भुटानी शरणार्थी प्रकरणः बयान लिँदालिँदै खाँण बिरामी भए !

भुटानी शरणार्थी प्रकरणः बयान लिँदालिँदै खाँण बिरामी भए !

नेपालीलाईभुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका हाई प्रोफाइल पूर्वगृहमन्त्री बालकृष्ण खाँणले बिरामी भएको बताएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीसँग आज लिने बयान रोक्यो। 

खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने भन्छन्, 'बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकेर पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु भएको छ।' 

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर संगठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ।

कार्यालयले पूर्वगृहमन्त्री खाँण र पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन बाँकी रहेकोमा आज बिहानदेखि नै खाणसँगको बयान सुरु भएको थियो। तर सञ्चो नभएको बताएपछि उनीसँगको बयान रोकेर कार्यालयले रायमाझीसँग बयान लिन थालेको हो। 

यसअघि आइतबार खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो। उक्त घटनामा अहिलेसम्म खाँण रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन्।

पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने अझै फरार छन्। 

आइतबारअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट चार दिनको म्याद प्राप्त भएको थियो।

आइतबार पक्राउ परेका रायमाझीको हकमा भने आज तीन दिनको म्याद थप भएको छ। शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो।

वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए।  

उक्त घटनामा संलग्न रहेको आरोपमा रायमाझी र छोरा सन्दीपलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो। त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए।

त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो।

यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए। त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए।

उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक अझै सम्पर्कविहीन छन्। 

शरणार्थी ठगी प्रकरणमा एक सय ६ जना पीडितले उनीहरूविरुद्ध २० वटा जाहेरी दिएका छन्।

उनीहरूले कुल २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन्। उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ।

१ जेठ, २०८०, २०:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।