चितवनको उपनिर्वाचनमा चार प्रतिशत कम मत खस्यो

चितवनको उपनिर्वाचनमा चार प्रतिशत कम मत खस्यो
तस्बिर : निर्वाचन आयोग

काठमाडौँ : आइतबार बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा चितवन र तनहुँमा मङ्सिरको भन्दा कम मतदान भयो। उता बारामा भने मत प्रतिशत बढेको छ।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा समग्रमा करिब ६० प्रतिशत मतदान भएको देखिएको उल्लेख छ। बारा- २ मा ६४ प्रतिशत, चितवन-२ मा ६३ प्रतिशत र तनहुँ-१ मा ५३ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा-२ मा ६३ दशमलव  ५६ प्रतिशत मतदान भएको थियो। उपनिर्वाचनमा ६४ प्रतिशत पुग्यो।

चितवन-२ मा मङ्सिर ४ मा ६७ दशमलव  ६३ प्रतिशत मतदान भएको थियो। उपनिर्वाचनमा चार प्रतिशत कम मतदान भयो। तनहुँ-१ मा निर्वाचनमा  ५४ दशमलव  ०३ प्रतिशत मतदान भएकोमा अहिले एक प्रतिशत कम मतदान भएको छ। निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २ सय ४७ मतदाता थिए।

आयोगका अनुसार मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा-२ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन -२ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँ -१ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाइएको छ।

मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जानकारी दिएको छ।

१० बैशाख, २०८०, १९:३३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।