फैसला दिने गरेको छ। जाबो ऐन त फेला नपारेर रन्थनिएकाले अदालतको नजिर कता भेट्लान् र! कानुनको विद्यार्थी हुँ। खोजेर राख्या छु। पढ्नुस्, पक्कै शब्दको अर्थमा रुमल्लिनु पर्दैन।

नेपाल सरकार विरुद्ध मिर मुसलमानको मुद्दामा सर्वोच्च अदालतले जबरजस्ती करणीको परिभाषा गर्दै भनेको छ, ‘जबरजस्ती करणी गर्ने कामको प्रारम्भ गरिसकेपछि उद्योगको अवस्था रहँदैन। त्यो काम जुन चरणसम्म गरेको भए पनि कामको उद्योग नभै कामै गरेको ठहरिनेछ। यसको स्वरूप र गम्भीरताको मापन दुई प्रकारले हुन्छ। पहिलो मापदण्ड हो पीडितलाई हुने क्षति र दोस्रो हो पीडकलाई प्राप्त हुने प्रतिफल।’

ईश्वर ऋषिदेव विरुद्ध नेपाल सरकारको मुद्दामा, ‘बालिकाको योनीसम्म लिङ्ग पुर्याई वीर्य स्खलन गराई आफ्नो यौन सन्तुष्टि लिने कार्यलाई केवल करणीको उद्योग मात्र हो भनी कायम गर्नु जबरजस्ती करणी सम्बन्धी कानुनी व्यवस्थाको भावना प्रतिकूल हुने’ भनी नजिर स्थापित गरेको पाइन्छ।

सन्दीप नेपाली  विरुद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्च अदालतले, ‘डर, धाक, धम्कीको प्रयोग गरी भएको जबरजस्ती करणीको वारदातमा पीडितले आफ्नो इच्छा विपरीत आफूलाई समर्पित गरेको हुनाले यस्तो अवस्थामा पीडित र पीडकबीच सङ्घर्ष नै नहुने हुँदा निजहरूको शरीरमा सङ्घर्षको चिह्न नदेखिनु स्वाभाविक नै हुन्छ। तर यसरी डर, धाक, धम्कीको प्रयोग गरी गराएको सम्पर्कलाई सहमतिमा शारीरिक सम्पर्क गरेको मान्न नमिल्ने’ भनी परिभाषा गरेको छ।

तुलसी चौधरी विरुद्ध नेपाल सरकारको मुद्दामा सामूहिक जबरजस्ती करणीको परिभाषा गर्दै, ‘सामूहिक बलात्कारमा एकै पटक बलात्कार गर्ने अवस्था नहुँदा साझा मनसायले अपराधलाई निरन्तरता दिई पालैपालो जबरजस्ती करणी गर्दछन् भने सो कार्यलाई सामूहिकमै गरिएको मान्नुपर्ने’ अर्थ लगाएको छ।

यो भयो विपरीत लिङ्गीको हकमा हुने बलात्कारबारे सर्वोच्चको नजिरहरू। सर्वोच्चले समलैंगिक लगायतको जबरजस्ती करणीलाई समेत व्याख्या गरेको फैसलाहरू छन्।

सर्वोच्च अदालतले मोल्हुसेन हेन्ड्रिक ओटो विरुद्ध नेपाल सरकारको मुद्दामा ‘अप्राकृतिक मैथुनको अर्थ गर्दा अस्वाभाविक रूपमा अप्राकृतिक तवरले गरिएको मैथुनलाई जनाउने भए पनि अप्राकृतिक मैथुनको किसिम र मैथुन गर्ने गराउने क्रिया र माध्यम फरक-फरक हुन सक्ने’ भनेको छ।

नेपाल सरकार विरुद्ध जसिराम नेपालीको मुद्दामा सर्वोच्चले ‘सामान्यतया: महिला र पुरूषबीच स्वाभाविक रूपमा हुने यौन एवं मैथुनका क्रियालाई प्राकृतिक मैथुन र प्राकृतिक तवरमा गरिने स्वाभाविक मैथुनका क्रियाबाहेक अन्य अस्वाभाविक एवं अप्राकृतिक तरिकाबाट हुने यौनजन्य क्रियाकलाप र मैथुन अप्राकृतिक हुने’ भनेको छ।

