कम हुन थाले कोरोना भाइरस संक्रमित

कम हुन थाले कोरोना भाइरस संक्रमित

काठमाडौँः कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ।

विगत एक हप्ताको तथ्यांक हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र संक्रमण देखिएको छ।

यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा संक्रमण देखिएको छ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा पनि संक्रमण कम भएकाले नेपालमा घट्दो रहेको बताए।

उनले भारतबाट संक्रमित नेपाल नआउनु र कोरोना भाइरसविरुद्ध खोपको प्रभावले संक्रमण घटेको बताए।

'भारतमा पनि संक्रमण कम थाल्यो। नेपालमा खोपको प्रभाव देखियो', उनले भने, 'समुदायमा खोप लगाएका मानिसको संख्या धेरै भएकाले संक्रमण पनि सर्न पाएन। त्यसैले संक्रमण घटिरहेको छ।'

उनले कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको पनि बताए। 

अहिले ७० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै तीन जना आइसोलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन्।

गत चैतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी १.१६ देखापरेपछि संक्रमण बढेको थियो।

७ जेठ, २०८०, १९:४०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।