६१ बलमा प्रभसिमरन सिंहको शतक, पञ्चावले दिल्लीलाई दियो १६८ रनको लक्ष्य

६१ बलमा प्रभसिमरन सिंहको शतक, पञ्चावले दिल्लीलाई दियो १६८ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ५९ औं खेलमा प्रभसिमरन सिंह (१०३ रन) को शतकको मद्दतमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।

टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

अरुण जेटली रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। 

पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले करियरको पहिलो शतक प्रहार गरे । उनले ६१ बलमा शतक पूरा गरे । प्रभसिमरनले ६५ बलमा १५८.४६ को स्ट्राइक रेटमा १०३ रन बनाए। यस क्रममा उनले १० चौका र ६ छक्का प्रहार गरे। टोलीका बाँकी ब्याट्सम्यानले खास रन बटुल्न सकेनन्। 

दिल्लीका इशान्त शर्माले २ विकेट लिए । अक्षर पटेल, प्रवीण दुबे, कुलदीप यादव र मुकेश कुमारले एक एक विकेट लिए ।

सिजनको पाँचौं शतक प्रभसिमरनको ब्याटबाट निस्केको थियो। उनीअघि मुम्बईका सूर्यकुमार यादवले शुक्रबार शतक बनाएका थिए । प्रतियोगितामा हैदरावादका ह्यारी ब्रुक, कोलकाताका वेंकटेश अय्यर र राजस्थानका यशस्वी जैसवालले पनि शतक प्रहार गरेका छन्।

३० बैशाख, २०८०, २१:४१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।