फोहोरमा बालेनको दोहोरो राजनीति
उपत्यकाको फोहोरबाट अतिप्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुखहरूको हालै बसेको बैठकले फोहोरमैला प्रभावित क्षेत्रका समस्यालाई समाधान गर्ने सन्दर्भमा साझा धारणासहित विज्ञप्ति जारी गर्यो।
एक वर्षअघि स्थानीय सरकार निर्वाचित भएपछि नवनिर्वाचित जनप्रतिनिधिसामु काठमाडौँ महानगर र सहरी विकास मन्त्रालयले गरेको उधारो प्रतिज्ञाविरुद्ध पहिलोपटक प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुखहरू आफ्नो आधिकारिक धारणा र मागसहित अघि सरेका छन्।
धादिङको धुनिबेशी, थाक्रे, नुवाकोटको ककनी र बेलकोटगढी यस फोहोरमैला प्रभावित क्षेत्रका पालिकाहरू हुन्।
स्थानीय सरकारको प्रस्ताव
विभिन्न समयमा भएका प्रतिबद्धताहरूको पालना नगरिएपछि संघीयताको छैठौँ वर्षमा बल्ल स्थानीय सरकार प्रमुखहरूको बैठक बसेर तत्कालीन समस्या समाधानका लागि ७ बुँदे माग अगाडि सारेका छन्।
उनीहरूको माग पत्रमा उल्लेख भएअनुसार २०७९ जेठ २३ गते नेपाल सरकार, सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाबीच र २०७९ जेठ २६ गते काठमाडौँ महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षबीच भएको सम्झौताअनुरूप बुँदा कार्यान्वयन भएको छैन।
स्थानीय सरकार प्रमुखहरूले ती सबै सम्झौताका बुँदा तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन्। विज्ञप्तिमा मागसहितका बुँदामा भनिएको छ-
-फोहोरमैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने।
-ककनी गाउँपालिका र धुनीवेशी नगरपालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमी जिपिएस क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरण अगाडि बढाउनुपर्ने।
-हालसम्म फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा के–कस्ता प्रकृतिका इआइए गरियो, कति गरियो रु कार्यान्वयनको अवस्थाा कस्तो रहेको छ र कुन-कुन निकायवाट सो ईआईए गरिएको हो सोको जानकारी उपलब्ध गराउने।
-ककनी गाउँपालिका, धुनीवेशी नगरपालिकाका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजन गर्न माग गर्नुपर्ने।
-फोहोरमैला व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीय अतिप्रभावित, प्रभावित र न्यून प्रभावितले आफ्ना मागहरू राख्ने क्रममा आन्दोलन गर्दा विभिन्न झुटा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको हुँदा स्थानीयमाथि थप चोट पुगेको छ, जसले गर्दा तत्काल त्यस्ता प्रकृतिका मुद्दाहरू फिर्ता लिई निजहरूको मानव अधिकार संरक्षण गर्नुपर्ने।
उनीहरूले यी माग १५ दिनभित्र पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठकले निर्णय गरी फोहोर ढुवानी बन्द गराउने चेतावनी दिएका छन्।
फोहोरमा बालेनको दोहोरो भूमिका
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजधानीबासी सबैभन्दा बढी आजित भएको मुद्दा फोहोरमैलाको समस्या समाधानका एजेण्डा देखाएर चुनावकेन्द्रित ब्ल्याकमेलिङ गरे।
चुनावपश्चात् पनि प्रभावित क्षेत्रका जनताको दैलोमा टेक्ने मात्र होइन, दल र नेतालाई सराप्नेदेखि फोहोरको समस्या समस्या समाधान नभएसम्म खादा, माला नलगाउने र अन्तर्वार्ता नदिने भन्ने स्टण्डबाजी गरे।
सुरुवाती जोसमा काठमाडौँका घरघरमा कुहिने र नकुहिने फोहोर छुट्याउन लगाएका बालेनले घरबाट छुट्याएर निकालेको फोहोर संकलन केन्द्रमा लगेर मिसाउने र टिप्परमा हालेर बञ्चरेमा मिल्काउनेजस्तो दोहोरो चरित्र देखाए।