नेपाल सरकार विरुद्ध लाक्पा शेर्पासमेतको मुद्दामा ‘कुनै महिलाले नाम, थर, लिङ्ग, हुलिया, ढाँटी धोका दिई, नक्कली लोग्ने मानिस भएको अनुभूति दिलाई, नक्कली लिङ्ग प्रयोग गरी, कसैलाई जबरजस्ती करणी गर्छ भने उसलाई महिला भएकै कारणले उन्मुक्ति दिनु न्यायोचित हुन नसक्ने’ भनी नजिर प्रतिपादन गरेको छ। 

तारा कौशकले आफ्नो, ‘ह्वाई मेन रेप?’ नामक किताबमा विभिन्न जबरजस्ती करणी गर्ने अपराधहरूको दृष्टिकोण अध्ययन गरेर, उनीहरूको परिवेश, हुर्काइले परेको असरहरूको विश्लेषण गर्ने क्रममा लेखेकी छन्, ‘यसलाई (जबरजस्ती करणीलाई) रोक्न, सर्वप्रथम नियाल्नुपर्छ।’ तर नियाल्ने कसले?

विडम्बना, ढुङ्गाको देवी पुज्ने र घरको देवीलाई सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक पक्षमा लछारपछार पार्ने ढोङ्गी सामाजिक चेतमा रमाउन छाडेर कसले गरोस् अध्ययन! यो बलात्कार हो यो हैन भन्ने कुतर्क गर्यो, बस्यो।

त्यो समाजबाट के नै अपेक्षा गर्न सकिन्छ र जो द्रौपदीको चीरहरण भएको पाठ पढ्दापढ्दै पनि महाभारतको युद्धमा द्रौपदीकै दोष देखाउँछ, घमन्डी र सत्ताको लागि लडाइँ गरिरहेको पुरुषको अक्षम अपराध नकार्छ।

महिला अधिकारबारे कतै चर्चा हुँदा सुनिन्छ ‘अधिकार दिएकै छ त!’ उदाहरण सार्वजनिक बसमा सिटको आरक्षणदेखि संसद्मा ३३ प्रतिशत सिटबारे दिन्छन्।

यसो सोच्छु, हामीले मागेको अधिकार गाडीको चारवटा सिट मात्रै हुन् त? हामीले लडाइ गरिरहेको अधिकार, आफ्ना श्रीमती, छोरी, बुहारीलाई राखेर पुर्याइने ३३ प्रतिशत कोटा मात्रै हुन् त?

हामीले मागेको त सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रतापूर्वक, स्वाभिमानपूर्वक बाँच्न पाउने अनि सुरक्षा, समानता र समानता हो नि!

महिला विरुद्धको यस्ता जघन्य अपराधले महिलाको आत्मसम्मान र मर्यादालाई मात्र असर गर्दैन, सामाजिक विकासको गतिलाई पनि असर गर्छ। सबैभन्दा महत्त्वपूर्ण आत्मबल हो। यसको अभावमा जति प्रतिशत आरक्षण दिए पनि के काम।

महिलाको बारे महिलाले मात्र बोल्नुपर्ने जस्तो दृश्य पनि देखिन्छन्। लैङ्गिक न्यायको लडाई लिङ्ग विशेषको मात्र सरोकार हो र? हरेक लिङ्गको सरोकारको विषय हैन?

विशेषगरी पुरुषहरूलाई हुर्काइकै चरणमा घरभित्रबाटै लैङ्गिक न्यायप्रति संवेदनशील बनाउने, छोरीलाई मात्र होइन छोरालाई समेत मर्यादामा रहन सिकाउन सके सामाजिक परिवर्तन हाम्रै पालामा सम्भव छ।

अनि मात्र मेरी आमाले मलाई दोहोर्याएर भन्नुपर्ने छैन, ‘मैले त्यसै बाहिर नछाडेको हो र!, निर्मला जस्तै होला भनेर हो नि।’

६ चैत, २०८०, १९:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।