बौद्धमार्गीको अष्टमहास्थान केही कथ्य केही तथ्य-३ : बुद्धकै सालोले ल्याए भिक्षु संघमा फुट, अस्तू पाउन आठ राज्यको झगडा

बौद्धमार्गीको अष्टमहास्थान केही कथ्य केही तथ्य-३ : बुद्धकै सालोले ल्याए भिक्षु संघमा फुट, अस्तू पाउन आठ राज्यको झगडा

बुद्ध कमजोर हुँदै गइरहेका थिए। आखिरी दिनमा उनले केही प्रवचन दिएर भिक्षु आनन्द वा अरु कसैलाई प्रवचन गर्न दिएर आफ्नो कोठामा जान्थे। बुद्धसँग यति मान्छे भेट्न लालयित हुन्थे की ध्यान गर्न पनि कसैले ख्याल नगर्ने ठाउँमा बस्नुपर्ने बाध्यता थियो।

बुद्धका परिवारकै मान्छे भएतापनि बिहारमा विशेष व्यवस्था थिएन। सबै भिक्षुलाई बराबर व्यवहार गरिन्थ्यो। बुद्धका सालो देवदत्त पनि भिक्षु बने। तर, उनले आफूलाई बुद्धजस्तै मान्न थाले। एक दिन बुद्धलाई देवदत्तले भने, ‘तपाईं अवकाश लिनुस्, म प्रवचन दिन्छु।’

त्यसै क्रममा एक दिन ठूलै झगडा पर्यो अनि भिक्षु संघ चोइटियो। देवदत्तले पनि बुद्धको जस्तै नक्कल गरेर प्रवचन दिन थाले। धेरैजसो व्यक्तिलाई बुद्ध भनेकै देवदत्त हुन् भन्ने पनि पर्याे।

मान्छे झुक्याउन त भएन भनेर बुद्धले सारीपुत्रलाई देवदत्तले धर्मदेशना गर्ने स्थानमा पठाए। देवदत्तले आफ्नो पक्ष लागेर सारीपुत्र आएको सम्झिए। प्रवचन दिँदा-दिँदै उठेर सारीपुत्रलाई प्रवचन दिन लगाएर उनी आफ्नो कोठामा लागे।

यता सारीपुत्रले बुद्ध को हुन् भन्नेबारे यसरी बताइदिए कि त्यसपछि भिक्षु र प्रवचन सुन्नेहरू असली बुद्ध भएको ठाउँ जाने भए। देवदत्तले सारीपुत्रको उद्धेश्य बुझे। त्यसपछि भिक्षु संघमा फुट नल्याउने सन्धी राजगिरमा भयो।

राजगिरमा नै गु्रधकुट भन्ने पर्वत पनि छ। यो पर्वतमा बौद्ध धर्मलम्बीहरूको घुईंचो नै लाग्ने गर्छ। बौद्ध धर्मका महायानतिर अनुयायीले महायान तर्फको प्रवचन यहि गु्रधकुट पर्वतमा बुद्धले दिएको विश्वास गर्छन्।

मिलेको भिक्षु संघ भएपछि बुद्ध वैशालीतर्फ लागे।

बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु जाँदा नै बुद्धसमक्ष सौतेनी आमा प्रजापतिले भिक्षुणी बन्न अनुमति दिनुपर्ने माग राखेकी थिइन्। बुद्धले महिलालाई भिक्षुणी बनाउन आनाकानी मात्रै गरेनन्, हुँदैन समेत भने।

तर, वैशालीमा कपिलवस्तुबाट हिँड्दै हजार जना महिलाको साथमा आमा प्रजापति आएपछि भने बुद्ध बिलखबन्दमा परे। भिक्षु आनन्दले भिक्षुणी बनाउनुपर्ने आग्रह गरे पनि। तर बुद्धले अन्य सम्प्रादयमा विकृति आएका कारण महिलालाई भिक्षुणी बनाउन हुँदैन भनेर रटान लगाइरहे।

उता आनन्दले पनि भिक्षुणी संघ बनाउँदा समस्या नआउने बताए। अन्ततः भिक्षुणी संघ बनाउन बाध्य भए बुद्ध। भिक्षुणी संघ बन्यो पनि तर केही शर्तसहित। जति पछि आएको भिक्षु भए पनि पुरानै भिक्षुणीले बन्दना गर्नुपर्ने, भिक्षुले भन्दा भिक्षुणीले एक सय शर्त बढी पालना गर्नुपर्ने।

प्रचलित मूल्य मान्यतालाई चुनौती दिने बुद्ध, जात व्यवस्था नमान्ने बुद्ध अनि सत्तालाई सिधै चुनौती दिएका बुद्धले महिलालाई किन विश्वास गरेनन् होला?

केही किताबमा बुद्धले सहजै भिक्षुणी बनाउने हो भने सही नियम पालना नहुनसक्छ भनेर सय शर्त थप गरिएको उल्लेख छ। अध्येता बसन्त महर्जन तत्कालीन अवस्थामा अन्य सम्प्रदायमा विकृति आएको र भिक्षु संघनै समाल्न नसकिरहेको भएर भिक्षुणी संघ बनाउन नमानेको हुनसक्ने बताउँछन्।

उसो त बुद्धले बुद्धत्व प्राप्त गरेपछि मारले बुद्धलाई परनिर्वाण (मृत्यु) हुने बेला भएको बताएको थियो। तर, बुद्धले भिक्षु भिक्षुणी उपासक उपासिकालाई यो ज्ञान नबाँडी परनिर्वाण प्राप्त गर्दिनँ भनेकाले पनि बुद्धको मनमा शुरुमा नै भिक्षुणी बनाउने योजना रहेको पनि अध्येता महर्जनको दाबी छ।

खैर! जे भए पनि बुद्धले वैशालीमा भिक्षुणी संघ बनाए। वैशालीमा नै बुद्धले अब आफ्नो आयु तीन महिना रहेको मात्रै बताएका थिए। त्यसपछि बुद्ध लागे कुशीनगर।

०००

कुनैबेलाको शक्तिशाली वज्जी भन्ने देशको राजधानी थियो वैशाली। यो हालको भारतको बिहार राज्यमा पर्छ। अहिले बिहार भारतको सबैभन्दा पिछिडिएको क्षेत्र हो। उत्खनन र संरक्षण त भएका छन् स्तूपहरू, तर लाग्छ त्यतिबेलाको समृद्ध वैशाली अहिले यति धेरै गरिब किन भयो?