महानगर सत्तामा बालेनको आगमनसँगै सिसडोल, बञ्चरेमा चलिरहेको आन्दोलनमा सहमति र दमन दुवै अस्त्र प्रयोग गरियो। त्यही फोहोरमैलाको आन्दोलनले धुनिबेशी १ का अमृत बम्जन, निरञ्जन सञ्जेल लगायतका स्थानीय युवाहरूलाई वारेन्ट जारी भयो।
ती युवा हालसम्म पनि सुरक्षा निकायको फरारको सूचीमा छन्।
महानगर सत्तारोहणको १ वर्ष पुग्नै लाग्दा चैत २५ गते उनले धम्कीको भाषा प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चीकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’
ककनी र धुनिबेशीको स्थानीय सरकार प्रमुखको मागपत्र सार्वजनिक हुनुभन्दा १० दिनअघिको घटना हो यो। बालेनको धम्कीपूर्ण स्टण्डबाजी चर्तिकलालाई राजनीति नभन्ने र महान् ठान्ने जमातले स्थानीय सरकारमार्फत अभिव्यक्त फोहोरमैला प्रभावित क्षेत्रका जनताको आवाजलाई भने फोहरमाथिको राजनीति देख्छ र सराप्न थाल्छ।
महानगर सत्ता सम्हालेपछि फुटपाथमा डोजर लगाउनेदेखि टुकुचाको सुरुङ खोतल्नेसम्म काम गरिभ्याएका उनी मालीतिर रमाउँदै सिंहदरबार धम्क्याउँदा सिसडोल बञ्चरेको सास्ती भने ज्युँका त्यूँ नै छ।
नयाँ जोगीले धेरै घसेको खरानीको असरले काठमाडौँको समाज र सभ्यतालाई अँध्यारो सुरुङतर्फ धकेल्ने चित्र प्रस्टै देखिन थालेको छ।
स्थानीय सरकारको धारणा
नुवाकोटको बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले महानगरको फोहोरले आफ्नो नगरक्षेत्रभित्र परेको असर न्यूनीकरणका लागि २०७९ जेठ २४ गते महानगरलाई पत्राचार गरेका थिए।
एक वर्ष पुग्न लाग्दा पत्रको जवाफ अझै आएको छैन। उनी भन्छन्, ‘हामीले स्थानीय सरकार सम्हालेलगत्तै डम्पिङ साइट ओखरपौवामा काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने सवाल उठिरहँदा बेलकोटगढी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ वडाहरूमा प्रत्यक्षरूपमा वातावरणीय, मानवीय स्वास्थ्यमा असर परेको कुरा काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयलाई ध्यानाकर्षण बोधार्थपत्रसहित पठाएका थियौँ। हामी हाम्रा समस्या लिएर जुलुस, नारा र बाटो अवरुद्ध गर्न नगएता पनि हामीले हाम्रो तर्फबाट महानगरपालिकालाई दुईपटक गरी ध्यानाकर्षण पत्र पठाएका थियौँ। त्यसको सुनुवाइ नहुनु दुर्भाग्यको कुरा भयो।’
गुरुङले काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहलाई विद्वान र शिक्षित जनप्रतिनिधि भएको भन्दै फोहोरको वातावरणीय असर कुन पालिकामा परेको छ र त्यहाँ के सपोर्ट, सहयोग र सहकार्य गर्नुपर्छ भन्ने कुरा बालेनलाई थाहा भएकाले समाधान हुने विश्वास व्यक्त गरे। ‘यो विषयमा मलाई लाग्छ, हामी सडकमै उत्रिनुपर्ने, ढुंगामुढै गर्नुपर्ने भन्ने मेरो मान्यता होइन,’ उनले भने।
ककनी ३ बञ्चरेडाँडामा फोहोरमैला बिसर्जन गर्ने सवाललाई लिएर आन्दोलन चर्किरहेका बेला ककनीको नेतृत्वमा निर्वाचित गाउँपालिका प्रमुख सुम तामाङले आन्दोलन मत्थर पारेर जनताको समस्या समाधानका लागि पहल, नेतृत्व र आन्दोलन स्थानीय सरकारले नै लिने गरी प्रतिबद्धता गरे।
७ बुँदे मागपत्रमा हस्ताक्षर गरेर फोहोरमैला प्रभावित क्षेत्रको समस्यालाई स्थानीय सरकारको तर्फबाट उठान गरेका तामाङले आफ्नो सामाजिक सञ्जालमा विज्ञप्तिसहित लेखेका छन्, ‘गरिब गाउँलेको छोरो हुँ म। धेरै कुरा जान्दिनँ, फोहोर र मान्छे एकैठाउँमा राख्ने कुरा मान्दिनँ।’
