चिकित्सा शिक्षा आयोगमाथि निरन्तर प्रहार भयोः गोविन्द केसी

चिकित्सा शिक्षा आयोगमाथि निरन्तर प्रहार भयोः गोविन्द केसी

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले पछिल्लो समय चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर भइरहेको प्रहारप्रति ध्यानाकर्षण भएको जनाएका छन्। 

मेडिकल माफियाहरूले निरन्तर आयोग र त्यसका पदाधिकारीमाथि निराधार भ्रम फैलाउने र आक्रमण गर्दै आएको भन्दै उनले  पछिल्लो समय राजनीतिक दलका विद्यार्थी संगठनका नाममा आयोग परिसरमा गुण्डागर्दी र आगजनी भएको आरोप लगाएका छन्।  

आज उनले जारी गरको विज्ञप्तिमा डा केसीले उनीहरूलाई कानुनअनुसार दण्डित गर्न पनि काठमाडौं जिल्ला प्रशासन र नेपाल प्रहरीको ध्यानाकर्षण गराएका छन्। 

२०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी भएपछि त्यसैअन्तर्गत चिकित्सा शिक्षा आयोग स्थापना भएको हो । स्थापना भएयता आयोगले चिकित्सा शिक्षा सुधारका लागि काम गरिरहेको छ। 

तर आयोगले कार्यविधि पुर्याएर रीतपूर्वक साझा प्रवेश परीक्षा सञ्चालन गर्दा पनि बारम्बार विभिन्न पक्ष अदालतमा जाने र शिक्षण संस्थाहरूको रुटिन नै खल्बलिने गरी मुद्दामामिला हुनुलाई डा केसीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

डा केसीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ- न्यायालयमा यस्ता विषय प्रवेश गरेपछि तिनको गम्भीरता बुझेर समयमै संवेदनशीलतापुर्वक फैसला दिनु न्यायालयको कर्तव्य बन्छ । न्यायालयले पनि छिट्टै यस्ता विषयलाई विषयविज्ञहरुको विज्ञतालाई सम्मान गर्दै किनारा लगाउनेछ भन्ने हाम्रो विश्वास छ ।’

साथै आफूहरूसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न पनि उनले सरकारलाई स्मरण गराएका छन्। 

चिकित्सा सुधारमा लागिपरेका डा केसी हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा गएर बिरामीहरूको उपचार गरिरहेका छन्। 

१३ बैशाख, २०८०, १५:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।