चितवनमा सर्वदलीय बैठक बस्न सकेन, मतगणना सोमबार मात्र

चितवनमा सर्वदलीय बैठक बस्न सकेन, मतगणना सोमबार मात्र

चितवन : मतगणनास्थलमा नाराबाजी भएको र प्रमुख जिल्ला अधिकारीकै संलग्नतामा निर्वाचन संहिताको उलङ्घन भएको भन्दै विवाद भएपछि चितवनमा मतगणना हुन सकेन।

मत गणनाका लागि सहमति जुटाउन सर्वदलीय बैठक बस्ने तयारी भइरहँदा भरतपुर महानगरपालिका १० स्थित प्रदर्शनी केन्द्र अगाडि रवि लामिछानेको पक्षमा नारा लाग्यो। अन्य दलले आपत्ति जनाए।
उनीहरूले सर्वदलीय बैठकमा चितवनको प्रमुख जिल्ला अधिकारी आउनुपर्ने माग राखे। एक उम्मेदवारलाई दुई गाडी भनेर रविलाई १० वटासम्म गाडी दिएको, मतगणनास्थलको सुरक्षा व्यवस्था बलियो नबनाएको, मतदानस्थलमा समेत संहिता उलंघनहुँदा सुरक्षाकर्मीले उल्टो संहिता नमान्नेको संरक्षण गरेको भन्दै विरोध गरे।

सिडिओ आउन नमानेपछि भोलि बिहान पुन बैठक बस्नेगरी सर्वदलीय बैठक नै बसेन।

गणनास्थलबाट बाहिरिएका लामिछानेलाई किन बैठक बसेन भनेर पत्रकारले सोध्दा थाहा छैन, केही भएको छैन भन्दै पन्छिए। कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले प्रमुख जिल्ला अधिकारीलाई मतगणना स्थलमा आउन आग्रह गर्दा नआएकाले बैठक नबसेको बताए।

उनले प्रशासन एकपक्षीय बनेको भन्दै आफ्ना केही प्रश्नको उत्तर सिडिओले नदिएसम्म गणना हुन नसक्ने बताए।

'जनमत आइसकेको छ। जनमत बक्सामा छ। हाम्रो पक्षमा आए पनि विपक्षमा आए पनि हामी स्वीकार गर्छौ' श्रेष्ठले भने' तर हाम्रा केही प्रश्नको उत्तर सिडिओले दिनुपर्छ।' 

१० बैशाख, २०८०, २३:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।