बुढानीलकण्ठ दुर्घटनाका दोषी पृथ्वी मल्ललाई चार वर्ष कैद, ४० हजार जरिवाना

बुढानीलकण्ठ दुर्घटनाका दोषी पृथ्वी मल्ललाई चार वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौँ : मादक पदार्थ सेवन गरेर विना सवारी चालक अनुमति पत्र नै नभएका पृथ्वी मल्ललाई जिल्ला अदालतले तोकेको न्यूनतम सजाय उल्टाउँदै उच्च अदालत पाटनले ४ वर्ष कैद सजाय सुनाएको छ।

बुढानीलकण्ठ कार दुर्घटनाका रूपमा परिचित यो प्रकरणमा जिल्लाको फैसला उल्टाउने फैसला आए पनि सजाय निर्धारण भएको थिएन। आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको हो।

जिल्ला अदालत काठमाडौँले मल्ललाई दोषी ठहर गरे पनि ६ महिना कैद र एक हजार रुपैयाँ मात्रै जरिवाना गराएको थियो। फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा पुनरावेदनमा गएको थियो।

२०७६ मङ्सिर २७ गते रातभर रात्रिकालीन क्लबमा बिताएर बुढानीलकण्ठमा रहेको एक रिसोर्ट पुगेर फर्कनेक्रममा मल्लले चलाएको गाडिले मर्निङवाकमा निस्किएकी लीला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।

अनुसन्धानमा उनले मदिरा पिएको खुलेको थियो भने उनले अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र भनेर पेस गरेको सवारी चालक अनुमति पत्र नक्कली भएको खुलेको थियो। यी सबै प्रमाण हुँदाहुँदै पनि जिल्ला अदालतले नियोजित सवारी दुर्घटनालाई अनजानमा भएको दुर्घटना भन्दै न्यूनतम सजायको फैसला गरेको थियो।

दुर्घटनापछि पक्राउ परेका मल्ललाई थुनछेकका क्रममा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर सर्वोच्च अदालतमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले मल्ललाई मानसिक समस्या देखिएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

घटना भएदेखि नै यो प्रकरणबारे उकेराले निरन्तर फलोअप गरिरहेको थियो। अमेरिकाबाट नेपालमा बिदा मनाउन आएका उनी हाल कहाँ छन् त्यो भने खुलेको छैन।

७ जेठ, २०८०, १८:१३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।