३ महिनादेखि तलब पाएका छैनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

३ महिनादेखि तलब पाएका छैनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौं : आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।

आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन्।

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्न समेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।

समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको हो। समितिमा लामो समयदेखि कार्यालय प्रमुखको विवाद हुँदै आएको छ। 

समितिका कर्मचारी तीन महिनादेखि तलब नपाएपछि दिनभर कार्यालय आउँछन् र बेलुकी निराश भएर घर फर्कने गरेका छन्।

वैद्यखानाका कर्मचारीले फागुनदेखि नै तलब पाएका छैनन्। निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्या पनि आएको कर्मचारी बताउँछन्।

कार्यकारी निर्देशक यादव यही वैशाख ३ गतेदेखि नै बिहान एकपटक विद्युतीय हाजिर गरेर हिंड्ने गरेको गुनासो अधिकांश कर्मचारीको छ।

३१ बैशाख, २०८०, १३:४०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।