उपनिर्वाचनमा तनहुँ शान्त, बारामा जसपा र चितवनमा रास्वपाका कारण तनाव

उपनिर्वाचनमा तनहुँ शान्त, बारामा जसपा र चितवनमा रास्वपाका कारण तनाव

काठमाडौँ : तीन निर्वाचन क्षेत्रमा भइरहेको उपनिर्वाचनमा तनहुँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म तनहुँमा ३५ प्रतिशत मतदान भइसकेको छ।

उता बारामा जनता समाजवादी पार्टीका कारण तनाव भएको छ भने चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूका कारण दुई स्थानको मतदानै प्रभावित बनेको छ।

बारा-२ मा जसपाले बुध क्याप्चर गरेको जनमत पार्टीले आरोप लगाएको छ। जसपाका एक नेता दुई वटा मतपत्र सहित पक्राउ परेका थिए।

राउतले बाराको ‘बेलडारी, झिटकैयासहित अरू १-२ वटा बुथ कब्जा भएको दाबी गरेका थिए।

उता चितवनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तहरुको व्यवहारका कारण दुई वटा मतदान केन्द्रमा तनाव भयो। सो पार्टीका उम्मेदवार रवि लामिछाने आउँदा आचारसंहिता विपरीत मतदानस्थलमा मतदाता प्रभावित पार्ने गरी नाराबाजी भएपछि एमाले अनि कांग्रेसका कार्यकर्ताहरूले प्रतिवाद गरेका थिए।

दुबैपक्षविच तनाव बढेपछि केही समय मतदान स्थगित गरिएको थियो। चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण मावि मतदान स्थलमा लामिछाने पुग्दा नाराबाजी भएपछि केही बेर तनाव भएको थियो।

चितवन क्षेत्र नं. २ को कृष्णपुर माविमा पनि मतदान रोकिएको थियो। सो मतदान केन्द्रमा पनि रास्वपाका समर्थकले नाराबाजी गरेपछि तनाव भएको थियो। निर्वाचन संहिताविपरित रविको पक्षमा नाराबाजी भएपछि अन्य दलका समर्थकले प्रतिवाद गर्दा झडपै भएको थियो। रोकिएको मतदान सुरु भइसकेको छ।

१० बैशाख, २०८०, १५:२६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।