हैदरावादमाथि मुम्बईको सहज जित, तर प्लेअफमा पुग्न बेंग्लोरको हार कुर्नुपर्ने

हैदरावादमाथि मुम्बईको सहज जित, तर प्लेअफमा पुग्न बेंग्लोरको हार कुर्नुपर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) को ६९ औं लिग खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ।

मुम्बईले १८ ओभरमै २०१ रनको लक्ष्य पूरा गर्न सफल भयो।

क्यामरुन ग्रीनले आईपीएल करियरको पहिलो शतक बनाए । पहिलो इनिङ्समा आकाश मधवालले ४ विकेट लिए। 

आइतबार साँझ सकिएको खेलको पावर प्लेमा इसन किशनको विकेट खसेपछि मुम्बईबाट क्यामरुन ग्रीन ३ नम्बरमा ब्याटिङ गर्न आएका थिए।

उनले प्रारम्भिक ओभरमा ठूला सट बनाए र कप्तान रोहित शर्मासँग अर्धशतकीय साझेदारी गरे। त्यसपछि उनले २० बलमा सिजनको तेस्रो अर्धशतक पनि गरे। 

वाङ्खेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो।

जवाफमा मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

हैदरावादमाथि जित निकालेपछि मुम्बई १६ अंकसहित चौथो स्थानमा उक्लेको छ।

तर प्लेअफमा छनोट हुन उसले लिग चरणको अन्तिम खेलमा खेल्ने क्रममा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरको हार कुर्नुपर्नेछ। वर्षाका कारण खेल रद्ध भए पनि मुम्बई प्लेअफमा पुग्नेछ। तर बैंग्लोरले जित निकाल्यो भने मुम्बई बाहिरिनेछ।

रोहितको ५ हजार रन पूरा 

मुम्बईका कप्तान रोहित शर्माले दोस्रो इनिङ्समा ३४ औं रन बनाएसँगै मुम्बईका लागि ५ हजार रन पूरा गरेका छन्।

उनले आईपीएलमा ६ हजार १०० भन्दा बढी रन बनाएका छन्। तर बाँकी रन उनले डेक्कन चार्जर्सका लागि बनाएका थिए।

रोहितले पनि ३३ बलमा आफ्नो अर्धशतक पूरा गरे, जुन उनको यो सिजनको दोस्रो अर्धशतक हो। उनी ५६ रन बनाएर आउट भए।

७ जेठ, २०८०, १९:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।