नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाइँदै

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाइँदै

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ।

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिए।

मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन आग्रह गरेको छ ।
 
यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो। उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ।

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुई दिने वृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालेको हो।

रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप प्रदान गरिन्छ। 

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्।

३१ बैशाख, २०८०, १०:१९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।