मतदान चल्दाचल्दै मत मागेको भन्दै रवि विरुद्ध उजुरी

मतदान चल्दाचल्दै मत मागेको भन्दै रवि विरुद्ध उजुरी

चितवन : मतदान जारी रहेको बेलामा सामाजिक सञ्जालमा भिडियो राखेर र लाइभ गरेर मत मागेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिविरुद्ध उजुरी परेको छ।

चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका उम्मेदवार लामिछानेले आइतबार बिहान विभिन्न दलसँग सहमति भएको हो या हैनबारे प्रस्ट्याउन भिडियो सार्वजनिक गरेर घण्टीमा भोट मागेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले मतदानस्थलमा नाराबाजी गरेपछि झडप भएपछि फेसबुकमा लाइभ नै गरेका थिए।

उनी विरुद्ध नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिए।

उजुरीमा मतदान भइरहेको बेलामा लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, मतदान केन्द्रमा हुल हुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको दाबी छ।

किरण मावि भोजाड मतदान केन्द्रमा विवाद भएपछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय समेत गरेको थियो। उजुरीमा त्यो समेत उल्लेख छ।

उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयको ठाडो आदेशमा एक पक्षीय रूपमा मतदाता र मतदान प्रतिनिधिमाथि लाठी चार्ज गरेको र मतदातालाई भयभीत पारिएको दाबी सहित कारबाहीको माग समेत गरिएको छ।

१० बैशाख, २०८०, १९:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।