हैदरावादले फ्री हिटमा छक्का हानेपछि राजस्थानले जितिसकेको खेल गुमायो

हैदरावादले फ्री हिटमा छक्का हानेपछि राजस्थानले जितिसकेको खेल गुमायो

जारी आईपीएलको ५२ औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सविरुद्ध रोमाञ्चक जित निकालेको छ। 

अन्तिम दुई ओभरमा ४१ रन चाहिएको अवस्थामा ग्लेन फिलिक्सले विष्फोटक ब्याटिङ गर्दै लगातार ३ छक्का र १ चौका प्रहार गरे। उनले यस क्रममा ७ बल खेल्दै २५ रन जोडेपछि हैदरावादलाई जितको आश पलाएको थियो। तर उनी क्याच आउट भए।

यस्तोमा अन्तिम ओभर बलिङ गर्न आएका राजस्थानका सन्दीप शर्माको बलमा हैदरावादले जित निकाल्न सफल भयो। 

अन्तिम बलमा जितका लागि ५ र बराबरीका लागि ४ रन चाहिएको थियो। हैदरावादका अब्दुल समद र मार्को जेन्सन क्रिजमा थिए।

समदले प्रहार गरेको बल राजस्थानका खेलाडीले क्याच गरेपछि हैदरावादले खेल हारिसकेको अवस्था थियो। हैदरावादका समर्थकहरू दुःखी भइसकेका थिए भने राजस्थानका समर्थक र खेलाडीहरूले खुसी मनाउन थालिसकेका थिए। 

तर शर्माको उक्त बलिङलाई रेफ्रीले 'नो बल' करार गरेर फ्री हिट दिए। त्यसपछि हैदरावादको खाताका एक रन थपियो। अब जितका लागि हैदरावादलाई मात्र ४ रन आवश्यक थियो। यस्तो अवस्थामा समदले अन्तिम बलमा छक्का प्रहार गर्दै खेल नै उल्ट्याइदिए। हैदरावादले खेल ४ विकेटले जित्यो।

इन्दुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा पहिला ब्याटिङ गरेको राजस्थानले पूरै ओभरमा मात्र २ विकेट गुमाएर २१४ रनको विशाल योगफल खडा गरेको थियो।  

उसका लागि जस बट्लरले ५९ बलमै ९५ रन बनाएर आउट भएका थिए भने सन्जु स्यामसनले नट आउट ६६ रनको योगदान दिएका थिए। राजस्थानका युजवेन्द्र चहलले ४ विकेट निकाले पनि टोलीको हार टार्न सकेनन्। 

२१५ रनको लक्ष्य पछ्याएको हैदरावादले पहिलो विकेट ५१ रनमा र दोस्रो विकेट ११६ रनमा गुमाए पनि पछि लगातार विकेट जान थालेपछि हैदरावाद हार्ने निश्चितजस्तै भइसकेको थियो। 

तर हैदरावादका फिलिप्सले इनिङ उकासेपछि हैदरावाद जिततर्फ लम्किएको थियो। 

आज हैदरावादका अभिषेक शर्माले टिमका लागि सर्वाधिक ५५ रन बनाए। 

जितपछि सनराइजर्सले ८ अंक जोडेको छ। पछिल्ला ५ खेलमा उसको यो तेस्रो जित हो भने राजस्थानले लगातार तीन खेल गुमाए पनि चौथो स्थानमा यथावत् छ। 

हैदरावादले पहिलोपटक २०० भन्दा बढी रन स्कोर भेट्टाएको हो। 

२४ बैशाख, २०८०, २३:४९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।