टोपबहादुरबारे एमाले अध्यक्ष ओलीको टिप्पणी'उपप्रधानमन्त्री भएका मान्छेलाई बाटैमा समात्नु पर्दैनथ्यो'

टोपबहादुरबारे एमाले अध्यक्ष ओलीको टिप्पणी'उपप्रधानमन्त्री भएका मान्छेलाई बाटैमा समात्नु पर्दैनथ्यो'
फोटो अर्काइभ

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाउने भन्दै रकम उठाउने समूहमा संलग्न रहेको भन्दै पक्राउ पुर्जी जारी गरिएका एमालेका सचिव टाेपबहादुर रायमाझीबारे पार्टीले अध्ययन गरिरहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले अहिले उनी तानिएको हो कि तनाइएको हो भन्ने विषयमा अध्ययन गरिरहेको बताए।

उनले कोही दोषी हो भने कारबाहीको दायरामा आउनुपर्ने तर निर्दोष फस्न नहुनेबारे एमाले सचेत रहेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएकोबारे भने आपत्ति जनाए।

'जसले चेक काटेको हो उसैसँग चेक रहेको भनिएको छ। अब यस्तोमा बाटोमा हिँडिरहेको बेलामा षड्यन्त्रपूर्ण रूपमा पक्राउ गर्नुपर्ने त्यस्तो त केही देखिँदैन,' उनले भने।

उनले उपप्रधानमन्त्री भइसकेका रायमाझी कतै भाग्ने व्यक्ति नभएकाले बाटोमा हिँड्दाहिँड्दै षड्यन्त्रपूर्ण ढङ्गले समाउनुपर्ने व्यक्ति नभएको दाबी गरे।

उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार आएपछि बुधबार आफूले फोन गरेर जानकारी लिएको र उनले आफूले फोन गरेर प्रहरी महानिरीक्षकसँग सोध्दा त्यस्तो हैन एक पटक प्रस्ट पारिदिनुपर्ला भनेर जानकारी दिएको ओलीको दाबी थियो।

'अहिले आएर समातेको पनि सुन्छु अनि फरार पनि सुन्छु। के पो हो,' उनले भने।

नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै आठ सय भन्दा बढी व्यक्तिसँग रकम उठाएको घटनामा प्रहरीले रायमाझीको छोरासहित आठ जनालाई पक्राउ गरिसकेको छ। सो गिरोहले रायमाझीको नाममा समेत एक करोडको चेक बनाएको देखिएपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो।

उनको छोरा सन्दीप बुधवारै पक्राउ परेका थिए। उनलाई प्रहरीले बिहीबार अदालतमा पेस गरेर तीन दिन हिरासतमा राख्ने म्याद पाइसकेको छ

२१ बैशाख, २०८०, १८:४५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।