तीन क्षेत्रमा ६० प्रतिशत मतदान हुँदा बारामा सबैभन्दा धेरै मत खस्यो, तनहुँमा कम

तीन क्षेत्रमा ६० प्रतिशत मतदान हुँदा बारामा सबैभन्दा धेरै मत खस्यो, तनहुँमा कम

काठमाडौँ : तीन स्थानमा भएको उपनिर्वाचनमा ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले दाबी गरेको छ। बारा-२, तनहुँ-१ अनि चितवन-२ मा आइतबार उपनिर्वाचन भएको हो।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार बारामा ६४ प्रतिशत मत खसेको छ। बिहान सात बजे सुरु भएको मतदानमा ६४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।

निर्वाचन शान्तिपूर्ण ढङ्गले सकिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाए। बारा-२ मा महागढीमाई र पचरौता नगरपालिका सहित पाँच वटा स्थानीय तहका ४४ वटा वडाहरू छन्। जसमा ८२ मतदानस्थल, एक सय ३७ मतदान केन्द्र र एक लाख पाँच हजार दुई सय ५८ मतदाता  छन्।

चितवन-२ मा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। यहाँ कुल ४३ मतदानस्थलमा १८ वटा स्थलमा मतदान सकिएर मतपेटिका सिलबन्दी भएका छन्।

चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार ६३ प्रतिशत हाराहारीमा मत खसेको छ। चितवन-२ मा कुल एक लाख २४ हजार ६९५ मतदाता छन् । गएको मङ्सिरमा भएको निर्वाचनमा यहाँ ८४ हजार मत खसेको थियो।

चितवनको भरतपुर-११ भोजाडको नयाँ किरण माविमा भएको मतदानस्थलमा तनाव उत्पन्न भएपछि केहीबेर मतदान स्थगित भएको थियो। यस्तै भरतपुर-७ मा रहेको कृष्णपुर मतदानस्थलमा पनि केहीबेर मतदान रोकिएको थियो ।

तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा कूल मतदाताको आधा मत मात्र खसेको छ। यहाँ करिब ५३ प्रतिशत मत मात्र खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ।

तनहुँ मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ। यहाँ १ लाख २३ हजार ३०५ मतदाता रहेका छन्। गएको मङ्सिरमा भने यहाँ ५४ प्रतिशत मत खसेको थियो। 

१० बैशाख, २०८०, १९:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।