इमरान खानको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउँदै मन्त्रीको पत्रकार सम्मेलन

इमरान खानको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउँदै मन्त्रीको पत्रकार सम्मेलन

काठमाडौं : पाकिस्तानका स्वास्थ्यमन्त्री अब्दुल कादिर पटेलले शुक्रबार पूर्वप्रधानमन्त्री इमरान खानको मानसिक अवस्थाबारे प्रश्न उठाएका छन्।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुखसमेत रहेका खानको मेडिकल रिपोर्टबारे पत्रकार सम्मेलन गरेर मन्त्री पटेलले पूर्वप्रधानमन्त्रीको पिसाबको नमूनामा रक्सी र कोकिनको प्रमाण भेटिएको आरोप लगाए।

यसैबीच इमरान खानको पार्टीले मन्त्रीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेको बताएको छ। ९ मे मा, खान अल–कादिर ट्रस्ट घोटाला मामिलामा पक्राउ परेपछि उनको स्वास्थ्य जाँचको लागि पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा नमूनाहरू संकलन गरिएको थियो।

मन्त्री पटेलका अनुसार पाँच जना वरिष्ठ चिकित्सकको टोलीले खानको मानसिक जाँच गरेका थिए। उनले खानको मेडिकल रिपोर्ट आधिकारिक दस्तावेज भएकाले देशलाई देखाइनेसमेत बताए।

पाकिस्तानी मिडियाका अनुसार मेडिकल रिपोर्टमा डाक्टरहरूले इमरान खानसँग लामो समयसम्म कुरा गर्दा उनको व्यवहार फिट व्यक्तिको जस्तो नभएको उल्लेख गरिएको छ।

मन्त्रीले खानको खुट्टामा भाँचिएको कुनै लक्षण नभएको भन्दै पाँच–छ महिनासम्म उत्तिकै प्लास्टर गरिएको दाबी गरे। गत वर्ष नोभेम्बर ३ मा खानमाथि आक्रमण हुँदा उनको खुट्टामा गोली लागेको थियो।

मन्त्रीले पाकिस्तान मेडिकल एण्ड डेन्टल काउन्सिल (पीएमडीसी)लाई पत्र लेखेर डाक्टरहरूले उनको खुट्टा भाँचिएको घोषणा गर्नुको कारण सोध्ने बताए।

पीटीआईले यो पत्रकार सम्मेलनलाई लाजमर्दो भन्दै कानूनी कारबाहीमा जाने चेतावनी दिएको छ।

१३ जेठ, २०८०, ०७:२०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।