तामाङले काठमाडौँ महागनरले स्थानीयको मागलाई नजरअन्दाज गरे स्थानीयसहितको आन्दोनलको विकल्प नभएको बताए।
काठमाडौँको फोहोरले ककनीको वातावरण र जनजीवनमा परेको असरमाथि काठमाडौँ महानगरको उदासीनताले ककनी प्रमुख तामाङ आजित भइसकेका छन्। उनी भन्छन्, ‘संविधान र कानुन सबै नागरिकलाई बराबर हो। आफ्नो गाउँका नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार रक्षाको लागि निरन्तर क्रियाशील रहेका छौँ। काठमाडौँले अब पनि हाम्रा माग सुनेन भने सुनाउने तरिका हामीलाई पनि थाहा छ।’
तामाङले महानगर प्रमुखको हैसियतमा आफ्नो पालिकाको फोहोर अन्य पालिकामा फालेर सिंहदरबारलाई थर्काउने अधिकार बालेनलाई नभएको जिकिर गर्छन्।
प्रभावित क्षेत्र मध्येकै धादिङ धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य भन्छन्, 'हाम्रो पालिका हो, तर समस्या उपत्यकाको फोहोरको हो। अहिले त झनै उहाँहरूले फोहोरको लिच्चेड खोलामै बगाइदिन थाल्नुभयो। जसले गर्दा गाउँ नै त्यो दुर्गन्धबाट आतंकित भएको छ। हामीले यसबारेमा काठमाडौँ महानगरसँग छलफल र कुराकानी गर्न खोज्दा उहाँहरूले कुरै गर्न नचाहेपछि हामी एक भएर बोल्न बाध्य भएका हौँ। उहाँले मिडियाबाजी हुने, स्थानीयले फोहोर रोक्ने डरले हामीसँग समन्वयमा आउनुभएको छैन। स्थानीयले त हामीलाई नै घेर्छन्। हामीलाई जिताएकाले त हामीलाई नै सोध्ने भए नि !’
आचार्यले यसअघि नै पटक पटक भएका लिच्चेड व्यवस्थापन गर्ने, फोहोर क्यापिङ गरेर मात्रै ओसार्ने, शिक्षा, स्वास्थ्य, बाटोघाटोको पूर्वाधार तयार गर्नेजस्ता सम्झौता कार्यान्वयन नभएको बताए।
‘त्यहाँको गन्धले गर्दा मान्छे बस्न नसक्ने स्थिति छ। त्यसमा महानगरले के गर्दैछ भन्ने जानकारी पनि हामीले पाउँदैनौँ। हामीले व्यवस्थापन गरेका छौँ। सबै ठिक छ भन्नुहुन्छ। केन्द्रमै जुधेर बस्नुभएको छ। हामी स्थानीय सरकारसँग कुनै समन्वय र समझदारी छैन। उहाँहरूले दिने हामीले लिने, माग्नेजस्तो भयौँ उहाँहरूको नजरमा। यहाँका पनि नागरिक हुन्। महानगरमा बस्ने पनि नागरिक नै हुन्। त्यहाँ एक हप्ता फोहोर नउठ्दा दुर्गन्ध हुन्छ भने। सधैँ फोहोर उठाएर अर्काको बस्तीको बीचमा थुपारेको फोहोर कस्तो हुन्छ ?’ उनले आक्रोश व्यक्त गरे।
हुन त धादिङ र नुवाकोटका यी जनप्रतिनिधि पनि बालेनजस्तै जनताले चुनेका नै हुन्। आफ्नो समुदाय, क्षेत्रको वातावरण र पर्यावरण रक्षाका लागि उनीहरूले पनि पहल लिन सक्छन्।
उनीहरूलाई पनि आफ्नो क्षेत्रका नागरिकका दैनिक समस्या र सास्तीबाट मुक्तिका लागि संघर्ष गर्नुपर्ने दायित्व छ। त्यसैले जनताको प्रतिनिधिका नाताले यो पटक उनीहरूले स्थानीय सरकारको तर्फबाट यो समस्यालाई समाधानको निमित्त एकीकृत आवाज उठाउने जमर्को गरे।
सिंहदरबारको शक्तिले गाउँलेहरूलाई फेरि पनि पेल्न र दमन गर्न उक्साउँदैछन् बालेनका प्रचारबाजी नीतिहरू। यो महानगर मुख्यालय बागदरबार र केन्द्रीय सरकार मुख्यालय सिंहदरबारका बीचमा लेनदेन कुरा मिलेपछि च्यापिने त आखिर निमुखो त्यही गाउँको सिंहदरबार नै हो।
त्यो पेलाइ र चेपाइविरुद्ध उभिने साहस र नलिखुट्टाको हड्डीमा मासी छ कि छैन ककनी, धुनिबेशीका स्थानीय सरकारको ? त्यो समयले नै देखाउला।
बालेन शैलीमै जवाफ
उसो त बालेनको प्रस्तुति र सवाल जवाफको शैली आक्रामक पाइन्छ। यदि महानगर प्रमुख बालेनलाई नुवाकोट र धादिङका जनप्रतिनिधि र स्थानीय बासिन्दाले उनकै शैलीमा जवाफ दिए भने के होला ?
