तनहुँमा आजैबाट गणना, बारा र चितवनमा सोमबार

तनहुँमा आजैबाट गणना, बारा र चितवनमा सोमबार

काठमाडौँ  : सर्वदलीय बैठक बस्न नसक्दा उपनिर्वाचन भएका तीनमध्ये दुई स्थानको मतगणना सोमबार मात्र सुरु हुने भएको छ।

तनहुँमा सहमति भएसँगै आइतबार बेलुकाबाटै गणना सुरु हुने भएको छ। बारा-२ र चितवन-२ मा भने सोमबार बिहान सर्वदलीय बैठक बसेपछि मात्र मतगणनाको निर्णय हुने भएको छ।

मतगणनास्थलमा नाराबाजी भएको र प्रमुख जिल्ला अधिकारीकै संलग्नतामा निर्वाचन संहिताको उलङ्घन भएको भन्दै चितवनमा विवाद भएपछि मतगणना हुन सकेन।

मत गणनाका लागि सहमति जुटाउन सर्वदलीय बैठक बस्ने तयारी भइरहँदा भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्र अगाडि रवि लामिछानेको पक्षमा नारा लागेपछि माहौल थप भड्कियो।

सोमबार बिहान ८ बजेकालागि बैठक राखेर गणनाको काम रोकियो। उता बारामा पनि सोमबार नै बैठक बसेर मतगणनाको निर्णय हुने भएको छ।

आइतबार भएको उपनिर्वाचनको मतदानमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले मतदान केन्द्रमै नाराबाजी गरेपछि दुई स्थानमा तनाव भएको थियो।

बारामा जनमत पार्टीले प्रतिस्पर्धी जनता समाजवादी पार्टीले बुध कब्जा गरेको आरोप लगाए पनि कतै झडप भएन। तनहुँमा शान्तिपूर्ण रूपमै मतदान सकियो। 

१० बैशाख, २०८०, २३:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।