कोरोना र डेंगु पोजेटिभ देखिएपछि नशाको शल्यक्रिया गरिएका पुरुषको मृत्यु

कोरोना र डेंगु पोजेटिभ देखिएपछि नशाको शल्यक्रिया गरिएका पुरुषको मृत्यु

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंगु सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । 

अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए। 

नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते  पीसीआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो ।

त्यसको दुई दिनपछि पुनः नमुना जाँच गराउँदा डेंगु कोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए।

अस्पतालमै गत चैत २५ गते युवकको नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।

यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । 

२१ बैशाख, २०८०, १६:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।