यदि बालेनको यही प्रक्रिया दोहोरिरहने हो र फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दालाई बेवास्ता गर्दै जाने हो भने एकदिन उनकै शैलीमा नुवाकोट, धादिङका स्थानीय सरकार र जनताले ‘हामीलाई आफ्नो सभ्यता, कला संस्कृति र स्वस्थ वातावरण चाहिन्छ, तिम्रो फोहोर चाहिँदैन’ भन्ने हिम्मत नगर्लान् भन्न सकिन्न।
स्थानीय सरकार, जनता, नेता र विज्ञहरूले छाती फुलाएर ‘सके गाउँलेको हित गर, नसके गाउँलेको अहित र हाम्रो पर्यावरणको विनास नगर’ भन्न सक्नुपर्छ।
‘तिम्रो फोहोर टुँडिखेलमा राख कि बागदरबारमा राख, हामीलाई बाल मतलब !’ भनेर यहाँका बासिन्दाले आवाज उठाए भने बालेनले फोहोरमाथि टेकेर गरेको राजनीति कहाँ पुग्ला ? अब यसरी नै जवाफ फर्काउन जरुरी भइसकेको छ।
अहिले नेपालको राजनीतिमा उदेकलाग्दो त के छ भने, बुढा नेता र पुराना दलहरूले गरेनन् भन्ने मेयर बालेनजस्ता युवा नेताहरूको चर्तिकला पनि उही पुराना नेताको भन्दा कम छैन, बरू झनै पश्चगामी चरित्रको देखिन्छ।
नागरिकमा भावनात्मक उत्तेजना पैदा गर्दै ब्ल्याकमेलिङ गर्ने र सोसल मिडियामा छाउन मात्रै तल्लीन छन् युवा भनिएका यी नेतृत्व। त्योभन्दा सानो सानो समस्याको सुधार, समाधान र सकारात्मक विकल्प दिएर उदाहरणीय नायक बन्न किन तयार छैनन् होला ?
मेयर बालेन पढेलेखेका प्रविधिक ज्ञान भएका युवा हुन्। उनलाई थाहा छ, काठमाडौँको फोहोरले प्रभावित क्षेत्रमा परेको असर। उनले जाने बुझेका होलान् महानगरको निर्णय, गैरजिम्मेवारीपन र उदासीन पक्षहरू।
आज उनी बसेको कुर्सी महानगरको अविछिन्न उत्तराधिकार प्राप्त निकायको हो। तसर्थ विगतमा के समस्या भयो, के त्रुटि भयो ? कहाँ कसरी सुधार गर्न सकिन्छ ? उनले महानगर संरचना र कर्मचारी प्रशासनको चिरफार गर्न सक्छन्। तर उनी र उनका भक्त भजनमण्डलीको चासो र चिन्ता त्यतातिर देखिँदैन।
एउटा घरको बार्दलीमा उक्लने भर्याङ भत्काउन पुगेको महानगरको डोजरको भिडियो खिच्न सयौँ युट्युबरका क्यामेराहरू तेस्र्याउने र त्यही हल्लाको भरमा भ्रमको व्यापार गर्नेबाहेक अरू काम किन हुन सकेन ? टुकुचाको सुरुङमा फसेको बालेन शाहको डोजरले रामायणको कथामा वर्णित सीताको पाताल यात्राजस्तै युवाहरूका हुटहुटी र सपनालाई पाताल पुर्याउने हो कि ? शंका र चिन्ता उत्तिकै छ।
जेठ ८, २०८० सोमबार १७:४८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।