मन्जु खाणको उजुरीमा अडियो राख्ने अनलाइनलाई कारबाही

मन्जु खाणको उजुरीमा अडियो राख्ने अनलाइनलाई कारबाही

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका दुई सांसदलाई साढे आठ करोड बुझाएको भन्ने अडियो राख्ने अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।

काउन्सिलले नेशनलडेलीडटकमलाई नेपालभित्र नदेखिने गरि प्रतिबन्ध लगाउने कारबाही गरेको हो।

उजुरीको अनुगमन गर्दा एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल भएको र नियमानुसार दर्ता र सूचीकृत भएको नदेखिएको भन्दै अर्को निर्णय नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।

आइतबार कांग्रेस सांसद आरजु राणा देउवा र खाणलाई साढे दुई र ६ करोड रुपैयाँ बुझाएको दाबीसहितको संवादको अडियो सार्वजनिक भएको थियो। 

अडियोबारे कांग्रेस सांसद राणाले संसदमा बोल्दै आफू संलग्न नभएको दाबी गर्दै सबै सांसदको सम्पत्ति सार्वजनिक गर्न माग राखेकी थिइन्। खाणबाट सार्वजनिक रूपमा प्रतिक्रिया आएको छैन।

२५ बैशाख, २०८०, १०:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।