चितवन र तनहुँको उप-निर्वाचन जित्न काँग्रेसको दुई रणनीति : नेतामाथिका कारबाही फिर्ता, जिताउने जिम्मा गगन-विश्वप्रकाशलाई

चितवन र तनहुँको उप-निर्वाचन जित्न काँग्रेसको दुई रणनीति : नेतामाथिका कारबाही फिर्ता, जिताउने जिम्मा गगन-विश्वप्रकाशलाई

काठमाडौँ : चितवन-२ र तनहुँ-१ को उप निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा माहौल बनाउन नेपाली काँग्रेसले त्यस क्षेत्रमा कारबाहीमा परेका नेताहरूको कारबाही फिर्ता लिँदै दुई महामन्त्रीलाई चुनावी कमान्डर बनाएको छ।

काँग्रेसले तनहुँका नेता गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको छ भने उता चितवन २ मा  विकास कोइरालालगायत नेतामाथिको कारबाही फुकुवाको निर्णय गरेको हो।

आइतबार सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लङ्घन गरेका बारा, तनहुँ र चितवनका नेताहरूको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।

पूर्वमन्त्री समेत रहेका जोशीले रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए। उनी मङ्सिर ४ को निर्वाचनमा समेत तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले लामो समयदेखि कारबाही फुकुवाको पहल गरे पनि सफल भएका थिएनन्।

तर पार्टीले कारबाही फुकुवा गर्ने निर्णय गरेपछि उनले सामाजिक सञ्जालमा लेख्दै आफूहरूसँग सल्लाह नै नगरी कारबाही फुकुवाको निर्णय गर्नु उप निर्वाचनमा भ्रम फैलाउने प्रयास मात्र भएको दाबी गरेका छन्।

चितवनका पूर्व जिल्ला सभापति समेत रहेका कोइराला २०७० को संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरुद्ध चितवन-४ बाट स्वतन्त्र उम्मेदवार बनेपछि कारबाहीमा परेका थिए।

उनको समूहले कारबाही फिर्ता गराउन लामो समयदेखि पहल गरे पनि सफल भएका थिएनन्। मङ्सिर ४ को निर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताएर पठाए कारबाही फिर्ताको आश्वासन पाएका उनको कारबाही उप निर्वाचन अगाडि फुक्का भएको हो।

चितवनको कमान्डर विश्व, तनहुँमा गगन

बैठकले बारा-२ मा पार्टीबाट उम्मेदवारी नदिएर जनता समाजवादी पार्टीको उम्मेदवारलाई सघाउने निर्णय गर्दै दुवै क्षेत्रको उप-निर्वाचनको केन्द्रीय कमान्डर तय गरेको छ। बैठकले चितवन-२ को जिम्मा महामन्त्री  विश्वप्रकाश शर्मालाई तोकेको छ भने तनहुँ १ को जिम्मा अर्का महामन्त्री गगन थापाले पाएका छन्।

चितवन २ मा काँग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने उता तनहुँ १ मा गोविन्द भट्टराईले टिकट पाएका छन्। एमालेले चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।

अन्य ठूला दलले उम्मेदवार घोषणा गरिसकेका छैनन्। प्रतिनिधि सभामा चौथो दलको हैसियतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा रवि लामिछाने र तनहुँ १ मा भर्खर काँग्रेस छाडेर आएका स्वर्णिम वाग्लेलाई टिकट दिएको छ।

मङ्सिर ४ को निर्वाचनमा गगन र विश्व दुवैको अन्य निर्वाचन क्षेत्रमा समेत माग भए पनि उनीहरू आफ्नो निर्वाचन क्षेत्र छाडेर गएका थिएनन्।

विशेष गरी चितवनको जिल्ला कार्यसमितिले सो क्षेत्रका पार्टीका उम्मेदवार विश्व पौडेल र उमेश श्रेष्ठलाई सहयोग पुग्ने भन्दै दुवै महामन्त्रीलाई सार्वजनिक कार्यक्रममा ल्याउने प्रयास गरेको थियो। तर दुवैले अस्वीकार गरेका थिए। उप-निर्वाचनमा उम्मेदवार जिताउने जिम्मेवारी यी नै दुई महामन्त्रीको काँधमा आएको छ।

चितवन र तनहुँ दुवै क्षेत्रमा संस्थापन इतर समूह बलियो देखिन्छ। मङ्सिर ४ को निर्वाचनमा विशेष गरी चितवनको निर्वाचन क्षेत्र १ र २ का दुवै उम्मेदवार संस्थापन पक्षकाहुँदा चितवन काङ्ग्रेसभित्रै तीव्र विवाद भएको थियो।

विकास कोइरालाको कारबाही फिर्ता नहुँदा उनको समूह निष्क्रिय बस्दा काँग्रेसले चितवनको दुवै क्षेत्र गुमाउँदै दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारले जितेका थिए।

१९ चैत, २०७९, १९:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।