राजा चम्कँदा चेन्नाईमाथि पन्जाब किंग्सको जित

राजा चम्कँदा चेन्नाईमाथि पन्जाब किंग्सको जित

काठमाडौं : चेन्नाई सुपर किंग्सलाई हराउँदै पन्जाब किंग्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल)मा रोमान्चक जित हात पारेको छ।

चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरम स्टेडियममा आईतबार भएको खेलमा ४ विकेटले विजयी भएको हो। चेन्नाईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको पन्जाबले २०औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले २४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए। लियम लिविङ्गस्टोनले २४ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४० रन बनाए। 

साम करनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए। लियम र करनले चौथो विकेटका लागि ३३ बलमा ५७ रनको सानदार साझेदारी गरे।

कप्तान शिखर धवनले १५ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए। जितेश शर्माले १० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए।

सिकन्दर राजाले ७ बलमा १३ रन बनाउँदै अविजित रहे। पन्जाबलाई अन्तिम ओभरमा ९ रनको आवश्यकता थियो। बलिङमा मथिशा पथिराना आएकोमा पहिलो बलमा सिकन्दर राजाले १ रन लिएका थिए।

दोस्रो बलमा साहरुख खानले १ रन बनाएका थिए। तेस्रो बलमा सिकन्दर राजाले डट खेले । चौथो बलमा राजाले २ रन लिए। पाँचौ बलमा राजाले पुन २ रन लिए छैटौं बलमा राजाले तीन रन लिए सँगै जित निश्चित गरे। 

चेन्नाईका लागि तुसार देशपान्डेले ३ तथा रविन्द्र जडेजाले २ विकेट लिए। मथिशा पथिरानाले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो।

चेन्नाईका ओपनर डेभोन कन्वेले ५२ बलमा १६ चौका र १ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले।

अर्का ओपनर ऋतुराज गायकवाडले ३१ ४ चौका र १ छक्काको सहयोगमा ३७ रन बनाए। पहिलो विकेटका लागि ओपनरद्वयले ५८ बलमा ८६ रनको साझेदारी गरेका थिए। 

शिभम दुवेले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रन बनाए। दुवे र कन्वेले दोस्रो विकेटका लागि २६ बलमा ४४ रनको साझेदारी गरेका थिए।

अन्तिम ओभरमा मैदानमा आएका कप्तान महेन्द्र सिंह धोनीले अन्तिम दुई बलमा २ छक्का सहित ४ बलमा १३ रन बनाए। 

पन्जाबका लागि सिकन्दर राजा, साम करन, अर्शदिप सिंह र राहुल चहरले समान १–१ विकेट लिए।

नौ खेलमा पाँच जित र चार हारका साथ १० टोली सहभागी प्रतियोगितामा पन्जाब पाँचौ स्थानमा उक्लिएको छ। चेन्नाई नौ खेलमा पाँच जित र चार हारका साथ चौथो स्थानमा कायमै रहेको छ।

१७ बैशाख, २०८०, २१:१६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।