०००

बुद्धको अस्तूमाथि आठ राज्यको झगडा
कुशीनगरमा बुद्धको महापरिनिर्वाण भएपछि उनको शरीर जलाइयो। बुद्धको अस्तू अन्यको जस्तो खरानी भएन। केराउको दाना जस्तो भयो। बुद्धको अस्तू लिन त्यतिबेलाका ८ वटा राज्यको झगडा नै भयो। धेरै दिन नै झगडा परेपछि सामाधानको बाटो खोजियो। आठै वटा राज्यले बाँडेर लिने। त्यतिबेलाका तत्कालिन राज्य मगध, वैशाली, कपिलवस्तु, अल्लाकाप्पा, रामागामा, वेथादिपा, पावा र कुशीनर रहे।

राजा अशोक र बुद्ध 
बुद्धको निधन भएको झण्डै दुई शताब्दी पछि हो राजा अशोक मगध राज्यका राजा भएका। उनी राज्य विस्तारको यस्तो अभियानमा थिए किन उनकै कारण लाखौंको हत्या भएको आरोप लाग्ने गर्छ।

राज्य विस्तार गरिसकेपछि उनी मगध मै थिए। मनमा चैन भने थिएन। भिक्षु बनेका उनका भतिज बाटोमा शान्तसँग आइरहेको देखे। राज्य विस्तारको अभियानमा रहेका अशोकमा छट्पटी हुनु स्वभाविक नै थियो। उनी भिक्षुप्रति आर्कषित भए।

भतिजसँग शान्त हुनुको कारण सोधे। भतिजले बुद्ध बारे बताएपछि अशोकले बुद्धबारे जहाँ-जहाँ केही भेटिन्छ त्यहाँ-त्यहाँ अशोक स्तम्भ राखे र उत्खनन् गरे।

उनै अशोकले राखेको स्तम्भबाट नै बुद्ध जन्मिएको नेपालमै हो भनेर पत्ता लागेको हो। बुद्धले ज्ञान प्राप्त गरेको देखि धर्मदेशना गरेको र महापरनिर्वाण प्राप्त गरेको स्थानसम्म पत्ता लाग्दा जन्मस्थान लामो समय सम्म पत्ता लागेन। जसै ब्राह्मी लिपि सहितको अशोक स्तम्भ पत्ता लाग्यो अनि थाहा भयो बुद्ध नेपालमै जन्मेका हुन् भनेर।

उपसंहार 
बुद्धका बारेमा न लेखेर सकिन्छ न त बोलेर नै। काठमाडौंदेखि तीन हजार तीन सय २० किलोमिटर यात्रा गरेर १४औं दिनमा काठमाडौं फर्कँदा बुद्धलाई बुझेर सकिने कुरै भएन।

केही थान किताब पढेकै भरमा पनि उनलाई बुझिने कुरा रहेन। तर, बुझ्ने प्रयास त रहने नै भयो। यात्राको क्रममा केही खिच्रिमिच्रि कुरा हुन्छ नै।

भारतमा बौद्ध धर्मका गुरुहरूले पनि आजीवन सदस्य बन्दा के फाइदा हुन्छ अनि बिहार बनाउन सहयोग गर्दा शिलालेख तीन पुस्ते नाम लेखिने सम्मको लोभ देखाउने रहेछन्।

लोभ र मोह त्यागेर बौद्धमार्गी बन्ने हुन् भन्ने बुझाइ भारतमा गलत सावित हुनसक्छ। धर्म देशना गर्ने स्थानमा नै क्युआर कोड राखेर दक्षिणा माग्ने शैली पनि देखियो। बौद्धमार्गीहरू दान यति दिनुस्, उति दिनुस् भन्दैनन्। तर, त्यहाँ त्यो देखियो पनि।

बुद्धले उहिबेला भिक्षु भएपछि बढी सम्मान पाइन्छ भनेर आउने पनि छन् भनेकै हुन्। खैर! अहिले पनि त्यस्तै होलान्।

बुद्धको सर्किट घुम्दै गर्दा लाग्यो बुद्धले महापरनिर्वाणका अनेक सिद्धान्त बताए पनि त्यो सिद्धान्त मान्नैपर्छ भनेर पेलेनन्। आफैँ सर्वज्ञानी भन्ने भ्रम पालेनन्।

उनले भने, ‘मैले भनेको कुरा पनि आफूमा परीक्षण गर। आफ्नो दियो आफैँ हौ, अरु होइनन्।’ 

त्यसैले त भनेका होलान् ‘अप्प दिपो भव!’
समाप्त

यस लेख अध्येता बसन्त महर्जन, लेखक उमाकान्त पौड्याल र मज्झमनिकाय, दीघनिकायमा उल्लेख भएका केही घटनाक्रम लिएर लेखिएका हुन्।

यसअघिका श्रृ‌ंखला

४ फागुन, २०८०, ०८:१९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।